बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

माओवादीका ठेकेदार मन्त्री : सम्पत्ति कति हो कति !

बिहीबार, ०३ साउन २०८१, १४ : २९
बिहीबार, ०३ साउन २०८१

सुर्खेत । वीरबहादुर शाही नेकपा माओवादी केन्द्रबाट वैशाख १८ गते कर्णालीका सामाजिक विकास मन्त्री बनेका हुन् । हिमाली जिल्ला डोल्पाबाट प्रत्यक्ष चुनाव जितेर प्रदेश सभा सदस्य बनेका उनी ठेकेदारसमेत हुन् ।

मन्त्री शाहीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफू ठेकेदारसमेत रहेको खुलाएका छन् । उनले आफ्नी श्रीमती शिलाकुमार शाहीको नाममा ठेक्कापट्टाको कम्पनी खोलेका छन् । स्रोतका अनुसार उक्त कम्पनी शाही संसदीय राजनीतिमा आउनुपूर्व आफैँले चलाउँथे ।

डीवीसी कन्स्ट्रसन प्रालि नामको उक्त कम्पनीमा मन्त्री शाहीको ७० प्रतिशत र श्रीमती शिलाकुमारीको ३० प्रतिशत सेयर छ । सर्वहारा जनताको प्रतिनिधित्व गर्ने माओवादीका यिनै मन्त्रीको सम्पत्ति विवरण हेर्दा उनी कुनै पुँजीपति भन्दा कम छैनन् ।

उनको निर्माण सेवा कम्पनीको झण्डै ७५ लाख ऋणबाहेक सबै सम्पत्ति चलनचल्तीको मूल्यमा करोडौँ पर्दछ । उक्त सम्पत्ति शाहीले अधिकांश ठेक्कापट्टाबाटै जोडेको उल्लेख गरेका छन् । जसमा गाउँदेखि ठुला सहरमा चार वटा घर, ठाउँ–ठाउँमा जमिन छ भने सुनचाँदी मनग्य छ ।

डोल्पाकोे जगदुल्ला गाउँपालिका–५, माझगाउँमा शाहीको गाउँमा १०६० वर्गमिटर क्षेत्रफल जमिनमा घर छ । उक्त घर पुर्ख्यौली रहेको उनले बताएका छन् । बाँकी तीन वटा घर सुर्खेत र बाँकेको नेपालगंजमा छन् ।

नेपालगंज सहरका दुईमध्ये एउटा ३७६.५५ वर्गमिटर क्षेत्रफलमा र अर्को २१ धुरमा बनेका छन् । यी घर १० लाख रुपैयाँमा जोडेको शाहीले उल्लेख गरेका छन् । वर्षौँ पहिले किनेका यी घरको मूल्य अहिले करोडमा गणना हुन्छ । वीरेन्द्रनगर सहरमा उनको २५ लाख पर्ने ११ धुर क्षेत्रफलमा फैलिएको घर छ । वीरेन्द्रनगरमा अहिलेको जग्गाको मूल्यमा हेर्दा यो घरको मूल्य पनि करोडमै गणना हुन्छ । यी घर ठेक्कापट्टाबाट जोडेको शाहीले उल्लेख गरेका छन् ।

शाहीकै नाममा डोल्पा, सुर्खेत, बाँके, रुकुम पश्चिममा गरी ७ ठाउँमा करोडौँ मूल्य बराबरको जग्गाजमिन छ । डोेल्पा जगदुल्लाका दुई ठाउँमा ११ धुर, सुर्खेतमा ९ धुर, बाँकेमा २०० धुर, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३, का दुई ठाउँमा गरी ४०० धुर र डोल्पामै अर्को ठाउँमा ४ बिघा जमिन छ ।

४ बिघा पुर्ख्यौली सम्पत्ति र बाँकी सबै जमिन ठेकापट्टाबाटै जोडेको शाहीले उल्लेख गरेका छन् । सुर्खेत र बाँकेको १ करोड ५० लाख बराबर मूल्यमा खरिद गरेको र रुकुम पश्चिमको ६५ लाख रकममा खरिद गरेको उनले उल्लेख गरेका छन् । शाहीको जमिनकै मूल्य अहिले चलनचल्तीकै आधारमा हेर्ने हो भने करोडौँ हुन्छ ।

चल सम्पत्ति पनि उनीसँग टन्नै छ । शाहीसँग ३२ तोला सुन छ । ५५१ तोला चाँदी, मुगा १० तोला रहेको उल्लेख गरेका छन् । मन्त्री शाही र उनकी श्रीमती शिलकुमारी शाहीको नामा ५ लाख रकम मौज्दात छ ।

शाहीसँग २ वटा डोजर, एक ट्याक्टर, २ मोटरसाइकल र एउटा महँगो कारसमेत छ । यी सबै ठेक्कापट्टाबाटै खरिद गरिएको शाहीले उल्लेख गरेका छन् । डोजरको मूल्य २ करोड ३० लाख, ट्याक्टरको मूल्य ३० लाख उल्लेख गरेका छन् । १ करोड ५० लाख मूल्यको टोयटा हाइलक गाडी उनीसँग छ । यो सबै पनि उनले ठेक्कापट्टाबाटै जोडेको बताएका छन् ।

यस्तै उनीसँग एउटा स्याउ फार्म, ४० घोडा, ६० खच्चर, १०० बाख्रा छन् भने एउटा ग्रिल उद्योग पनि छ । उक्त उद्योग एक करोडमा खरिद गरिएको उल्लेख छ । उक्त उद्योग डोल्पामै रहेको र छोराले चलाइरहेको मन्त्री शाहीले रातोपाटीलाई बताए ।

कसरी बने मन्त्री शाही करोडपति ?

मन्त्री शाहीको सम्पत्ति विवरण हेर्दा अचम्मित पार्ने खालको छ । ‘सम्पत्ति विवरण हेर्दा तपाईं त सर्वहाराको नेताभन्दा पनि पुँजीपति देखिनु भो नि ?’ भन्ने रातोपाटीको प्रश्नमा शाहीले ‘हो र ?’ भन्दै टारे ।

उनको राजनीतिक विगत खासै संघर्षपूर्ण छैन । तर उनले पटक–पटक राजनीतिको आडमा लाभ लिइरहेका देखिन्छन् । ०४८ सालमा कम्युनिस्ट पार्टीमा सक्रिय भए यता ०५२ सालदेखि माओवादीमा रहेको शाहीको दाबी छ ।

हाल पार्टीको प्रदेश कमिटी सदस्यसमेत रहेका शाही पार्टीमा रहे पनि जनयुद्धमा भने सक्रिय थिएनन् । तर उनले ०७४ मा प्रदेश सभा सदस्यमा टिकट पाएर जिते । र, प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री समेत बने । पुनः माओवादीले उनैलाई टिकट दियो । ०७९ को चुनावमा पनि जितेर अहिले उनी सामाजिक विकास मन्त्री छन् ।

आफूले सानैदेखि ठेक्कापट्टादेखि व्यवसायबाट ती सम्पत्ति जोडेको शाहीको दाबी छ । ‘पहिला यार्साको व्यापार गर्थेँ,’ उनले भने, ‘अहिले पनि ठेक्कापट्टा गर्छु । म्याडमले हेरिराछ, छोराछोरी छन् ।’ शाही अहिलेको मन्त्रिपरिषद्को सबैभन्दा धनी मन्त्री हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप