बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

कृषि मेसिनको प्रयोग एक दशकमा दोब्बर

बिहीबार, ०३ साउन २०८१, २० : ४१
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । प्रविधिको विकाससँगै खेतीका लागि कृषि मेसिनको प्रयोग बढ्न थालेको छ । एक दशकको अवधिमा कृषि कर्ममा ट्याक्टरको प्रयोग दोब्बर बढेको पाइन्छ ।

२०६८ सालमा २२ प्रतिशत परिवारले ट्याक्टर प्रयोग गर्दै आएकोमा एक दशकपछि अर्थात् २०७८ मा ट्याक्टर प्रयोगकर्ता परिवार ४० प्रतिशत पुगेको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार एक दशक अगाडि ८ लाख ४५ हजार परिवारले ट्याक्टर प्रयोग गर्थे भने पछिल्लो तथ्याङ्कमा यो सङ्ख्या १६ लाख ३९ हजार पुगेको छ ।

यिनै प्रयोगकर्तामध्ये एक हुन्, बाराका कोल्हवी नगरपालिका वडा नम्बर १० का धनीराम भगत । उनले ८ बिघा क्षेत्रफल खेतमा ट्याक्टर, थ्रेसर, रोटाभेटर लगायत कृषि मेसिन प्रयोग गर्दै आएका छन् ।

उनी आठ बिघा खेतमा वार्षिक तीन बाली भित्र्याउँछन् । ‘पहिला हातले नै माटो मिलाउनु पर्थ्यो,’ भगतले भने, ‘अहिले रोटाभेटरले माटो मिलाउन सजिलो भएको छ । अरूको ट्याक्टर प्रयोग गर्दा करिब १ लाख ५० हजार रुपैयाँ खेत जोत्नमै खर्च हुन्थ्यो, अहिले डिजल खर्चमात्रै भए पुग्छ ।’ 

नेपालमा कृषि मेसिनरी प्रयोगलाई व्यवसायसँग जोड्न सके धेरै अवसर देखिन्छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघका उपाध्यक्ष सुनिता नेमाफुकीका अनुसार खाद्यान्न बाली उत्पादनमा मात्रै बढी मात्रामा मेसिन प्रयोग भएको छ ।

उनले भनिन्, ‘खाद्यान्न बालीमा मेसिनहरू प्रयोग भइरहेको छ । तर बजारीकरणका लागि उत्पादन हुने बालीमा खासै मेसिनको प्रयोग हुन सकेको छैन ।’

जनशक्तिको स्रोत घट्दै गरेको अवस्थामा कृषि क्षेत्रमा कृषि मेसिनरीको प्रयोग गर्न सके नयाँपन आउने उनी बताउँछिन् ।

राष्ट्रिय कृषि गणना २०७८ अनुसार नेपालमा खेतीमा संलग्न महिलाको सङ्ख्या ६८ लाख ६३ हजार ४१२ र पुरुषको सङ्ख्या ६३ लाख ४७ हजार ९३६ छ । तर नेपालमा प्रयोग हुने कृषि यन्त्र महिलामैत्री नभएको नेमाफुकीको भनाइ छ । खेतीमा महिलाको सहभागिता हुने तर कृषि मेसिन महिलामैत्री नहुँदा पनि समस्या देखिएको उनको भनाइ छ ।

पछिल्लो समय स्थानीय तहले पनि कृषि मेसिनरीका लागि केही बजेट छुट्याउन थालेका छन् । विदेशबाट फर्केकाहरू वा नयाँ पुस्ता प्रविधिमैत्री अर्थात यन्त्रको सहायताले नै खेती गर्न रुचाउन थालेको नेमाफुकीले बताइन् ।

कृषि मेसिनरीमा समस्या

नेपालमा कृषि मेसिनरीमा दर्तादेखि लिएर मर्मतसम्भारमा समस्या देखिन्छ । कतिपय किसानले कृषि मेसिन खरिद गरे पनि मर्मतसम्भार हुन नसक्दा प्रयोगविहीन भएका छन् । राष्ट्रिय कृषि गणना २०७८ अनुसार देशभर कुल ४१ लाख ३० हजार ७८९ कृषक छन् । यी कृषकले २२ लाख १८ हजार ४०९ हेक्टर क्षेत्रफलमा कृषि यन्त्र प्रयोग गरेका छन् । यसमध्ये १ लाख १७ हजार ९९१ पावर ट्रिलर तथा मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ । यी यन्त्रमध्ये अधिकांश मर्मत हुन नसकेर प्रयोगविहीन रहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ ।

कृषि मेसिनरी विभिन्न छन् । तर पावर ट्रिलर, मिनी ट्रिलर, ट्याक्टर, थ्रेसर, कम्बाइन हार्भेस्ट, रोटाभेटर, पानी तान्ने मेसिन लगायतलाई मात्रै मेसिनका रूपमा बुझ्ने गरेको पाइन्छ ।

पछिल्लो समय किसानलाई सरकारले अनुदानमा कृषि मेसिन उपलब्ध गराउँदै आएको छ । अहिले अनुदानमा वितरण गरिएका मेसिनमात्रै प्रयोग भइरहेको नेमाफुकीको भनाइ छ ।

उनका अनुसार किसानले आफैँ मेसिनहरू खरिद गर्न सक्ने वातावरण देखिँदैन ।

कृषि उत्पादनमा मात्रै मेसिनको प्रयोग सीमित देखिएको छ । उत्पादनपछिका प्रक्रियामा मेसिनहरू प्रयोग भएको पाइँदैन । यसले कृषि उपजलाई बजारसम्म जोड्न नसकिएको नेमाफुकीले बताइन् । ‘एउटा मेसिनमा खरिद गर्न लाखौँ लगानी लगाउनु पर्छ जुन तुरुन्तै असुल हुँदैन । त्यसैले आफैँले लगानी लगाउन सक्ने अवस्था नै छैन,’ उनले भनिन्, ‘सरकारको भन्सार दर बढी छ । मिनी ट्रिलर पावर ट्रिलरबाहेक अरु मेसिनको भन्सार शुल्क बढी छ । यसले गर्दा हाम्रो औजार महँगियो ।’

उनका अनुसार मेसिनले काम कसरी गर्छ, कहाँ प्रयोग गरिन्छ, कति बलियो छ भन्ने विषयमा विस्तृत अध्ययन नै हुन सकेको छैन । कृषि मेसिन कृषि उपजको प्रशोधनमा प्रयोग हुन नसकेको उनले बताइन् ।

सुधारको पक्ष

नेपालमा बढ्दो मेसिनको दर्तादेखि लिएर प्रयोगको नियमन गर्नुपर्ने देखिएको छ । २०७१ सालतिर १० करोडमा सीमित रहेको कृषि औजार बजार हाल २५ देखि २६ अर्ब रुपैयाँमा पुगेको छ । नेपालमा प्रयोग भइरहेको मेसिनहरूको वर्गीकरण आवश्यक भइसकेको उनले बताइन् । ‘जोत्ने मेसिन सबैले किनेका छन् तर धान रोप्ने मेसिन किनेका छैनन्,’ उनले भनिन् ।

वर्षमा एक पटक प्रयोग हुने मेसिनबाट किसानलाई कसरी फाइदा लिने भनेर बुझाउन आवश्यक रहेको नेमाफुकीले बताइन् ।

धान रोप्ने, गहुँ छर्ने मेसिनहरू किसानले किन्ने गरेका छैनन् । यस्ता मेसिन वर्षको एकदुई पटक प्रयोग हुनाले पनि किसान यस्ता मेसिनप्रति आकर्षित हुन नसकेको पाइन्छ ।

यस्ता मेसिनका लागि अन्य सवारी साधनमा किस्ताबन्दीको सुविधा दिएजस्तै सुविधा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । उनले भनिन्, ‘उत्पादनमा प्रयोग हुने मेसिनमा मात्रै होइन, उत्पादनपछि प्रयोग हुने कृषि प्रविधि सरकारले बढाउनु पर्‍यो ।’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप