बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

साझेदारी वनमा दलहरूको भागबण्डा, विवादित व्यक्ति अध्यक्षमा चयन

शुक्रबार, ०४ साउन २०८१, ०९ : ५७
शुक्रबार, ०४ साउन २०८१

बारा । राजनीतिक दलहरूले भागबण्डाका आधारमा साझेदारी वन व्यवस्थापन समितिको पदाधिकारी चयन गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच बाराको सहजनाथ साझेदारी वनको अध्यक्ष, उपाध्यक्ष र सदस्य पदमा भागबण्डा भएको हो ।

दलहरूले अवैध चोरी, तस्करी गरी काठ चिरान गर्ने सःमिलका सञ्चालक भुवनेश्वर धामीलाई सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित गरेका छन् । उनी नेपाली कांग्रेसका हुन् । उपाध्यक्ष र सदस्यहरूमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच बाँडफाँट गरिएको छ ।

बाराको करैयामाई गाउँपालिका– ७, पिपरामा धामीको ‘अम्बे सः मिल तथा फर्निचर उद्योग’ छ, जसबाट केही दिनअघि डिभिजन वन कार्यालयले ११० क्युफिट चोरी÷तस्करीको गोलाई र चिरान काठ बरामद गरेको थियो । यसअघि पनि पटकपटक सो सःमिलबाट तस्करीको काठ वनले नियन्त्रणमा लिइसकेको छ । उनका छोरा श्रवण धामी पनि काठ चोरी तस्करीको पटकेमा फरारको सूचीमा छन् ।

गत वर्ष उनको ‘अम्बे सः मिल तथा फर्निचर उद्योग’ बाट अवैध काठ नियन्त्रणमा लिने क्रममा वन सुरक्षाकर्मीमाथि निर्घात कुटफिट गरेर हतियारसमेत खोसेको डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

मधुवन सवडिभिजन वन कार्यालयका प्रमुख संजय कुमार चौधरीले राजनीतिक दलहरूले साझेदारी वनको पदाधिकारी चयनमा सामान्य नैतिक आचरणसमेत पालना नगरेको गुनासो गरे । ‘साझेदारी वनको अध्यक्ष बन्न कानुनमा उमेरको हदबन्दी र नैतिक आचरणबारे उल्लेख नभए पनि अवैध काठ चोरी तस्करी गर्ने, फरार सूचीमा रहेका व्यक्ति र सःमिलका सञ्चालकलाई अध्यक्ष बनाउनु गलत हो,’ सहायक डिभिजन वन अधिकृत चौधरीले भने, ‘यसले वन जङ्गलको संरक्षणको पाटोमा राम्रो सन्देश दिँदैन ।’

bb5

उमेरले ७ दशक नजिक पुगेका धामी २०७४ मा बाराको करैयामाई गाउँपालिकाको अध्यक्ष र २०७४ अघि २ कार्यकाल सहजनाथ साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षसमेत भइसकेका छन् । यसअघि सार्वजनिक पदमा रहँदा उनीविरुद्ध बेरुजु र रकम हिनामिनाको उजुरी अख्तियारमा विचाराधीन छ ।

असार तेस्रो साता चयन भएको साझेदारी वनको नयाँ व्यवस्थापन समितिले पदभार ग्रहण गरिसकेका छन् । डिभिजन वन कार्यालय बाराका प्रमुख विनोद सिंहले साझेदारी वनलाई राजनीतिक दलहरूले भागबण्डाको अखडा बनाउन नहुने बताए ।

bb2

‘साझेदारी वन व्यवस्थापन समितिको मुख्य काम भनेको वनजङ्गल संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन हो । अब गलत व्यक्ति चयन भएर आयो भने वनजङ्गल सबै समाप्तै भइहाल्छ, त्यसैले यसलाई राजनीति गर्ने थलो बनाउन हुँदैन,’ डिभिजन वन अधिकृत सिंहले भने, ‘तर पनि हामी सचेत छौँ । कुनै गलत गतिविधि भएको सूचना पाए कसैलाई छोड्दैनौँ ।’

सहजनाथ साझेदारी वनले जिल्लाको ७ वटा पालिकाका ३८ वटा वडा समेटेको छ । जसमा जीतपुरसिमरा उपमहानगर, पचरौता, महागढीमाई, कोल्हवी नगरपालिका, करैयामाई, बारागढी र सुवर्ण गाउँपालिकाका २९ हजार ३५० घरधुरी आवद्ध छन् ।

सहजनाथ साझेदारी वनका अधिकृत संजयकुमार चौधरीले ३८ वटा वडा र स्थानीय तहको कार्यपालिकाबाट छनोट भएर आएका ३११ जना निर्वाचनमा सहभागी भएको जनाए । ३८ वटा वडाबाट चयन भएर आएका प्रतिनिधिहरूले साझेदारी वनको नयाँ व्यवस्थापन समिति चयन गरेका हुन् ।

१६ सदस्यीय नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप