बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय
एसिया कप क्रिकेट

उच्च मनोबलसहित महिला एसिया कप यात्रामा होमिएका नेपाली सारथि

बिहीबार, ०३ साउन २०८१, १६ : ४५
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण शुक्रबारदेखि श्रीलंकाको डम्बुलामा सुरु हुँदैछ । जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ । 

नेपाल प्रतियोगिताको समूह ‘ए’मा रहेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । नेपालको समूहमा चौथो टोलीको रुपमा संयुक्त अरब इमिरेट्स (यूएई) छ । समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । 

प्रारम्भिक चरणको खेलपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ । प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार यूएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार, अपराह्न १४ः१५ बजे सुरु हुनेछ । 

नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ । 

एसिया कपको अन्तिम तयारी र सहभागिताका लागि नेपाली टोली करिब दुई साताअघि नै श्रीलंका पुगेको थियो । एसिया कप सुरु हुनुअघि नेपालले श्रीलंकामै तीनवटा अभ्यास खेल पनि खेलेको थियो । तेस्रो पटक एसिया कपमा सहभागी भएको नेपाली टोलीबाट यसपटक उत्कृष्ट प्रदर्शनको आशा गरिएको छ । 

नेपाल क्रिकेट संघ (क्यान)द्वारा एसिया कपका लागि घोषित नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् । 

नेपाली टोलीमा रहेका केही खेलाडीसँग यसअघि पनि एसिया कप खेलिसकेको अनुभव छ । केही खेलाडी भने पहिलो पटक एसिया कप खेल्ने तयारीमा छन् । यसपटक टोलीमा अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ नै नगरेकी खेलाडीको उपस्थित छ । 

यसपटक अनुभवी र नयाँ प्रतिभालाई समावेश गरेर क्यानले नेपाली टोली तयार पारेको छ । एसिया कपका लागि घोषित नेपाली टोलीमा सहभागी खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता र यसअघिको प्रदर्शनको विषयमा यहाँ चर्चा गरिएको छ ।

 रुविना क्षेत्री

एसिया कपका लागि घोषित वर्तमान टोलीमा रहेका नेपाली खेलाडीमध्ये रुविना क्षेत्री सबैभन्दा बढी महिला टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । ३० वर्षीया रुविनाले हालसम्म देशका लागि ५५ टी–२० अन्तर्राष्ट्रियको ४६ पालीमा कुल सात सय ४१ रन बनाएकी छन् । 

टी–२० अन्तर्राष्ट्रियमा रुविनाले एक शतक र एक अर्धशतक पनि प्रहार गरेकी छन् । उनको स्ट्राइक रेट ९४.८७ रहेको छ । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने अविजित एक सय १८ रन हो । उनले ११ छक्का र ७३ चौका प्रहार गरिसकेकी छन् । 

टोलीकी सबैभन्दा अनुभवी खेलाडीमध्येकी एक रुविनाले १६ वटा क्याच पनि लिएकी छन् । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रियमा ४२ विकेट पनि लिएकी छन् । अलराउन्डर रुबिनाको बलिङतर्फ उत्कृष्ट प्रदर्शन केवल दुई रन खर्चिएर चार विकेट हो । 

उनी महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा चौथो नम्बरमा क्रिज समाल्न आएर सर्वाधिक रन बनाउने विश्वभरका खेलाडीहरुको सूचिमा पनि पहिलो स्थानमा छिन् । उनले सन् २०२४ को फेब्रुअरी १३ तारिखमा खेलिएको माल्दिभ्सविरुद्धको खेलमा चौथो नम्बरका क्रिज समाल्न आएर अविजित एक सय १८ रन बनाएकी थिइन् । 

 इन्दू बर्मा

कप्तान इन्दू बर्माले पनि देशका लागि ५३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले ५३ टी–२० अन्तर्राष्ट्रियको ४६ पालीमा कुल ६ सय ३९ रन बनाएकी छन् । २६ वर्षीया इन्दूको स्ट्राइक रेट ७९.६७ रहेको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर भने अविजित ५५ रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले एक छक्का र ४० वटा चौका पनि प्रहार गरेकी छन् । उनले १७ वटा क्याच पनि लिएका छन् । अलराउन्डर खेलाडी इन्दूले २६ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल पाँच रन खर्चिएर तीन विकेट हो । 

 सीता रानामगर 

सीता रानामगर नेपाली टोलीकी अर्की अनुभवी खेलाडी हुन् । उनी पनि टोलीकी प्रभावशाली अलराउन्डर हुन् । उनले पनि देशका लागि ५३ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियको ५१ पालीमा कुल आठ सय ६३ रन बनाएकी छन् । 

३२ वर्षीया सीताको स्ट्राइक रेट ८०.१२ हो । उनले टी–२० अन्तर्राष्ट्रियमा बनाएको उच्च स्कोर भने अविजित ८२ रन हो । उनले सात छक्का र ६९ वटा चौका प्रहार गरिसकेकी छन् । उनले १६ वटा क्याच पनि लिएकी छन् । यसका अतिरिक्त बायाँहाते मध्यमतेज गतिकी बलर सीताले ५० विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल १६ रन खर्चिएर पाँच विकेट हो । 

 कविता कुँवर 

कविता कुँवरले पनि हालसम्म ४७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियको २६ पालीमा कुल एक सय ९९ रन बनाएकी छन् । २१औँ वर्ष प्रवेशको सँघारमा रहेकी कविताको स्ट्राइक रेट ७४.२५ हो । उनको उच्च स्कोर भने ३१ रन हो । 

कविता कुँवरले दुई छक्का र १४ वटा चौका पनि प्रहार गरेकी छन् । उनले १२ वटा क्याच पनि लिइसकेकी छन् । यसका अतिरिक्त उनी टोलीकी प्रभावशाली मध्यमतेज गतिकी बलर पनि हुन् । उनले हालसम्म ४१ विकेट लिइसकेकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल दुई रन दिएर दुई विकेट हो । 

 काजोल श्रेष्ठ 

विकेटकिपर एवं ब्याटर काजोल श्रेष्ठले पनि देशका लागि ४५ वटा टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । टी–२० अन्तर्राष्ट्रियको ३४ पालीमा उनले कुल दुई सय ९८ रन बनाएकी छन् । उनको स्ट्राइक रेट ६८.९८ हो । २५ वर्षीया काजोलको उच्च स्कोर भने ३२ रन हो । उनले १३ वटा क्याच लिएकी छन् भने विपक्षी टोलीका १४ ब्याट्रलाई स्टम्पिङ पनि गरेकी छन् । 

 पूजा महतो 

अन्तर्राष्ट्रिय प्रतियोगिताको लामो अनुभव नभए पनि पूजा महतो टोलीकी प्रभावशाली अलराउन्डर हुन् । १८ वर्षीया यी किशोरीले देशका लागि १७ टी–२० अन्तर्राष्ट्रियको ११ पालीमा कुल एक सय ५१ रन बनाइसकेकी छन् । उनको उच्च स्कोर भने अविजित ५९ रन हो । 

पूजाको स्ट्राइक रेट ८२.५१ रहेको छ । उनले दुईवटा क्याच पनि लिएकी छन् । यसका अतिरिक्त मध्यमतेज गतिकी यी बलरले १६ विकेट पनि लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल दुई रन खर्चिएर तीन विकेट हो । 

 कविता जोशी 

कविता जोशी पनि नेपाली टोलीकी अनुभवी अलराउन्डर हुन् । २८ वर्षीया कविताले देशका लागि हालसम्म ३२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलिसकेकी छन् । उनले टी–२० अन्तर्राष्ट्रियको १८ पालीमा कुल ८१ रन बनाएकी छन् । 

कविता जोशीको स्ट्राइक रेट ५८.२७ रहेको छ । उनको उच्च स्कोर भने अविजित १८ रन हो । उनले टी–२० अन्तर्राष्ट्रियमा ६ वटा क्याच पनि लिएकी छन् । उनी मध्यमतेज गतिकी बलर पनि हुन् । उनले हालसम्म १३ विकेट लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन पाँच रन खर्चिएर दुई विकेट हो । 

 बिन्दू रावल 

२८ वर्षीया बिन्दू रावल नेपाली टोलीकी प्रभावशाली ब्याटर हुन् । यी बायाँहाते ब्याट्रले हालसम्म २९ वटा टी–२० अन्तर्राष्ट्रियको २० पालीमा कुल दुई सय दुई रन बनाएकी छन् । उनको स्ट्राइक रेट ६२.३४ हो । उनको उच्च स्कोर भने अविजित २८ रन हो । बिन्दूले आठवटा क्याच पनि लिएकी छन् ।

 रोमा थापा 

टोलीकी दायाँहाते ब्याट्र हुन्, रोमा थापा । २७औँ वर्ष प्रवेशको सँघारमा रहेकी रोमाले देशका लागि २१ टी–२० अन्तर्राष्ट्रियको ११ पालीमा कुल ७४ रन बनाएकी छन् । उनको स्ट्राइक रेट ६६.०७ र उच्च स्कोर २२ रन हो । उनले एउटा क्याच पनि लिएकी छन् । 

 डली भट्ट 

२२ वर्षीया डली भट्टले सन् २०१९ मै टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेकी थिइन् । उनले २० वटा टी–२० अन्तर्राष्ट्रियको १२ पालीमा कुल ८६ रन बनाएकी छन् । उनको स्ट्राइक रेट १०८.८६ रहेको छ । उनको उच्च स्कोर भने २५ रन हो । उनले चार छक्का र पाँचवटा चौका पनि प्रहार गरेकी छन् । उनले दुईवटा क्याच पनि लिएकी छन् । 

 सबनम राई 

सबनम राई टोलीकी अलराउन्डर खेलाडी हुन् । खासगरी, उनी टोलीकी दायाँहाते अफ–स्पिनर हुन् । उनले देशका लागि हालसम्म ११ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । २४ वर्षीया सबनमले १० विकेट लिएकी छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन केवल तीन रन खर्चिएर दुई विकेट हो । ब्याटिङतर्फ उनले दुई पालीमा केवल तीन रन बनाएकी छन् भने एउटा क्याच पनि लिएकी छन् ।  

 सम्झना खड्का 

सम्झना खड्काले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छैनन् । तर, उनी टोलीलाई अप्ठ्यारो पर्दा रन बनाउन खप्पिस छिन् । २४ वर्षीया सम्झनाले हालसम्म १६ टी–२० अन्तर्राष्ट्रियको ११ पालीमा कुल ६३ रन बनाएकी छन् । उनको उच्च स्कोर अविजित ३६ रन हो । उनको स्ट्राइक रेट भने ६६.३१ रहेको छ । उनले दुईवटा क्याच पनि लिएकी छन् । 

 ममताकुमारी चौधरी 

२५ वर्षीया ममता चौधरीसँग धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छैन । उनले हालसम्म देशका लागि १० टी–२० अन्तर्राष्ट्रियको ६ पालीमा कुल २५ रन बनाएकी छन् । उनको स्ट्राइक रेट ४७.१६ र उच्च स्कोर अविजित नौ रन हो । उनले उनले दुईवटा क्याच लिएकी छन् भने एउटा स्टम्पिङ पनि गरेकी छन् । 

 कृतिका मरासिनी 

२० वर्षीया कृतिका मरासिनीले अघिल्लो वर्षमात्र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेकी हुन् । उनले सन् २०२३ को मे २९ तारिखमा मलेसियामा सम्पन्न आयोजक राष्ट्रविरुद्धको टी–२० खेलमा ‘डेब्यू’ गरेकी थिइन् । 

आफ्नो पहिलो खेलमा पाँच बलको सामना गरेकी उनी शून्य रनमा अविजित रहेकी थिइन् । त्यो खेलमा उनले एक ओभर बलिङ पनि गरेकी थिइन् । उनले हालसम्म दुईवटा खेलमात्र खेलेकी छन् । उनले आफ्नो दोस्रो खेलमा भने ब्याटिङ गर्ने अवसर पाएकी थिइनन् । 

 राजमती ऐरी 

२२ वर्षीय राजमती एसिया कपमा सहभागी नेपाली टोलीकी सबैभन्दा कम अनुभवी खेलाडी हुन् । उनले हालसम्म टी–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्ने अवसर पाएकी छैनन् । सम्भवतः यही एसिया कपमार्फत उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गर्नेछिन् ।

तर, राष्ट्रिय स्तरको घरेलु प्रतियोगितामा भने उनको प्रदर्शन उच्च स्तरको छ । हालै सम्पन्न ललितपुर मेयर महिला टी–२० च्याम्पियनसिपमा उनले सशस्त्र प्रहरी बलको एपीपीएफ क्लबबाट खेल्दै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । त्यो प्रतियोगिताको सुदूरपश्चिम प्रदेशविरुद्धको फाइनलमा उनले ५० रन बनाएकी थिइन् । एपीएफ क्लबलाई च्याम्पियन बनाउने उनको भूमिका महत्त्वपूर्ण रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप