बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

पिताको पदचिन्ह पछ्याउँदै एसी मिलानमा आबद्ध भए म्याक्सिमिलियन इब्राहिमोभिच

शुक्रबार, ०४ साउन २०८१, २१ : ००
शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । आफ्नो समयका प्रभावशाली स्विडिस फुटबलर ज्लाटन इब्राहिमोभिचका छोरा पनि ब्यवसायिक फुटबल यात्रामा निस्किएका छन् । ज्लाटनका छोरा म्याक्सिमिलियनले इटालियन सिरिए क्लब एसी मिलानसँग सम्झौता गरेका हुन् ।

१७ वर्षीय म्याक्सिमिलियनले ब्यवसायिक फुटबल खेल्न पहिलोपटक कुनै पनि क्लबसँग सम्झौता गरेका हुन् । एसी मिलान ज्लाटन इब्राहिमोभिचको पूर्वक्लब पनि हो ।

ज्लाटनले लामो समय एसी मिलानबाट ब्यवसायिक फुटबल खेलेका थिए । ज्लाटनले सन् २०२३ मा एसी मिलानबाटै आफ्नो ब्यवसायिक खेलजीवनको अन्त्य पनि गरेका थिए । म्याक्सिमिलियनले पनि आफ्ना पिताको पदचिन्ह पछ्याउँदै आगामी सिजन एसी मिलानको युवा टोलीबाट आफ्नो ब्यवसायिक यात्रा अगाडि बढाउने छन् ।

आफ्नो उत्कृष्ट खेल कौशलका कारण मात्र होइन, मैदानमा साथी खेलाडीहरुसँग गर्ने उटपट्याङ ब्यवहारका कारण पनि ज्लाटन चर्चित थिए । उनले स्पेनिस ‘पावर हाउस’ बार्सिलोना, इटालियन क्लब युभेन्ट्स र इन्टर मिलान, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन, इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा अमेरिकी क्लब लस एन्जल्स ग्यालेक्सीबाट पनि ब्यवसायिक फुटबल खेलेका थिए ।

ज्लाटनले एसी मिलानका लागि एक सय ६३ खेल खेल्दै ९३ गोल गरेका थिए । उनले सन् २०११ र सन् २०२२ मा एसी मिलानलाई सिरिएको उपाधि चुमाउन पनि महत्वपूर्ण योगदान गरेका थिए । ज्लाटनले आफ्नो समग्र खेलजीवनमा विभिन्न क्लबबाट कुल पाँच सय ११ गोल गरेका थिए ।

ज्लाटनले विभिन्न क्लबलाई ३४ वटा उपाधि चुमाएका थिए । त्यसमध्ये १२ वटा लिग उपाधि थियो । ४२ वर्षीय ज्लाटन ११ पटक बालन डी’ओर उपाधिका लागि मनोनयनमा परेका थिए । उनी स्विडेनका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । उनले राष्ट्रिय टोलीबाट एक सय २२ खेल खेल्दै ६२ गोल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप