बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
नवौँ महिला एसिया कप क्रिकेटको उद्घाटन खेल :

पहिलो जितको खोजीमा रहेको नेपालले परिचित प्रतिद्वन्द्वी युएईको सामना गर्दै

शुक्रबार, ०४ साउन २०८१, ०६ : १८
शुक्रबार, ०४ साउन २०८१

काठमाडौँ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करण हो । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ । 

जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रूपमा युएई छ । 

प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ । 

शुक्रबारको खेल

  • नेपालविरुद्ध युएई (अपराह्न १४ः१५ बजे) 
  • भारतविरुद्ध पाकिस्तान (राति १९ः१५ बजे)

पहिलो दिन दुई खेल

प्रतियोगिताको पहिलो दिन शुक्रबार नै नेपाली टोलीले आफ्नो पहिलो खेल खेल्नेछ । नेपालले समूहगत चरणको पहिलो खेल यूएईसँग खेल्न लागेको हो । नेपाल र युएईबिचको खेल नेपाली समयअनुसार, अपराह्न १४ः१५ बजे सुरु हुनेछ । 

प्रतियोगिताको पहिलो अर्को खेल पनि हुनेछ । शुक्रबारको दोस्रो खेलमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान आपसमा भिड्ने छन् । भारत र पाकिस्तानबिचको खेल नेपाली समय अनुसार, राति १९ः१५ बजे सुरु हुनेछ । 

नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । 

नेपालको तीन अभ्यास खेल

एसिया कपको अन्तिम तयारी र सहभागिताका लागि नेपाली टोली करिब दुई साताअघि नै श्रीलङ्का पुगिसकेको छ । एसिया कपअघि नेपाली टोलीले श्रीलङ्कामै अभ्यास खेल पनि खेलेको थियो । नेपाली टोलीले श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग खेलेको तीनवटा अभ्यास खेलमध्ये एक खेलमा जित र दुई खेलमा हारको नतिजा निकालेको थियो । 

नेपाली टोली पहिलो अभ्यास खेलमा ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । नेपाली टोली दोस्रो अभ्यास खेलमा चार विकेटले पराजित भएको थियो । तेस्रो अभ्यास खेलमा भने नेपाली टोलीले दुई रनको रोमाञ्चक जित हासिल गरेको हो । 

 एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघि नै एसिया कपको अनुभव बटुलिसकेका केही खेलाडी अहिले पनि नेपाली टोलीमा छन् । यसअघि एसिया कप खेलिसकेका रुविना क्षेत्री, कप्तान इन्दु बर्मा, सीता रानामगर, सबनम राई, ममता चौधरीजस्ता अनुभवी खेलाडीको प्रदर्शन यसपटक नेपालका लागि उपयोगी बन्न सक्छ ।

पहिलो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो । वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । 

तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाएका थिए । बलिङतर्फ नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । 

यसैगरी दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपाली टोलीका लागि कप्तान इन्दु बर्माले पनि ४३ बलमा २८ रन बनाएकी थिइन् । 

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । श्रीलङ्काली टोलीको जितमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गरेकी थिइन् । एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाएकी थिइन् । नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिएका थिए । 

यसैगरी तेस्रो अभ्यास खेलमा पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १२ रन बनाएको थियो । नेपालका लागि रुविना क्षेत्रीले २६ बलमा सर्वाधिक ३७ रन बनाएकी थिइन् । बिन्दू रावलले पनि टोलीको खातामा ३१ बलमा २० रन थपिन् ।

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्का डेभलपमेन्ट स्क्वाडले भने १९.५ ओभरमै अलआउट हसनुअघि एक सय १० रनमात्र बनाउन सकेको थियो । श्रीलङ्काली टोलीका लागि भी. बालासूर्याले ३८ र आर. नेथ्रान्जलीले २६ रन बनाए । नेपाली टोलीका बलर कविता जोशीले तीन र कृतिका मरासिनीले दुई विकेट लिए । 

अन्तिम समयमा सहभागिता पक्का

नेपालले गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपमार्फत यो प्रतियोगितामा सहभागी हुने अवसर पाएको हो । सुरुमा प्रिमियर कपमा पहिलो हुने युएई र दोस्रो हुने मलेसियालाई मात्र एसिया कपमा सहभागिता जनाउने पाउने प्रावधान राखिएको थियो । 

तर, केही समयपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले सेमिफाइनलमा पराजित भएका दुई टोली नेपाल (तेस्रो हुने) र थाइल्यान्ड (चौथो हुने) लाई पनि एसिया कपमा सहभागी गराउने निर्णय लिएको थियो । यसरी अन्तिम समयमा आएर एसिया कपमा नेपालको सहभागिता पक्का भएको हो । 

भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्णकालीन सदस्यका रूपमा प्रतियोगितामा सहभागिता जनाएका हुन् । महिला क्रिकेटमा एसियाली क्षेत्रको यो सबैभन्दा ठुलो प्रतियोगिता हो । 

एसिया कप र नेपाल

महिला एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करणमा नेपालले एक खेल पनि जित्न सकेको थिएन । त्यसैले, यसपटक नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सन् २०१२ मा चीनमा सम्पन्न एसिया कपको पाँचौँ संस्करणमा सहभागिता जनाएको थियो । महिला एसिया कपमा नेपालको त्यो पहिलो सहभागिता थियो । 

एसिया कपको त्यो संस्करणमा पनि आठ टोली सहभागी थिए । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान, थाइल्यान्ड र हङ्कङ रहेका थिए । समूह ‘बी’ मा भने नेपाल, बङ्गलादेश, श्रीलङ्का र चीन परेका थिए । प्रत्येक समूहबाट दुई–दुई टोली सेमिफाइनलमा पुग्ने प्रावधान रहेको थियो । 

नेपाली टोली आफ्नो पहिलो खेलमा श्रीलङ्कासँग २० रनले पराजित भएको थियो । दोस्रो खेलमा पनि नेपाली टोली बङ्गलादेशसँग नौ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा भने नेपाली टोलीलाई आयोजक चीनले ४५ रनले हराएको थियो । 

नेपालले सन् २०१२ र सन् २०१६ मा एसिया कप खेल्दा रुविना क्षेत्री टोलीकी कप्तान थिइन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी उनी अहिले पनि टोलीकी महत्त्वपूर्ण सदस्य हुन् । 

यसैगरी नेपालले सन् २०१६ मा थाइल्यान्डमा सम्पन्न महिला एसिया कपको छैटौँ संस्करणमा पनि सहभागिता जनाएको थियो । त्यो संस्करणमा ६ वटा राष्ट्रले मात्र भाग लिएका थिए । प्रारम्भिक चरणमा ६ वटै टोलीलाई एउटै समूहमा राखेर लिगका आधारमा भिडन्त गराइएको थियो । 

लिग चरणको समाप्तिपछि अङ्क तालिकामा सबैभन्दा माथि रहने दुई टोली सिधै फाइनलमा पुग्ने प्रावधान थियो । सोही आधारमा भारत पहिलो र पाकिस्तान दोस्रो हुँदै फाइनलमा पुगेका थिए । त्यो संस्करणमा पनि नेपालले कुनै खेल जित्न सकेको थिएन । 

नेपाली टोलीअंक तालिकाको अन्तिम स्थानमा रहेको थियो । नेपाली टोली पाकिस्तानसँग नौ विकेटले, श्रीलङ्कासँग आठ विकेटले, बङ्गलादेशसँग ९२ रनले, थाइल्यान्डसँग आठ विकेटले र भारतसँग ९९ रनले पराजित भएको थियो ।

नेपाली टोली र विगतको अनुभव

महिला एसिया कप यात्रामा रहेको वर्तमान नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् । 

सन् २०१९ को जनवरी १४ तारिखमा थाइल्यान्डमा खेलिएको महिला टी–२० खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । सन् २०१९ कै फेब्रुअरी २२ तारिखमा बैंककमा खेलिएको महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा पनि नेपालले युएईलाई सात विकेटले हराएको थियो ।

यसअघि नै एसिया कपको अनुभव बटुलिसकेका केही खेलाडी अहिले नेपाली टोलीमा आबद्ध छन् । नेपालले सन् २०१२ र सन् २०१६ मा एसिया कप खेल्दा रुविना क्षेत्री टोलीकी कप्तान थिइन् । थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुलिसकेकी उनी अहिले पनि टोलीकी महत्त्वपूर्ण सदस्य हुन् । 

यसैगरी अघिल्ला दुवै संस्करणमा इन्दु बर्मा पनि टोलीकी प्रभावशाली खेलाडी थिइन् । उनी अहिले नेपाली टोलीकी कप्तान हुन् । इन्दुले पनि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि उत्कृष्ट प्रदर्शन गरिसकेकी छन् ।

वर्तमान टोलीकी अर्की प्रभावशाली खेलाडी सीता रानामगरले पनि यसअघि एसिया कपको दुईवटा संस्करणमा सहभागिता जनाइसकेकी छन् । यसका अतिरिक्त सबनम राई र ममता चौधरीले पनि यसअघि एसिया कपको अनुभव बटुलिसकेका छन् । यसपटक नेपाली टोलीका लागि यो सकारात्मक पक्षका रूपमा रहेको छ । 

एसिया कप र युएईको टोली 

महिला एसिया कपमा युएईको भने यो दोस्रो सहभागिता हो । युएईले यसअघि सन् २०२२ मा बङ्गलादेशमा सम्पन्न एसिया कपको आठौँ संस्करणमा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला युएईले आफूले खेलेको ६ मध्ये एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको थियो । युएईको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो । 

युएईको टोलीमा एसा ओजा (कप्तान), थिर्था सतिष, एमिली थोमस, समाइरा धर्निधर्का, कविसा एगोडेग, लावन्या केनी, खुसी शर्मा, इन्धुजा नन्दकुमार, रिनिथा रजिथ, रिसिथा रजिथ, वैष्णवी महेश, सुरक्षा कोटे, हिना होचान्दनी, मेहक थाकुर र रिथिका रजिथ रहेका छन् ।  

विगतमा नेपाल–युएई भिडन्त

सन् २०१९ को जनवरी १४ तारिखमा थाइल्यान्डमा खेलिएको महिला टी–२० खेलमा नेपालले युएईलाई ६ विकेटले हराएको थियो । सन् २०१९ कै फेब्रुअरी २२ तारिखमा बैंककमा खेलिएको महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा पनि नेपालले युएईलाई सात विकेटले हराएको थियो ।

यसैगरी सन् २०२१ को नोभेम्बर २८ तारिखमा दुबईमा खेलिएको टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा भने युएईले नेपाललाई ४८ रनले हराएको थियो । सन् २०२२ को जुन २४ मा मलेसियामा हुने भनिएको नेपाल र युएईबिचको खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । सन् २०२३ को सेप्टेम्बर ६ मा लेसियामा हुने भनिएको यी दुई टोलीबिचको खेल पनि वर्षाका कारण रद्द भएको थियो । 

एसिया कपको हालसम्मका विजेता

एसिया कपको पहिलो संस्करण सन् २००४ मा आयोजना भएको थियो । त्यसयता हालसम्म आठवटा संस्करण सम्पन्न भइसकेका छन् । त्यसमा भारतीय टोलीको एकाधिपति देखिन्छ । हालसम्म सम्पन्न आठमध्ये सातवटा संस्करणको उपाधि भारतले नै जितेको छ ।

बाँकी एउटा संस्करणको उपाधि भने बङ्गलादेशले जितेको छ । महिला एसिया कपको इतिहासमा सबैभन्दा बढी पटक फाइनलमा पुगेर पराजित हुने टोली श्रीलङ्का हो । पाँचपटक फाइनलमा पुगेर पनि श्रीलङ्काले उपाधि चुम्न सकेको छैन । 

पाकिस्तान दुई पटक र भारत एक पटक फाइनलमा पराजित भएका छन् । बङ्गलादेशले भने सन् २०१८ मा महिला एसिया कपको उपाधि जितेको थियो । त्यतिबेला बङ्गलादेशले फाइनलमा भारतलाई तीन विकेटले हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप