केन्द्रीय सदस्य छान्न माधवलाई सकस, वरिष्ठ उपाध्यक्षमा भुसाल र पाण्डेको हानथाप
काठमाडौँ । महाधिवेशन सकिएको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने बताएको नेकपा एकीकृत समाजवादी प्रतिबद्धता अनुरूप केन्द्रीय कमिटीलाई पूर्णता दिन असफल भएको छ । असार २१ गते महाधिवेशनस्थल प्रज्ञा भवनमा महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेका थिए ।
‘कमरेडहरू हामी तपाईँहरूकै सुझावका आधारमा अबको १० दिन भित्र केन्द्रीय कमिटीलाई पूर्णता दिन्छौ, यसमा तपाईंहरु ढुक्क हुनुस्’, अध्यक्ष खनालले भनेका थिए । एकीकृत समाजवादीले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान अनुमोदन गरेको छ ।
असार १६ देखि २० गतेसम्मलाई तय भएको महाधिवेशन असार २१ गते अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेर सकिएको थियो । जसमा अध्यक्ष महासचिव र सम्मानित नेतामा पुरानै अनुहार क्रमशः माधवकुमार नेपाल, घनश्याम भुसाल र झलनाथ खनाल दोहोरिएका छन् । महाधिवेशनमा अध्यक्ष र महासचिव पदबाहेकका पदाधिकारी र केन्द्रीय सदस्य मतदानमार्फत चयन गर्नुपर्ने अधिकांश महाधिवेशन प्रतिनिधिहरूको सुझावविपरीत सिङ्गो कमिटी नै सर्वसम्मत गर्ने नाममा नेतृत्व मतदानबाट पछि हटेको थियो ।
बहानाबाजी बनाएर नेतृत्व मतदानबाट पछि हटेपछि केही महाधिवेशन प्रतिनिधि रुष्ट बन्नुका साथै केहीले केन्द्रीय सदस्यको शपथ नै बहिस्कार गरेका थिए ।
महाधिवेशन लगत्तै असार २२ र २३ गते बसेको सो पार्टीको बैठकले फेरि १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय गरेको थियो । असार २३ गते सम्पन्न बैठकपछि पार्टी प्रचार विभाग प्रमुख समेत रहेका जगन्नाथ खतिवडाले भनेका थिए, ‘अबको १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने निर्णय भएको छ ।’
बैठकले गरेको निर्णय अनुसार पनि एकीकृत समाजवादीले घोषणा गरेको दोस्रो समयसीमा पनि साउन ३ गते सकिएको छ । केन्द्रीय कमिटीलाई पूर्णता दिन किन भएको ढिलाइ ? भन्ने प्रश्नमा नेताहरूको टालटुले जवाफ छ ।
नेकपा एकीकृत समाजवादी केन्द्रीय कार्यालयका सचिव जीवनराम श्रेष्ठ प्रदेशहरूबाट सिफारिस आउन ढिलाइ भएका कारण केन्द्रीय कमिटीलाई पूर्णता दिन केही समय ढिला हुन पुगेको बताउँछन् ।
नेता श्रेष्ठका अनुसार प्रदेशका इन्चार्ज र अध्यक्षहरूलाई त्यहाँका केन्द्रीय कमिटी सदस्यहरूसँग समन्वय गरेर मापदण्ड पुरा गरेका नामहरूलाई सिफारिस गरेर सङ्गठन विभागमा पठाउन भनिएको छ । ‘त्यही अनुसार प्रदेशहरूबाट सिफारिस नाम आउने क्रम जारी छ । सबै प्रदेशबाट सिफारिस आइसकेपछि सङ्गठन विभागले छानबिन गरी केन्द्रीय कमिटीलाई सिफारिस गर्छ’, श्रेष्ठले भने, ‘त्यो सिफारिसमाथि केन्द्रीय कमिटीमा छलफल गरेर पूर्णता दिने काम हुन्छ ।’
उनले असार २६ गते पठाएको सर्कुलरमा प्रदेशहरूलाई १० दिनभित्र केन्द्रीय सदस्यको नाम सिफारिस गरिसक्न भनिएको बताए । श्रेष्ठले केन्द्रीय कमिटीले पूर्णता पाएपछि स्थायी कमिटी, पोलिटब्युरो हुँदै पदाधिकारीलाई पूर्णता दिइने तयारी भएको बताए । उक्त पार्टीको विधानअनुसार केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाइ स्थायी कमिटी सदस्य र २१ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा सबै नेताहरूबिच छलफल जारी रहेको बताउँछन् ।
‘छलफल जारी छ । क्लष्टरहरु मिलाउन केही समय लागेर ढिला भएको हो’, खनालले भने, ‘हामीले तलबाट प्रस्ताव ल्याउन १० दिनको समय दिएको हो । प्रदेशका इन्चार्ज र अध्यक्षहरूले आफ्ना प्रस्तावहरू लगभग दिइसक्नुभयो त्यसलाई प्रशोधन गरेर केही दिनभित्र पूर्णता दिन्छौ ।’ उनले प्रदेशबाट आएका नामहरू प्रशोधनको क्रममा रहेको जानकारी दिए ।
प्रदेशबाट सिफारिस भएका नामहरूमा उनीहरूको कार्यप्रगतिका साथै संगठित सदस्यताका आधारमा समावेशी, भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रले मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्नुपर्ने छ ।
पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको सो पार्टीले जनाएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ ।
वरिष्ठ उपाध्यक्षमा लडाइँ
२१ सदस्यीय पदाधिकारीमध्ये अध्यक्ष, सम्मानित नेता र महासचिव पद प्याक भए पनि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव र सचिवका लागि नेताहरूबिच चर्को दौडधुप र हानथाप चलेको सो पार्टीका नेताहरू बताउँछन् । नेता राजेन्द्र पाण्डे र बेदुराम भुसालबिच वरिष्ठ उपाध्यक्ष कसले हत्याउने भन्ने होडबाजी चलेको सो पार्टीका नेताहरूको भनाइ छ । भुसाललाई अध्यक्ष नेपालले अघि सारेका छन् भने पाण्डेलाई खनाल र महासचिव घनश्याम भुसालको समर्थन रहेको बताइन्छ । त्यस्तै चार उपमहासचिव र सात सचिव पदका लागि पनि नेताहरूको प्रतिस्पर्धा छ । यसअघि उपाध्यक्ष, उपमहासचिव र सचिव रहेकाहरूलाई यावत राख्दा नयाँले स्थान नपाउने सम्भावना रहेकाले कसरी मिलाउने भन्ने विषय नेतृत्वका लागि टाउको सकसको विषय बनेको छ ।
‘नयाँ र युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ भन्ने आवाज चर्को छ । त्यसो गर्दा अघिल्लो कार्यकालका केही पदाधिकारी आउट हुनुपर्छ । तर उनीहरू पद छोड्न चाहँदैनन्’, एक नेताले भने, ‘एकीकृत समाजवादीको महाधिवेशनमा गुट प्रस्ट छुट्टिएको छ त्यो गुट र गुटका नेताहरूलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौर्य जहाज दुर्घटना : पीडित परिवारको न्यायका लागि महासंघले खबरदारी गर्ने
-
कर्णाली प्रदेश : संसदीय समितिले बल्ल पाए नेतृत्व
-
गणतन्त्रलाई बलियो बनाउन स्वच्छ प्रशासन आवश्यक : प्रदेश प्रमुख खापुङ
-
‘कुस्ती’ मा दिकिला शेर्पा अनुबन्धित
-
सरकारले सेटिङमा सिमेन्टको मूल्य बढाएको आरोप
-
एफएओ नेपालले पहिलो प्रादेशिक कार्यालय जनकपुरमा उद्घाटन