बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

खेलकुदमन्त्री भन्छन्, ‘सरोकारबालाहरु मिलेर अगाडि बढ्नुको विकल्प छैन’

बिहीबार, ०३ साउन २०८१, १७ : ३०
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाली खेलकुदको विकासका लागि सम्बद्ध सबै पक्ष एक भएर अगाडि बढ्नु पर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका खेलकुदमन्त्री चौधरीले उनको सम्मानमा राखेपले बिहीबार आयोजना गरेको स्वागत तथा बधाइ कार्यक्रम यस्तो धारणा राखेका हुन् ।

‘म मन्त्री भएको केही दिनमात्र भएको छ । छोटो अवधिमा पनि मैले खेलकुदलाई कसरी विकास गर्न सकिन्छ । योजनालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा राखेपका सदस्यसचिव र सरोकारवालसँग बिहानदेखि बेलुकीसम्म छलफल गरिरहेको छु,’ खेलकुदमन्त्रीले भने, ‘खेलकुदलाई विकासको बाटोमा दो¥याउन सरोकारवाला सबै पक्ष एक भएर अगाडि बढ्नुको विकल्प छैन ।’

मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले तीन सय दिनमा कीर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने भनेर गरेको निर्णयका सम्बन्धमा सदस्यसचिवसँग पनि छलफल भइरहेको बताए ।

मन्त्री चौधरीले १०औँ राष्ट्रिय खेलकुदलगायतका महत्वपूर्ण विषयमा चाँडै बोर्ड बैठक बसेर टुंगो लगाउने बताए । उनले नेपाली खेलाडी मेहनती, लगनशील र संघष गर्न सक्ने भएको बताउँदै छोटो तयारीबाट खेलाडीसँग ठुलो अपेक्षा गर्न नसकिने धारणा ब्यक्त गरे ।

यसैगरी राखेपका उपाध्यक्ष शिव कोइरालाले खेलकुदमन्त्रीको लक्ष्यलाई पुरा गर्न राखेप टिम सहयात्री बनेर काम गर्न तयार रहेको बताए । उनले राखेपका योजनाहरुलाई कार्यन्वयन गर्न बोर्ड बैठक अनिवार्य भएको बताउँदै आफ्नो कार्यकालको अन्तिम दिन (यहि साउन १४ गते) सम्ममा नयाँ खेलकुदमन्त्रीसँग बोर्ड बैठकमा सहभागी हुन पाउने विश्वास व्यक्त गरे ।

यसैगरी राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलकुदलाई गहि¥याइमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार आफू रहेको प्रतिबद्धता व्यक्त गरे । सदस्यसचिव घिसिङले आफ्नो कार्यकालमा भएको महत्वपूर्ण कार्यहरुको बारेमा पनि संक्षिप्तमा जानकारी गराए ।

उनले पहिलोपटक खेलकुद विमा लेख जारी गरिएको, नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) लाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको, उमेरसमूहलगायत विभिन्न प्रतियोगितामा जोड दिएको र खेलाडीको विषयमा अध्ययन गरी नेपाली खेलकुदकै इतिहासमा पहिलोपटक सातै प्रदेशमा एन्थ्रोपो मेट्रिक अनुसन्धान गरेको जानकारी गराए ।

यसैगरी उनले पेरिस ओलम्पिकसंँगै १०औँ राष्ट्रिय खेलकुदको तयारीमा जुटेको, राखेपको इतिहासमै पूर्वयुवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूसँगको सहकार्यमा लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्ने क्रममा तीन सय ४२ जना कर्मचारीको बढुवा गरिएको लगायतका विषयमा पनि जानकारी गराएका थिए ।

यसअघि, बिहीबार नै सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राखेपका सदस्यसचिव घिसिङले खेलकुदमन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरु विस्तृत रुपमा प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप