बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

नेताका गतिविधि जनताले नियालिरहेका छन् : वर्षमान पुन

बिहीबार, ०३ साउन २०८१, २१ : ३१
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । पूर्व अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरू सिसाको घरमा रहेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले सो कुरा बताएका हुन् ।

बिहीबार सूर्य विनायक प्याब्सनको एक कार्यक्रमलाई भक्तपुरमा सम्बोधन गर्दै उनले भने, ‘दलका नेताहरू चौतर्फी देखिने सिसाको घरमा भएकाले उनीहरूको प्रत्येक गतिविधि छर्लङ्गै भएको छ, जनताले नियालिरहेका छन् ।’

नेताहरूको बिचार, प्रवृत्ति, उद्देश्य, सोच, बोलाई र काम गराई जनताले मूल्याङ्कन गरिरहेका उनको भनाइ छ । सूचना प्रविधिको विकास र पहुँचले गर्दा जनताले हेरिरहेका र नेताहरूका सबै कुरा बुझिसकेका उनले बताएका हुन् ।

राजनीतिमा सङ्क्रमणको प्रभाव र नेताहरूमा शुद्धीकरणको अभावका कारण देशको हरेक क्षेत्रमा समस्या रहेको स्वीकार गर्दै पूर्व अर्थमन्त्री पुनले राजनीतिक दल र नेताहरूबाट शुद्धीकरण सुरु गर्नुपर्ने आवश्यकता समेत औँल्याए ।

राजनीतिक दल, नेता र कार्यकर्ताले देशको नेतृत्व गर्ने भएकाले यो क्षेत्र सबल भए मात्र देश सही बाटोमा जाने भन्दै पूर्वमन्त्री पुनले रोल मोडलका रूपमा रही हरेक क्षेत्रलाई हौसला र प्रेरणा प्रदान गर्ने गरी काम गर्न सक्नुपर्नेमा जोड दिए ।

देश विकासको प्रचुर सम्भावना रहेको प्रस्ट पार्दै पूर्वमन्त्री पुनले दुई तिहाइ जनसङ्ख्या संलग्न कृषि क्षेत्रलाई आधुनिकीकरण गरी उत्पादन र आम्दानी बढाउनुपर्ने बताए । प्रतिस्पर्धी हुन नसक्ने उद्योग कलकारखानाले उँभो नलगाउने जिकिर गर्दै उनले आफूहरूको सुझबुझका कारण सिमेन्टमा देश आत्मनिर्भर भएको र निर्यातको चरणमा गएको समेत जानकारी गराए ।

नेपालमा पर्यटन र जलश्रोतको उपभोग गरी देशमा संवृद्धि ल्याउन सकिने उनको भनाइ छ । ‘पर्यटन र जलविद्युत्मा हामीसँग चीन र भारत मात्र होइन कुनै पनि देशले प्रतिस्पर्धा गर्न सक्दैन, यो हाम्रो प्रतिस्पर्धी क्षेत्र हो’ उनले भने ।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका पूर्वमन्त्री पुनले १८ घण्टा लोडसेडिङ्गमा रहेको देश आफूहरूले नेतृत्व गरेपछि लोडसेडिङ मुक्त मात्र नभई अहिले वार्षिक १८ अर्बको बिजुली भारतलाई बेचिरहेको र ४० मेगावाट बङ्गलादेशलाई बेच्ने चरणमा रहेको समेत जानकारी गराए ।

नेपालको विकास र सम्वृद्धिको लागि अर्को प्रतिस्पर्धी क्षेत्र सूचना प्रविधिको क्षेत्र देखिएको पनि पूर्व अर्थमन्त्री पुनले जानकारी गराएका छन् । ‘गत वर्ष हामीले १ खर्व भन्दा बढीको आइटी सेवा निर्यात गर्‍यौँ’ उनले भने । अन्य क्षेत्रमा बिसौँ तिसौँ वर्ष मिहिनेत गर्दा नपाएको प्रतिफल सूचना प्रविधिको क्षेत्रमा केही वर्षमा प्राप्त भएको भन्दै उनले यो क्षेत्रलाई महत्वको साथ अघि बढाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा पूर्व अर्थमन्त्री पुनले नेपाल पूरै स्वर्ग बनाए पनि विदेश जाने क्रम रोक्न नसकिने समेत बताए । विश्व नै एउटा गाउँको अवधारणा आइसकेकोले शिक्षा, सुविधा र अवसरको खोजीमा मानिसहरूलाई विदेश जानबाट रोक्न नसकिने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप