बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा ‘रिप’ लेख्ने फेसन

शुक्रबार, ०४ साउन २०८१, १० : ००
शुक्रबार, ०४ साउन २०८१

जीवनका तीन आयाम छन्— जन्म, जीवन र मृत्यु । प्राणीका स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमास पूरा भएपछि आमाका गर्भबाट भ्रूण बाहिर निस्कनु नै जन्म हो । जन्म आफ्नो इच्छाले हुँदैन । 

जीवात्मा अर्थात् प्राणीको जीवनको अन्त्यलाई मृत्यु भनिन्छ । यसरी जन्मदेखि मृत्युबिचको कालावधि नै जीवन कहलाउँछ । जीवनको मुख्य अङ्ग एक चेतन तत्त्व हो, जो जीवनका सबै क्रियाको साक्षी हुन्छ ।

बुद्धिमान, सर्वश्रेष्ठ प्राणी मानिसले अन्त्यमा प्रकृतिका सामु घुँडा टेक्नुपर्छ । अर्थात् प्रकृतिको यो उत्कृष्ट र महान् रचना मानिसको मृत्यु हुन्छ । मानिसले चाहेर पनि मृत्युमाथि विजय प्राप्त गर्न सकेको छैन । मृत्यु नै अन्तिम सत्य हो । सायद त्यसैले अमरत्वको अर्थ ‘मृत्योर्मा अमृतं गमय’ भएको होला तर मानिसले अर्कै अर्थ लगाउन पुगे ।

जन्म प्राकृतिक घटना अवश्य हो, तर यो शाश्वत सत्य होइन । त्यस्तै जीवन अनित्य हो, माया हो भनेर भनिन्छ । चराचर ग्रह, नक्षत्र आदि सबै अनित्य हुन् । जसको उत्पत्ति छ, त्यसको अन्त्य निश्चित छ । नित्य के कुरा छ त ? त्यो भिन्दै विषय हो ।

श्रीमद्भागवतमा श्रीकृष्ण भन्छन्– 

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत।

अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।

परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।

धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

अर्थात् जब–जब धर्मको हानि हुन थाल्छ र अधर्म बढ्न थाल्छ, तब तब म स्वयंको सृष्टि गर्छु, अर्थात् जन्म लिन्छु । सज्जनको रक्षा एवं दुष्टको विनाश गर्न र धर्मको पुनःस्थापनाका लागि म विभिन्न युग (काल) मा अवतरित हुन्छु । 

यस कथनले जन्म प्रक्रियालाई पनि सुनिश्चित अर्थात् शाश्वत घटनाको रूपमा लिनुपर्ने देखिन्छ, यो कथन मात्र कुनै व्यक्ति विशेषको जन्मलाई सुनिश्चित गर्न अपर्याप्त छ ।

सनातन धर्ममा मोक्ष वा निर्वाण र पुनर्जन्म गरी दुई प्रकारका सिद्धान्त छन् । कि त मोक्ष मात्र हुनुपर्छ (अर्थात् पुनः जन्म लिननपर्ने) अथवा पुनर्जन्म मात्र हुनुपर्छ । जीवनको उद्देश्य भने मोक्ष वा निर्वाणलाई मानिएको छ । मोक्ष वा निर्वाण प्राप्त नभएसम्म मानिसले पुनः पुनः जन्म लिइरहनुपर्छ भनिएको छ । 

मानिसले कर्मका आधारमा विभिन्न योनि (जीव रूप) मा जन्म लिनुपर्ने भन्दै गर्दा अरू जीवले पनि जन्ममाथि जन्म लिई रहनुपर्ने अवस्था देखिन्छ । 

मृत्यु एक अटल सत्य हो । मृत्यु भनेको सबै जैविक तत्त्वहरूको स्थायी, अपरिवर्तनीय समाप्ति हो । मृत्यु एक प्राकृतिक व्यवस्था हो, जुन सम्पूर्ण जीवहरूमा लागू हुन्छ । संयुक्त राष्ट्र संघका अनुसार विश्वभरि प्रत्येक दिन करिब ३,८५,००० व्यक्तिको जन्म हुन्छ र करिब १,५०,००० व्यक्तिको मृत्यु । यो गणितले हामीलाई यो बताउँछ कि जन्म र मृत्युको घटना हरक्षण घटित भइरहेको हुन्छ । 

मृतकप्रति जति नै माया स्नेह भए पनि पार्थिव शरीरलाई धेरैबेर घरमा राख्न सकिन्न । त्यसैले अन्त्येष्टिको विधि–विधान प्रारम्भ गरिन्छ । आ–आफ्ना धर्म, प्रचलन, संस्कृति, रीतिरिवाज, प्रथा, परम्परा अनुसार श्राद्ध कर्म गरिन्छ । 

‘आरआईपी’ एक सङ्क्षिप्ति हो, जसको रोमन लिपिमा रेस्ट इन् पिस भन्ने हुन्छ, अर्थात् ‘शान्तिपूर्ण अवस्थामा आराम गर’ । वस्तुतः यस्तो भावको अभिव्यक्ति त्यस्ताका लागि हो, जसको अन्त्येष्टि पार्थिव शरीरलाई चिहानमा गाडिन्छ, न कि जलाइन्छ ।

आफन्त वा शुभचिन्तकले शोकाकुल परिवारप्रति समवेदना व्यक्त गर्छन् । आजकल सामाजिक सञ्जालको जमाना छ । फेसबुक, ट्विटर आदिबाट शुभकामनादेखि समवेदनासम्म व्यक्त गरिन्छ । 

खासगरी मृत्यु शोक पर्दा शोक सन्देश दिनेको लहर सुरु हुन्छ । शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दा वा मृतकलाई श्रद्धाञ्जली दिँदा के कस्ता शब्द प्रयोग गर्ने भन्नेमा ध्यान दिनुपर्ने हुन्छ ।

खासगरी मानिसको नीतिमा रोमन लिपिमा रिप (आरआईपी) लेख्ने फेसनजस्तै भएको छ । वास्तवमा ‘आरआईपी’ लेख्नेहरू धार्मिक अर्थमा सचेत छैनन् जस्तो देखिन्छ । 

कसलाई भनिन्छ ‘रिप’ ?

‘आरआईपी’ एक सङ्क्षिप्ति हो, जसको रोमन लिपिमा रेस्ट इन् पिस भन्ने हुन्छ, अर्थात् ‘शान्तिपूर्ण अवस्थामा आराम गर’ । वस्तुतः यस्तो भावको अभिव्यक्ति त्यस्ताका लागि हो, जसको अन्त्येष्टि पार्थिव शरीरलाई चिहानमा गाडिन्छ, न कि जलाइन्छ । इसाई वा इस्लाम धर्ममा पार्थिव शरीरलाई चितामा जलाइँदैन, चिहानमा गाडिन्छ । हिन्दुहरूले पार्थिव शरीर जलाउने गर्छन् । हुन त हिन्दु धर्ममै पनि साधु संन्यासीको पार्थिव शरीरलाई नजलाई भूमि समाधि वा जल समाधि दिने परम्परा छ ।

त्यसैले ‘मृतकलाई भावपूर्ण श्रद्धाञ्जली’, ‘हार्दिक श्रद्धाञ्जली’, ‘अत्यन्त दुःखद !’ ‘श्रद्धासुमन’, ‘हार्दिक श्रद्धासुमन अर्पण’ तथा ‘शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना’, ‘ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्’ आदि भन्न वा लेख्न सकिन्छ ।

इसाई वा इस्लाम धर्ममा यो विश्वास गरिन्छ कि मर्नेहरू वास्तवमा पूर्ण रूपमा मरेका हुँदैनन् । उनीहरू त्यस दिन मर्छन्, जुन दिन कयामत आउनेछ । कयामतको दिनमा सबै मरिबसेकाहरूको जीवन कर्महरूको मूल्याङ्कन गरिनेछ र त्यही मूल्याङ्कनका आधारमा उनीहरूमध्ये जो जन्नत (स्वर्ग) जाने ठहरिन्छन्, तिनलाई जन्नतमा र जो दोजख (नर्क) जाने ठहरिन्छन्, तिनलाई दोजखमा पठाइनेछ । यसरी जन्नत वा दोजखमा पठाइसकेपछि उनीहरूको मृत्युले पूर्णता पाउनेछ । त्यसैले कतिपय रोमन राजाहरूदेखि लिएर पोपसम्मको पार्थिव शरीरलाई चिहानभित्र वा सुरक्षित घरभित्र राखिएको देखिन्छ । इस्लाम धर्ममा पनि मजार भनेको त्यस्तै ठुला व्यक्तिहरूको पार्थिव शरीर राखिएको एक तरहको चिहान नै हो ।

हिन्दु धर्ममा पनि ठुलाबडालाई जहाँ जलाइएको हुन्छ, त्यहाँ समाधि गृह निर्माण गर्ने चलन छ, तर यी दुईमा यो भिन्नता छ कि हिन्दु विश्वास के हो भने अमुक व्यक्तिको मृत्यु पूर्णरूपमा भइसकेको छ र जुन स्थानमा अन्त्येष्टि गरियो त्यो स्थान पवित्र स्थान हो । अन्य धर्ममा मृत्यु नै अपूर्ण छ भन्ने मान्यता हुन्छ । त्यसैले पूर्ण मृत्यु प्राप्त नहुँदासम्म ‘रेस्ट इन् पिस’ अर्थात् शान्तिका साथ आरामले बस भनिएको हो । 

हिन्दु धर्मको मान्यता अनुसार शरीर नश्वर हो, आत्मा अमर हो । हिन्दुहरूलाई मरेर जलाइएको छ, त्यसैले उनको ‘आराममा शान्ति’ भन्ने प्रश्न छैन । श्राद्धकर्म आत्मालाई अर्को आध्यात्मिक यात्रा (आत्माको परमात्मामा मिलनको यात्रा) का लागि गति प्रदान गर्न मात्र गरिन्छ । आत्माका बारेमा श्रीमद्भागवत गीतामा श्रीकृष्णले भनेका छन्— ‘नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः । न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः ।।’ 

अर्थात् ‘यो आत्मा अजर अमर छ, यसलाई न त आगोले जलाउन सक्छ, न त पानीले भिजाउन सक्छ, न त हावाले सुकाउन सक्छ र न त कुनै शस्त्रले खण्डित गर्न सक्छ ।’

यसर्थ सामाजिक सञ्जालमा व्यक्तिको निधनमा समवेदना प्रकट गर्दा— ‘मृतकलाई भावपूर्ण श्रद्धाञ्जली’, ‘हार्दिक श्रद्धाञ्जली’, ‘अश्रुपूरित श्रद्धाञ्जली’, ‘बैकुण्ठवास होस्’, ‘नमन’, ‘अशेष नमन’, ‘कोटिकोटि नमन’, ‘सादर नमन’, ‘शतशत नमन’, ‘हार्दिक नमन’, ‘अत्यन्त दुःखद !’ ‘श्रद्धासुमन’, ‘हार्दिक श्रद्धासुमन अर्पण’ तथा ‘शोकाकुल परिवार जनप्रति हार्दिक समवेदना’, ‘ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्’ भनी भन्न वा लेख्न सकिन्छ । 

यस्तै अझ धेरै लेख्न मन लागे, ‘यो संसार प्रकृतिको नियमको अधीन छ’, ‘हुनुहुनामीलाई कसले टार्न सक्छ र !’, ‘दुःखको यस घडीमा म तपाईंको साथमा छु’, आदि आदि । 

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा कलम चलाउँछन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप