विकिलिक्सका साहसी सम्पादक चौध वर्षपछि छुटेर आफ्नो जन्मभूमि फर्के
पत्रकारिताको इतिहासमा संयुक्त राज्य अमेरिकालाई भित्रैबाट हल्लाएका विकिलिक्सका सम्पादक जुलियान असान्ज बेलायतमा १४ वर्षको राजनीतिक शरण र कारावाससहितको कानुनी लडाइँपछि छुटेर यही २६ जुनमा आफ्नो देश अस्ट्रेलिया पुगेका छन् । अमेरिकी सरकारका अत्यन्त गोप्य दस्ताबेजहरू विकिलिक्समा प्रकाशित गरेको अभियोगमा असान्जलाई अमेरिका सुपुर्दगी गराउन अमेरिकी सरकारले माग गरेको थियो । असान्जको सुपुर्दगी मुद्दा २०१० देखि लन्डनमा चलिरहेको थियो ।
सन् २०२२ मा अस्ट्रेलियाको प्रधानमन्त्रीमा निर्वाचित भएपछि वामपन्थी (लेबर पार्टी) नेता एन्थोनी आल्बनिसले असान्जलाई थुनामुक्त गराएर स्वदेश फर्काउन अमेरिकी अधिकारीसँग कूटनीतिक पहल सुरु गरेका थिए, जो दुई वर्षपछि साकार भएको छ ।
असान्ज अस्ट्रेलिया पुगेपछि राजधानी क्यान्बेरामा गरिएको पत्रकार सम्मेलनमा असान्जकी श्रीमती तथा कानुनी लडाइँमा सुरुदेखि अन्त्यसम्म लडेकी वकिल स्टेला असान्ज र अर्की वकिल जेनिफर रबिन्सनले प्रधानमन्त्री आल्बनिस र उनको सरकारको पहललाई महत्त्वका साथ प्रशंसा गरेका छन् ।
को हुन् जुलियान असान्ज ?
अस्ट्रेलियाको क्विन्स्ल्यान्डमा ३ जुलाई १९७१ मा जन्मिएका असान्ज कम्प्युटर प्रविधिमा उच्च दख्खल भएका प्रोग्रामर हुन् ।
जुलियान असान्जले अक्टोबर २००६ मा चन्दा र मिडिया साझेदारहरूको सहयोगमा चल्ने विकिलिक्सको स्थापना गरे र त्यसको संस्थापक सम्पादक बनेर पत्रकारितामा पाइला राखे ।
असान्जलाई उनका विरोधीले उनी पत्रकार नभएर ह्विस्टलब्लोअर (खबरदारी गर्ने) हुन् भन्ने तर्क गर्छन् भने उनका समर्थकले उनी पत्रकार नै भएको तर्क गर्छन् । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सङ्गठन ‘आईसीआईजे’को परिभाषाअनुसार ह्विस्टलब्लोअरले शक्ति दुरूपयोग, भ्रष्टाचारजस्ता सरकारका गलत कार्यका प्रमाण पत्रकार वा अरू कुनै तेस्रो पक्षसम्म पु¥याउँछ, जबकि पत्रकारले त्यसलाई विश्लेषण गरेर प्रकाशित गर्छ । असान्जले यसमा दोस्रो भूमिका निर्वाह गरेका छन्, उनले एक अमेरिकी ह्विस्टलब्लोअरबाट प्राप्त अमेरिकी सरकारका गोप्य दस्ताबेज लिएका छन् र उनले एक पत्रकारले गर्ने व्याख्यासहित विकिलिक्समा प्रकाशित गरेका छन् ।
अतः निसन्देह असान्ज ह्विस्टलब्लोअर नभएर अदम्य साहस भएका खोज पत्रकार हुन्, जसले विश्व महाशक्ति राष्ट्रलाई भित्रैदेखि हल्लाइदिए । भारतीय पत्रकार रविशकुमारको शब्दमा असान्जले पत्रकारिताको धारलाई मात्र होइन, राष्ट्रिय सुरक्षा र गोपनीयताको नाउँमा पत्रकार र सरकारबिचको सम्बन्धलाई नै बदलिदिएका छन् ।
विकिलिक्सले आफ्नो स्थापना कालको एक वर्षपछि नोभेम्बर २००७ मा ग्वान्टानामो बेको हिरासतमा अमेरिकी सेनाले प्रयोग गर्ने २३८ पानाको ‘क्याम्प डेल्टा स्ट्यान्डर्ड अपरेटिङ प्रसिडर’ नाम दिइएको दस्ताबेज प्रकाशित गरेको थियो । त्यसबाट कैदीहरूलाई दिइने यातनाका तरिकाहरू, उनीहरूलाई रेडक्रसका प्रतिनिधिहरूलाई भेट्न नदिइने गरेको लगायत हिरासतभित्रका धेरै तथ्य खुलेका थिए । अमेरिकी अधिनस्थ क्युबाको ग्वान्टानामो बेमा रहेको कुख्यात हिरासत तत्कालीन बुस प्रशासनले २००२ मा स्थापित गरेको थियो, जहाँ आतङ्कवादमा संलग्न भएको आशङ्का गरिएकालाई अमेरिकी सेनाले बिनाअदालती सुनुवाइ वर्षाैंसम्म थुन्दै आएको छ ।
असान्जलाई अप्ठेरो पार्ने विकिलिक्सको खुलासा ५ अप्रिल २०१० मा प्रकाशित एक भिडियो थियो । अमेरिकी सेनाले एपाचे हेलिकप्टरबाट खिचेको सो भिडियोमा १२ जुलाई २००७ मा इराकको राजधानी बगदादमा अमेरिकी सेनाले निहत्था जनतालाई एपाचे हेलिकप्टरबाट गोली हानेर हत्या गरेको दृश्य छ । सो आक्रमणमा परी रोयटर्सका दुई पत्रकार र दुई नाबालकसहित १८ जना निहत्था गैरसैनिक इराकीको मृत्यु भएको थियो । रोयटर्सले सूचनाको हक प्रयोग गरेर सो आक्रमणको भिडियो अमेरिकी सेनासँग मागेको थियो, तर सेनाले दिन अस्वीकार ग¥यो ।
सन् २०२२ मा अस्ट्रेलियाको प्रधानमन्त्रीमा निर्वाचित भएपछि वामपन्थी नेता एन्थोनी आल्बनिसले असान्जलाई थुनामुक्त गराएर स्वदेश फर्काउन अमेरिकी अधिकारीसँग कूटनीतिक पहल सुरु गरेका थिए, जो दुई वर्षपछि साकार भएको छ ।
बग्दाद हत्याकाण्डको ३९ मिनेट लामो श्यामश्वेत उक्त गोप्य भिडियो अमेरिकी सेनाकी गुप्तचर विश्लेषक चेल्सी म्यानिङ, जो इराक युद्धमा २००९ देखि कार्यरत थिइन्, उनले विकिलिक्सलाई उपलब्ध गराएकी थिइन् । विकिलिक्सले सो भिडियो ‘कोल्याटरल मर्डर’ शीर्षक राखेर प्रकाशित गरेको थियो (यो शीर्षक सेनाले प्रयोग गर्ने शब्दावली कोल्याटरल ड्यामेजबाट लिइएको हो, जसको अर्थ युद्धमा सेनाले आफूतर्फको सम्भावित जोखिम कम गराउन गैरसैनिकको हत्या गर्नु भन्ने हुन्छ) ।
सो हत्याको भिडियोलाई ‘द न्युयोर्क टाइम्स’, ‘द वासिङटन पोस्टल’, ‘द गार्जियन’, ‘बीबीसी, सीएनएन’, ‘अल जेजिरा’ टेलिभिजन आदि लगायत संसारका प्रमुख सञ्चारमाध्यमले प्रमुखताका साथ प्रकाशन तथा प्रसारण गरेका थिए । त्यसले अमेरिकी सेनाले इराकी निहत्था जनताको पासविक हत्या गरेको घटना खुलासा भयो र असान्ज रातारात चर्चित मात्र भएनन्, अमेरिकाको ‘मस्ट वान्टेड’ सूचीमा पनि चढे ।
म्यानिङ र असान्जको अमेरिकी कर्तूत सार्वजनिक गर्ने शृङ्खला यत्तिकैमा रोकिएन । म्यानिङले लाखौँ संख्यामा ‘अत्यन्त गोप्य’ दस्ताबेजहरू अमेरिकी सरकारको सर्भरबाट डाउनलोड गरेर विकिलिक्सको सर्भरमा अपलोड गरिदिइन् । ती दस्ताबेजलाई विकिलिक्सले २०१० देखि २०११ का बिचमा धारावाहिक रूपमा प्रकाशित गर्दै गयो र संसारभरका प्रमुख मिडियाले तिनलाई उद्धृत गरेर समाचार प्रकाशित गर्दै गए । यसबाट अमेरिकाले आफ्ना कूटनीतिक नियोगहरूमार्फत सम्बन्धित मुलुकहरूको जासुसी गर्ने गरेको तथ्य बाहिर आयो । साथै उसले अफगानी, इराकी र ग्वान्टानामो बेको हिरासतमा रहेका कैदीहरूमाथि गरेको दमन तथा हत्याको खुलासा भयो ।
असान्जको पहिलो विवाहबाट १९८९ मा जन्मिएका छोरा डानियल असान्जले १७ सेप्टेम्बर २०१० मा अस्ट्रेलियाको ‘क्राइकी’ पत्रिकामा प्रकाशित अन्तर्वार्तामा आफ्ना पिता अत्यन्त तीक्ष्ण दिमाग भएको, तर आफूभन्दा कम दक्षता भएका मानिससँग काम गर्नुपर्दा भने झर्काे मान्ने स्वभाव भएको व्यक्तिका रूपमा चित्रण गरेका थिए । वास्तवमा डानियलको यो चित्रण जुलियानले गर्दै आएको पत्रकारितामा झल्किन्छ । डानियलले यो पनि भनेका थिए, ‘विकिलिक्सले यति डरलाग्दा खुलासाहरू गरेर पनि मेरो बुबा जीवित रहेकामा म कृतज्ञ छु ।’
अमेरिकी न्याय विभागले २३ मे २०१९ मा तयार पारेको असान्जविरुद्धको अभियोगपत्रमा जनाइएअनुसार अफगानिस्तान युद्धसँग सम्बन्धित ९० हजार र इराक युद्धसँग सम्बन्धित चार लाख गोप्य सैनिक गतिविधि रिपोर्ट (वार लग्स) असान्जले विकिलिक्समा प्रकाशित गरेका थिए । त्यसैगरी ग्वान्टानामो बेका आठ सय बन्दीहरूको विवरण तथा दुई लाख ५० हजार अमेरिकी विदेश विभागका जासुसी प्रतिवेदन (तथाकथित डिप्लोमेटिक केबल्स) पनि विकिलिक्सले प्रकाशित गरेको थियो ।
उक्त गोप्य दस्ताबेज प्रकाशित गरेबापत अमेरिकी न्याय विभागले असान्जविरुद्ध १८ काउन्टको मुद्दा दायर गर्ने तयारी गरेको थियो । प्रत्येक काउन्टको १० वर्ष जेल सजाय हुने अमेरिकी कानुनअनुसार असान्ज दोषी ठहरिएको भए उनलाई एक सय ८० वर्षसम्मको कारावास हुन सक्थ्यो ।
असान्जकी मुख्य स्रोत म्यानिङ यसरी पक्राउ परिन्
चेल्सी म्यानिङले २०१० मा आफूले विश्वास गरेको एड्रियन ल्यामो नामका एक अमेरिकी ई–सुरक्षा विश्लेषक तथा ह्याकरलाई आफूले अमेरिकी गोप्य सूचनाहरू विकिलक्सलाई उपलब्ध गराएको इन्टरनेट च्याटमार्फत सङ्केत गरिन् । ल्यामोले म्यानिङसँगको च्याटको पूरै ‘लग्’ एफबीआई र वायर्ड पत्रिकालाई दिए । त्यसपछि अमेरिकी सेनाको अपराध अनुसन्धान कमान्डले मे २०१० मा म्यानिङलाई पक्राउ गरेर सैनिक हिरासतमा राख्यो ।
तीन वर्ष बिनासुनुवाइ हिरासतमा राखेपछि २०१३ मा अमेरिकी सैनिक अदालतले म्यानिङलाई अमेरिकी जासुसी कानुन उल्लङ्घन गरेको अभियोगमा ३५ वर्षको जेल सजाय सुनायो । म्यानिङ ह्विस्टलब्लोअरका रूपमा संसारभर चिनिइन् ।
तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति पद डोनाल्ड ट्रम्पलाई हस्तानान्तरण गर्नुभन्दा केही दिनअघि १७ जनवरी २०१७ मा म्यानिङ्को जेल सजायलाई सात वर्षमा झार्ने आदेश दिए र उनी मे २०१७ मा कारागारमुक्त भइन् ।
एक्वैडोरको दूतावासमा सात वर्ष राजनीतिक शरण
अगस्ट २०१० मा असान्जले आफूलाई बलात्कार गरेको भनेर दुई स्विडिस महिलाले सेप्टेम्बर २०१० मा प्रहरीमा उजुरी गरे, जुन बेला असान्ज स्विडेनबाट लन्डन गइसकेका थिए । स्विडेनले असान्जको नाउँमा अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेर उनलाई सुपुर्दगी गर्न बेलायतसँग माग ग¥यो । सो मुद्दामा बेलायती प्रहरीले असान्जलाई डिसेम्बर २०१० मा पक्राउ ग¥यो ।
त्यसैबेला पेपल, मास्टरकार्ड, भिजाकार्ड, बैङ्क अफ् अमेरिका र वेस्टर्न युनियनले विकिलिक्सको नाममा रहेका अन्तर्राष्ट्रिय मौद्रिक कारोबारका सबै खाता रोक्का गरिदिए र असान्ज अदालतले माग गरेको दुई लाख स्टर्लिङ पाउन्ड धरौटी बुझाएर अदालतबाहिर बसेर मुद्दा लड्न सकेनन् । बेलायतकी पत्रकार तथा टेलिभिजन पटकथाकार जेमिमा खान (गोल्डस्मिथ), जो पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानकी पूर्व पत्नी हुन्, को पहलमा चन्दा उठाएर धरौटी रकम अदालतलाई बुझाएपछि असान्ज रिहा भए ।
असान्जको सुपुर्दगी मुद्दा बेलायतको सर्वाेच्च अदालतमा झन्डै दुई वर्ष मुद्दा चलेपछि मे २०१२ मा स्विडेन सुपुर्दगी गर्ने फैसला भयो । बलात्कारको आरोपमा आफू निर्दाेष भएको असान्जले बताए, तर आफूलाई अमेरिका सुपुर्दगी गराउन स्विडेन अमेरिकाको माध्यम बनेको आशंका व्यक्त गरे । स्विडेनले आफूलाई अमेरिका सुपुर्दगी नगर्ने लिखित प्रतिबद्धता जनाउँछ भने स्विडेन गएर त्यहाँको अदालतमा बलात्कार अभियोगको सामना गर्ने असान्जले सर्त राखे, तर स्विडेनले त्यो सर्त मानेन, जसले असान्जको आशंकालाई मजबुत बनायो । असान्ज स्विडेन सुपुर्दगी भएको भए त्यहाँबाट अमेरिका सुपुर्दगी हुने प्रबल सम्भावना थियो ।
बेलायतले स्विडेन सुपुर्दगी गर्नुभन्दा अगाडि १९ जुन २०१२ मा लन्डनस्थित दक्षिण अमेरिकी मुलुक एक्वैडोरको दूतावासमा गएर असान्जले राजनीतिक शरण मागे । एक्वैडोरले उनलाई तत्काल शरण दियो र २०१७ मा नागरिकता पनि दियो ।
असान्जले एक्वैडोरको दूतावासको एउटा साँघुरो कोठामा जेम्स नामको आफ्नो बिरालोसँग बसेका थिए । उनी दूतावासबाहिर निस्किए भने उनलाई तुरुन्त समात्न दूतावासबाहिर चौबिसै घन्टा सात वर्षसम्म बेलायती प्रहरी तैनाथ थिए । असान्जमाथि आरोप थियो, धरौटीको नियम तोडेर उनी अदालतमा उपस्थित नभएको ।
प्रेस स्वतन्त्रता पक्षधर विश्वका धेरै राजनीतिकर्मी, कलाकार, लेखक तथा पत्रकारहरू असान्जलाई भेट्न एक्वैडोरको दूतावास जान्थे । सञ्चारमाध्यमहरूले असान्जको मानसिक तथा शारीरिक स्वास्थ्य नाजुक हुँदै गइरहेको समाचार छाप्थे । असान्जलाई २०१५ मा भेटेपछि भारतीय लेखिका तथा अभियन्ता अरुन्धती रोयले ‘द गार्जियन’ पत्रिकामा लेखेकी थिइन्, ‘करिब नौ सय दिनमा पाँच मिनेट पनि सूर्यको प्रकाश नदेखेका असान्ज शारीरिक रूपले थकित छन्, उनको चेहराको रङ फुङ्ग उडेको छ । यद्यपि उनी हार मानेर आफ्ना शत्रुसामु आत्मसमर्पण गर्ने मुडमा छैनन् ।’
असान्जको रिहाइका लागि संसारका प्रेस स्वतन्त्रताको पैरवी गर्ने संस्था र व्यक्तिहरूले अनगिन्ती प्रदर्शन र अपिलहरू गरे । स्विडेनले पनि २०१९ मा असान्जविरुद्धको बलात्कारसम्बन्धी मुद्दा फिर्ता ग¥यो, तर उनलाई रिहा गर्न अमेरिका र बेलायत दुवै तयार भएनन् ।
एक्वैडोरमा वामपन्थी नेता राफायल कोरैया राष्ट्रपति हुँदासम्म असान्जको एक्वैडोरको लन्डन दूतावासको बसाइ सुरक्षित थियो, तर अमेरिकासँग ‘सुमधुर’ सम्बन्ध भएका लेनिन मोरेनो २०१७ मा एक्वैडोरको राष्ट्रपति निर्वाचित भएपछि भने असान्ज असुरक्षित हुन थाले ।
मोरेनो सरकारले सर्वप्रथमतः असान्जलाई दूतावासमा इन्टरनेट प्रयोग गर्न बन्देज ग¥यो । त्यसपछि उनलाई दूतावासको आवासीय नियम उल्लङ्घन गरेको, सरसफाइमा ध्यान नदिएको, उच्च आवाजमा गीत बजाएको, दूतावासभित्र स्केटबोर्ड चढेर शान्ति भङ्ग गरेको, दूतावासका कर्मचारीलाई हप्कीदप्की गरेको जस्ता आरोप मोरेनो सरकारले लगाउन थाल्यो । अन्ततः ११ अप्रिल २०१९ मा मोरेनो सरकारले असान्जलाई एक्वैडोरले दिएको राजनीतिक शरण र नागरिकता दुवै फिर्ता लियो र बेलायती प्रहरीलाई दूतावासभित्रै पसेर उनलाई पक्राउ गर्न अनुमति दियो । त्यसपछि असान्जलाई बेलायती कारागारमा थुनियो ।
दूतावासमा इङ्गेजमेन्ट र कारागारमा विवाह
बलात्कार आरोपमा २०१० मा सुपुर्दगी मुद्दा लडिरहेको बेला असान्जको कानुनी टिमले स्टेला मोरिस नामकी एक वकिललाई आफ्नो टिममा लिएको थियो । स्विडिस आमा र स्पेनिस बाबुबाट दक्षिण अफ्रिकामा १९८३ मा जन्मिएकी स्टेला बेलायतमा कार्यरत कानुन व्यवसायी हुन् ।
शरणार्थीका रूपमा दूतावासमा बसिरहेका असान्जसँग स्टेलाको २०१५ देखि प्रेम सम्बन्ध सुरु भयो, र २०१७ मा इङ्गेजमेन्ट भयो । उनीहरूको २०१७ मा एक र २०१९ मा अर्काे छोरा जन्मियो ।
जुलियान असान्ज र स्टेला मोरिसले कारागारभित्रै २०२२ मा विवाह गरे । त्यसपछि स्टेला मोरिस स्टेला असान्ज भइन् ।
जेलको साँघुरो कोठामा बसेर पाँच वर्ष बसेर कानुनी लडाइँ
बेलायतको अत्यन्त कडा सुरक्षा भएको बेल्मार्स कारागार, जुन तीन मिटर लम्बाइ र दुई मिटर चौडाइको थियो, त्यसको एउटा कोठामा असान्जलाई पाँच वर्ष थुनेर अदालतमा सुपुर्दगी मुद्दा चलाइयो । बेल्मार्स खतरनाक अपराधिहरूलाई थुन्ने कारागार हो, जसलाई बीबीसीले २००४ को एक रिपोर्टमा बेलायती ‘ग्वान्टानमो बे’को संज्ञा दिएको थियो ।
अमेरिका र बेलायतबिच सुपुर्दगी सन्धि छ, तर मृत्युदण्डको सजाय भएको मुलुकमा कुनै व्यक्तिलाई मृत्युदण्डको सजाय हुन सक्ने सम्भावना भएमा, उसलाई त्यस्तो देशमा सुपुर्दगी गर्न बेलायतको कानुनले रोक्छ । अमेरिकाको अत्यन्त गम्भीर हर्कतहरूको भण्डाफोर गरिसकेका असान्जलाई मृत्युदण्ड वा एक सय ८० वर्षसम्मको कारावास सजाय हुने खतरा थियो । अमेरिकाको यस कठोर कानुनी व्यवस्थालाई आधार बनाएर असान्जका वकिलहरू उनको सुपुर्दगीविरुद्ध कानुनी लडाइँ लडिरहे । बेलायती अदालतले पनि असान्जलाई अमेरिका सुपुर्दगी गर्ने निर्णय गरिहाल्न सकेन र असान्जको मुद्दा लम्बिँदै पाँच वर्ष बित्यो ।
यसरी रिहा भएर अस्ट्रेलिया पुगे असान्ज
असान्जको रिहाइको पहिलो श्रेय असान्जको पक्षमा १४ वर्ष लगातार लड्ने उनकी वकिल पत्नी स्टेला असान्ज, अर्की प्रमुख वकिल जेनिफर रबिन्सन लगायत बेलायतका अन्य कानुन व्यवसायीलाई दिनुपर्छ । बेलायतका धेरै कानुन व्यवसायीले असान्जको पक्षमा अदालतमा ‘निःशुल्क’ बहस गरेका थिए । साथै असान्जका बुबा, आमा र भाइ पनि उनको रिहाइका लागि अनवरत खटिरहे ।
दोस्रो श्रेय अस्ट्रेलियाका वामपन्थी नेता तथा प्रधानमन्त्री एन्थोनी आल्बनिसलाई दिन उपयुक्त हुन्छ । २०२२ मा प्रधानमन्त्री निर्वाचित भएपछि उनी असान्जलाई अस्ट्रेलिया फर्काउन लागिपरे । आल्बनिस र विदेश मन्त्रालयले असान्जको रिहाइका लागि अमेरिकी सरकारसँग कूटनीतिक संवाद सुरु गरे ।
तेस्रो अत्यन्त महत्त्वपूर्ण श्रेय विकिलिक्स स्वयंलाई दिनुपर्छ । संसारलाई लोकतन्त्र, मानव अधिकार, कानुनी शासन र प्रेस स्वतन्त्रता सिकाइरहने अमेरिकाको अन्तर्यमा रहेको अँध्यारो पक्ष विकिलिक्सले खुलासा ग¥यो, तर अमेरिका लोकतन्त्र र प्रेस स्वतन्त्रताका नाममा एक ढोँग हो भन्ने संसारले बुझ्यो । यस अवस्थामा असान्जलाई अमेरिका लगेर मृत्युदण्ड वा आजीवन जेल सजाय दिनु अमेरिकाका लागि अर्काे बदनामी कमाउने माध्यम बन्थ्यो । त्यसैले अमेरिकालाई असान्जबाट छुटकारा पाउनैपर्ने थियो । अन्ततः अमेरिकाले अघि सा¥यो, कथित ‘याचिका सम्झौता’ (प्ली डिल) । त्यो भनेको असान्जले अमेरिकाको एक अदालतमा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गर्नुपर्ने र न्यायाधीशले उनलाई माफी दिनुपर्ने । यसमा असान्ज सहमत भए ।
‘याचिका सम्झौता’ अमेरिकाको इज्जत जोगाउने ‘साधन’ थियो । तर विकिलिक्सको खुलासा इतिहासको शिलालेखमा कुँदिइसकेको छ । अमेरिकाको गुमेको साख अब संसारको कुनै पनि शक्तिले फिर्ता गर्न सक्ने छैन । त्यसैले ‘याचिका सम्झौता’ असान्जको जित र अमेरिकाको हार हो ।
अस्ट्रेलिया उड्न ५ लाख २० हजार स्टर्लिङ पाउन्ड
असान्ज अमेरिकी टापु साइपनको अदालतमा उपस्थित भएर आफ्नो गल्ती स्वीकार गर्नुपर्ने र त्यसपछि उनी अस्ट्रेलिया जान पाउनुपर्ने अमेरिका र असान्जबिच सम्झौता त भयो, तर उनलाई सार्वजनिक हवाइजहाजमा उड्न दिइएन । उनलाई एक हवाइजहाज चार्टर गरेर उड्नुपर्ने सर्त राखियो । यो सर्त सायद उनको सुरक्षाका लागि सही नै थियो ।
अन्ततः असान्ज एक निजी जेट पाँच लाख २० हजार बेलायती स्टर्लिङ पाउन्डमा रिजर्भ गरेर बेलायतबाट साइपन हुँदै अस्ट्रेलिया उडे । सो रकम चन्दा संकलनका लागि स्टेला असान्जले जुन २५ मा सार्वजनिक आग्रह गरेकी थिइन् । सो रकम चन्दाबाटै संकलन पनि भयो ।
अबको योजना मानसिक र शारीरिक स्वास्थ्य पुनर्बहाली
मृत्युदण्ड वा एक सय ८० वर्षसम्मको जेल सजायको खतराको तरबार शिरमाथि झुन्ड्याएर १४ वर्ष बिताउँदा असान्जको मानसिक स्वास्थ्य कस्तो भयो होला ? एक्वैडोरको दूतावासको एउटा सानो कोठामा सात वर्ष र बेलायती कारागारको अत्यन्त साँघुरो कोठाभित्र थप पाँच वर्ष थुनिएर बस्दा असान्जको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो असर भयो होला ? यो अनुमान मात्र गर्न सकिन्छ, वास्तविकता त असान्जले महसुस गर्न सक्छन् ।
मानसिक तनाव र शारीरिक सक्रियताको अभाव मस्तिष्क तथा हृदयघातका प्रमुख कारक हुन् । बीबीसीका अनुसार असान्जलाई २०२१ मा कारागारभित्रै एक सानो मस्तिष्कघात भएको थियो । मस्तिष्कघात सानो भएकाले उनी बचे ।
अब असान्जले आफ्नो मानसिक तथा शारीरिक स्वास्थ्यमा भएको आघात (ट्रमा) लाई निको पार्नुमा केन्द्रित गर्ने बताइन्छ । असान्जकी पत्नी स्टेलाले एक ठुलो रुखमुनि उनी र जुलियान असान्जले आकाशतर्फ हेरिरहेको एक तस्बिर एक्स (ट्विटर) मा पोस्ट गरेकी छन्, १४ वर्षको उकुसमुकुसपछि खुला हावामा सास फेर्न पाउनुको आन्नदको सङ्केत । मानव इतिहासमै अत्यन्त साहसिलो पत्रकार असान्जले पाएको यो खुलापन लोकतन्त्र र प्रेस स्वतन्त्रताको चाहने हामी सबैका लागि गौरवको विषय हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस