बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
अर्थ

त्रिभुवन विमानस्थल भन्सार प्रमुख बराललाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी

बिहीबार, ०३ साउन २०८१, १९ : ४५
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) भन्सार प्रमुख महेश बरालले नेपाल धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी पाएका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार नियुक्ति पत्र हस्तान्तरण गर्दै बराललाई बोर्डको नेतृत्व सुम्पिएका हुन् ।

तथापि, बरालको नियुक्ति अर्को व्यवस्था नभएसम्मका लागि मात्र हो ।

अर्थमन्त्री पौडेलले बराललाई बिहीबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराएर बोर्डमा पदबहाली गराएका छन् । अर्थ मन्त्रालयको साउन २ गतेको निर्णयअनुसार सहसचिव बराल बोर्डको सञ्चालक सदस्य तथा अध्यक्ष बनेका हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था बमोजिम उनी अध्यक्ष भएका हुन् ।

गत पुसमा रमेशकुमार हमाल बाहिरिएसँगै हालसम्म धितोपत्र बोर्ड नेतृत्वविहीन अवस्थामा छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठ नेतृत्वको धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएपनि विविध कारणले गर्दा प्रक्रिया रद्द हुनपुगेको छ ।

यसअघिका अर्थमन्त्री वर्षमान पुनले नरेन्द्र कुमार रानालाई बोर्ड अध्यक्षको जिम्मेवारीसहित खटाएका थिए । अर्थमन्त्री परिवर्तनसँगै रानालाई फिर्ता बोलाएर बराललाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप