बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

बीआरआईविरुद्ध भ्रम सिर्जना गर्न खोजियो : विप्लव

बिहीबार, ०३ साउन २०८१, २२ : १६
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक नेत्रविक्रम चन्द विप्लवले चिनियाँ सरकारले साझा भविष्यका लागि विश्वव्यापी सहकार्यको उद्देश्यसहित अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआइ) नयाँ सभ्यताको लडाइ भएको दाबी गरेका छन् ।

नेकपा अन्तर्राष्ट्रिय विभागद्वारा आज काठमाडौँमा आयोजित ‘बीआरआई वास्तविकता र भ्रम विषयक’ अन्तरक्रिया कार्यक्रममा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने क्रममा महासचिव विप्लवले यस्तो दाबी गरेका हुन् ।

नेपाल भूराजनीतिक हिसाबले निकै संवेदनशील र चुनौतीपूर्ण ढङ्गले गुज्रिरहेको बेला बीआरआइको पक्षमा खुलेर प्रशंसा गर्दै महासचिव विप्लवले बीआरआई नयाँ भविष्य,साझा उद्देश्य र सहकार्यसहित एकाधिकार पुँजीवादले उत्पन्न गरेका अर्थ राजनीतिक सङ्कट एवम्  क्रूरताको विकल्पमा अघि सारिएको नयाँ सभ्यता भएको बताए।

‘बीआरआई नयाँ सभ्यताको लडाइ हो, विकास केवल सैन्य शक्तिको बलमा अरूको साधन श्रोत तथा श्रममाथि कब्जा जमाएर भौतिक ढङ्गले मात्रै हुन्छ भन्ने पश्चिमी मोडेल मात्रै होइन रहेछ भन्ने कुरा बीआरआईले पुष्टि गर्न खोजेको देखिन्छ’ महासचिव विप्लवले  भने-‘यद्यपि  चिनियाँहरूले बीआरआइबारे भएका आलोचनाहरू पनि उहाँहरूले सुन्नुपर्छ ,केही कमजोरी छन् भने पनि सच्याउँदै अघि बढ्न तयार हुनुपर्छ ।’

बीआरआईको पक्ष र विपक्षमा नेपाली जनमत समेत विभाजित रहेको भन्दै महासचिव विप्लवले उक्त परियोजनाको विरोध गर्नेहरूले भ्रम सिर्जना गर्न खोजेको बताए । महासचिव विप्लवले बीआरआई सैन्य परियोजना नभएको र यसले देशलाई रिण बोकाएर हिँड्छ भन्ने कुरा पनि भ्रम भएको बताए ।  

विश्वका १ सय ५० बढी देशहरूले सम्झौता गरिसकेको भनिएको यो परियोजना खाली  एउटा परियोजना मात्रै नभइ  विश्वको विद्यमान आर्थिक राजनीतिक ध्रुवीकरण र प्रवृत्तिसँग जोडिएको  विषय भएको उल्लेख गर्दै उनले नेपाल जस्ता साना र अविकसित देशहरू शक्तिशाली देशहरूको दबाब र प्रभावको बिचबाट गुज्रिरहेकाले यसबाट स्वाधीन हुने आर्थिक नीति जरुरी रहेको बताए।

बीआरआई चिनियाँ राष्ट्रपति सी जिनफिङले सन् २०१३ मा अगाडि बढाएको महत्त्वाकाङ्क्षी योजना हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप