बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

अमेरिकामा विश्वकप आयोजना गर्दा आईसीसीलाई २ अर्ब ६० करोडभन्दा बढी घाटा

बिहीबार, ०३ साउन २०८१, १४ : ३९
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न भएको थियो । विश्वकपको उपाधि भारतले जितेको थियो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई सात रनले हराएको थियो ।

प्रतियोगिताका क्रममा खेलाइएको कुल ५५ मध्ये  १६ खेल अमेरिकामा खेलाइएको थियो । विश्वकपका खेलहरू खेलाउन अमेरिकामा तीनवटा स्टेडियम तयार पारिएको थियो । त्यसमध्ये पनि न्युयोर्कस्थित नासाउ काउन्टी क्रिकेट स्टेडियम निकै चर्चामा थियो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियम विश्वकै पहिलो मोडुलर क्रिकेट स्टेडियम भएकाले पनि यसले निकै चर्चा पाएको हो । यो स्टेडियम टी–२० विश्वकपलाई ध्यानमा राखेर मात्र तयार पारिएको थियो । यो अस्थायी प्रकृतिको क्रिकेट स्टेडियम थियो ।

विश्वकपका लागि अमेरिकामा क्रिकेट स्टेडियम तयार पार्न ठुलो धनराशि खर्च गरिएको थियो । तर, विश्वकप सकिएको एक महिना पनि बित्न नपाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) भित्र अमेरिकामा विश्वकप आयोजना गर्दा निकै ठुलो घाटा ब्यहोर्नु परेको विषयले गतिलै चर्चा पाएको छ ।

अमेरिकामा विश्वकपका खेलहरू आयोजना गर्दा दुई करोड अमेरिकी डलर (दुई अर्ब ६० करोड नेपाली रुपैयाँभन्दा बढी) घाटा भएको विषयले आईसीसीमा ठुलै खैलाबैला मच्चाएको छ । अमेरिकामा क्रिकेट खेल खासै लोकप्रिय छैन ।

त्यसैले विश्वकपका लागि सम्पूर्ण नयाँ संरचना तयार पार्नु परेको थियो । अमेरिका आफैले पनि आयोजकका रूपमा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । न्युयोर्कमा अस्थायी प्रकृतिको नासाउ क्रिकेट स्टेडियम बनाउन पनि निकै ठुलो राशि खर्च गरिएको थियो ।

नासाउ स्टेडियममा विश्वकपको अन्तिम खेल भारत र आयोजक अमेरिकाबिच खेलाइएको थियो । रमाइलो पक्ष त के हो भने, भारत र अमेरिकाबिचको खेल सुरु हुनुअघि नै स्टेडियम भत्काउन विशाल क्रेनहरु रंगशाला परिसरमा ल्याइसकिएको थियो । खासमा, विश्वकपका लागि रंगशाला तयार पारिएको त्यो स्थान लस भेगास फर्मुला वानलाई फर्काउनु पर्ने थियो ।

आईसीसीको बोर्ड बैठक यसै साता श्रीलंकाको कोलम्बोमा बस्दैछ । त्यो बोर्ड बैठकमा पनि यो विषय ठुलो छलफलको विषय बन्ने बताइएको छ । आखिर यति ठुलो धनराशि खर्च गरेर अमेरिकामा विश्वकप आयोजना गर्दाको फाइदा र बेफाइदाको विषयमा बैठकमा गम्भीर छलफल हुने बताइएको छ ।

पछिल्लो समय आईसीसीभित्र विश्वकपका लागि अमेरिकामा अस्थायी प्रकृतिको संरचना निर्माण गर्न यति ठुलो धनराशि किन खर्च गरियो र यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा समेत चर्चा सुरु भएको बताइएको छ ।   

नवौँ विश्वकपको अमेरिकामा हुने खेलका लागि आईसीसीले जति बजेट छुट्याएको थियो त्योभन्दा निकै बढी खर्च भएको बताइएको छ । आईसीसीका एक बोर्ड सदस्यका अनुसार, अमेरिकामा आयोजना हुने खेलका लागि आईसीसीले चारदेखि पाँच करोड अमेरिकी डलर खर्च गर्ने अनुमति दिएको थियो ।

तर, अहिले विश्वकप सकिएपछि थप दुई करोड अमेरिकी डलर खर्च भएको दाबी प्रस्तुत गरिएको छ । यो दाबीपछि नै आईसीसीभित्र खर्चको विषयलाई लिएर गम्भीर बहस सुरु भएको हो । यसका अतिरिक्त आईसीसीको आगामी बोर्ड बैठकमा विश्वकपका लागि तयार पारिएको स्टेडियमको स्तर, पिचको गुणस्तर, रंगशालामा दर्शकको न्युन उपस्थितिजस्ता विषयमा पनि गम्भीर छलफल हुने बताइएको छ ।

नवौँ टी–२० विश्वकपमा चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबिचको खेल नासाउ काउन्टी स्टेडियममै खेलाइएको थियो । त्यो स्टेडियम तयार पार्न करिब चार अर्ब नेपाली रुपैयाँ खर्च भएको बताइएको थियो ।

त्यो स्टेडियममा अस्ट्रेलियामा तयार पारिएको पिचको प्रयोग गरिएको थियो । दर्शकलाई बस्नका लागि भने फर्मुला–वन को स्ट्यान्ड प्रयोगमा ल्याइएको थियो । टी–२० विश्वकपको नवौँ संस्करण सकिए लगत्तै यो स्टेडियमलाई पुनः पार्कमा परिणत गरिएको थियो ।

त्यो स्टेडियम तयार पार्न स्टिल र सजिलै हटाउन सकिने धातुहरूको प्रयोग गरिएको थियो । त्यो स्टेडियममा फुटबल र बेसबल स्टेडियममा प्रयोग गरिने बरमुडा घास पनि लगाइएको थियो । खासमा, टी–२० विश्वकपका लागि ६ महिनाभित्र न्युयोर्कमा नयाँ स्टेडियम बनाउनु पर्ने बाध्यता थियो ।

यति कम समयमा अस्थायी प्रकृतिको रंगशाला बनाउनुको विकल्प थिएन । अस्थायी प्रकृतिको स्टेडियम बनाउँदा यसले पर्यावरणमा पनि कुनै असर पुर्‍याउने सम्भावना थिएन । नासाउ काउन्टी क्रिकेट स्टेडियमको दर्शक क्षमता ३४ हजार रहेको थियो ।

अस्थायी प्रकृतिको भए पनि यो स्टेडियममा सामान्यदेखि विशिष्ट दर्शकका लागि समेत उपयुक्त व्यवस्था गरिएको थियो । यसका अतिरिक्त सञ्चारकर्मीका लागि आवश्यक सम्पूर्ण सुविधा पनि उपलब्ध गराइएको थियो ।

नासाउ काउन्टी क्रिकेट स्टेडियममा ड्रप–ईन पिचको प्रयोग गरिएको थियो । यो स्टेडियमका लागि १० वटा पिच अस्ट्रेलियाको एडिलेड सहरमा तयार पारिएको थियो । करिब ३० टन भारी ती पिच गत डिसेम्बरमा पानी जहाजमार्फत अमेरिकाको फ्लोरिडा ल्याइएको थियो ।

त्यसपछि फ्लोरिडामा पाँच महिनासम्म पिचको हेरचाह गरी अझ उत्कृष्ट बनाइएको थियो । त्यसपछि त्यो पिच नासाउ काउन्टी क्रिकेट स्टेडियम ल्याएर जडान गरिएको थियो । नासाउ काउन्टी क्रिकेट स्टेडियममा नवौँ विश्वकपको कुल आठ खेल खेलाइको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप