बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

वर्षातको मौसममा बिग्रिन सक्छ पेट, यसरी राख्नुस् ख्याल

बिहीबार, ०३ साउन २०८१, ०६ : ५४
बिहीबार, ०३ साउन २०८१

काठमाडौँ । वर्षातको मौसमले खपी नसक्नु गर्मीबाट त राहत दिन्छ नै तर यसले कयौं स्वास्थ्य समस्याहरू पनि निम्त्याउँछ । यो मौसममा कयौँलाई छालाको एलर्जी हुन्छ । पाचन सम्बन्धी समस्या पनि निकै बढ्छ । 

पाचनसँग सम्बन्धित रोगको सिधा सम्बन्ध हाम्रो पेटको स्वास्थ्यसँग हुन्छ । आन्द्रा अर्थात् पेट एक प्रकारले हाम्रो शरीरको इन्जिन हो । हामीले जस्तो खाना खाम्छौँ, आन्द्राले त्यहीअनुरूप प्रदर्शन गर्छ । हाम्रो आन्द्राबाट शरीरको कुन हिस्सामा के जान्छ भन्ने पनि पेटले निर्धारण गर्छ । 

वर्षातमा ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आएका खानेकुराहरू दूषित हुन्छन् । जब यो खाना पेटमा पुग्छ, यसले रोग निम्त्याउँछ । त्यसैले वर्षा याममा आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ । आजको यस लेखमा हामी वर्षा याममा ग्यास्ट्रिकको समस्या बढ्नुको कारण के हो ? आन्द्रा स्वास्थ्य हुन आहार कस्तो हुनुपर्छ ? भन्नेबारे कुराकानी गर्नेछौँ ।

वर्षा याममा पेट दुख्ने वा पेट गडबड हुने समस्या किन बढ्छ ?

पेटको काम भनेको खाएको खाना लिने र यसलाई पचाएर शरीरलाई ऊर्जा दिने हो । वर्षातकको मौसम भाइरस र ब्याक्टेरियाको लागि सबैभन्दा अनुकूल समय हो । वातावरणमा आर्द्रता भाइरस र ब्याक्टेरियाका लागि अनुकूल हुन्छ । यस मौसममा ब्याक्टेरियाको प्रजनन क्षमता धेरै गुणा बढ्छ । यी ब्याक्टेरिया खाना र पेय पदार्थको माध्यमबाट हाम्रो पेटमा प्रवेश गर्छन् र रोग निम्त्याउँछ ।

वर्षातकको समयमा ब्याक्टेरियाका कारण हुन सक्छन् यी स्वास्थ्य समस्या:

  • एसिडिटी
  • अपच
  • वाकवाकी लाग्ने÷बान्ता हुने
  • पेट दुखाई
  • कब्जियत
  • जन्डिश
  • पेट फुल्ने
  • टाइफाइड, डेंगी, मलेरिया आदि  

ब्याक्टेरियाबाट हुने रोगबाट कसरी बच्ने ?

वर्षा याममा ब्याक्टेरियाबाट हुने रोगबाट बच्न खानपिनका सामानको सरसफाइमा ध्यान दिनु सबैभन्दा जरुरी छ ।

  • आरओको सफा पानी पिउने वा उमालेर मात्रै पिउने ।
  • काँचो तरकारी, काटिएका फलफूल वा सडक किनारमा बेच्न राखिने खानेकुरा नखाने ।
  •  खाना पकाउँदा भान्साको सरसफाइमा विशेष ध्यान दिने ।
  •  खाना खानुअघि एन्टी ब्याक्टेरियल साबुनले हात धुने ।
  • तरकारी पकाउनु अघि सफा पानीले राम्रोसँग धुने ।

वर्षा याममा पाचन प्रणालीलाई स्वस्थ राख्न आहारमा के के समावेश गर्ने ?

हाम्रो आन्द्रामा राम्रो र नराम्रो दुवै खाले ब्याक्टेरिया हुन्छन् । शरीरलाई स्वस्थ राख्न राम्रो ब्याक्टेरिया चाहिन्छ । यी ब्याक्टेरियाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । पेटमा सङ्क्रमण भयो भने त्यो सङ्क्रमण र सङ्क्रमणबाट उब्रिन खाइने औषधि दुवैले ठुलो सङ्ख्यामा आन्द्राका राम्रो ब्याक्टेरिया नष्ट गर्छ । सङ्क्रमणबाट निको हुन र राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउन धेरै समय लाग्न सक्छ । त्यसैले वर्षा याममा पेटमा राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउन मद्दत गर्ने खानेकुरालाई आफ्नो आहारमा धेरै मात्रामा समावेश गर्नुस् ।

वर्षातकको मौसममा पाचन प्रणालीलाई स्वस्थ राख्न यी कुरामा ध्यान दिनुस्:

  • शरीरलाई हाइड्रेटेड राख्न जरुरी

वर्षा याममा शरीरलाई हाइड्रेटेड राख्न दैनिक करिब ३ लिटर पानी पिउनुस् । पानीले शरीरमा भएका विषाक्त पदार्थहरूलाई बाहिर निकाल्छ, जसले गर्दा पाचन प्रणालीले राम्रोसँग काम गर्छ । यसका साथै पाचन क्रियालाई सुधार्न हर्बल चिया, कागती पानी र नरिवलको पानी आदिलाई पनि आफ्नो आहारमा समावेश गर्नुस् ।

  • दहीले बढाउँछ रोग प्रतिरोधी क्षमता 

आफ्नो आहारमा दही समावेश गर्नुस् । दहीमा प्रोटिन र क्याल्सियम प्रचुर मात्रामा पाइन्छ । साथै, यो प्रोबायोटिक पनि छ । यसले पाचन प्रणालीलाई स्वस्थ राख्छ । रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।

  • फाइबर युक्त फलफूल र तरकारीको सेवन

वर्षा याममा ओट्स, जामुन, स्याउ, गेडागुडी जस्ता खानेकुरा खानु फाइदाजनक हुन्छ । फाइबरयुक्त यी खानेकुराले पेटको स्वास्थ्यमा सुधार गर्छ ।

  • अदुवा र लसुन खानुस्

अदुवा र लसुन पेटको स्वास्थ्यका लागि निकै फाइदाजनक चीज हुन् । काँचो अदुवा र लसुनमा पनि एन्टिअक्सिडेन्ट हुन्छ, जसले पेटमा पाइने राम्रो ब्याक्टेरियालाई पोषण दिन्छ । अदुवामा जिंजरोल हुन्छ भने लसुनमा एलिसिन हुन्छ । दुबैमा शक्तिशाली एन्टिब्याक्टेरियल र एन्टिफंगल गुणहरू पाइन्छ । यिनीहरूले पेटको स्वास्थ्य सुधार गर्न मद्दत गर्छन् ।

  • हरेक दिन व्यायाम जरुरी

नियमित व्यायामले पाचन प्रणालीलाई स्वस्थ राख्छ । व्यायामले पाचन प्रणालीमा ब्याक्टेरियाको सही सन्तुलन कायम राख्न मद्दत गर्छ । हरेक दिन व्यायाम गर्नाले अपच, पेट दुख्ने, एसिडिटी, कब्जियत जस्ता धेरै समस्याले सताउँदैन ।

वर्षा याममा पेटको स्वास्थ्यका लागि के कस्ता सावधानी अपनाउने ?

वर्षा याममा खानपानको बानी परिवर्तन गर्नुपर्छ । यसका लागि यी कुरामा ध्यान दिनुस् ।

  • काँचो तरकारी नखाने

वर्षा याममा उमालेको वा पूरै पकाएको तरकारी मात्रै खानुपर्छ । काँचो तरकारीमा ब्याक्टेरिया र भाइरस हुन सक्छ, जसले आन्द्राको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ । यसले पेटमा सङ्क्रमण पनि गराउन सक्छ ।

  • चिनीको कम सेवन गर्ने

वर्षा याममा आइसक्रिम चकलेट क्यान्डी वा अन्य चिनीयुक्त वस्तुहरू खानबाट सकेसम्म टाढै बस्नुस् । यसले पेटमा सुन्निने, फुल्ने वा दुख्ने समस्या निम्तिन सक्छ ।

  • तारेको र प्रशोधित खानेकुरा नखाने

तेलमा तारेको र प्रशोधित खाद्य वस्तुमा फाइबर र पोषक तत्त्वहरू कम हुन्छन् । वर्षाको समयमा पेटले यी चीजहरू पचाउन बढी नै मेहनत गर्नुपर्छ । यो मौसममा यी चिज खाँदा पाचन सम्बन्धी समस्या हुन सक्छ ।  

  • बिस्तारै खानुस्

खाना खाँदा राम्ररी चपाएर खानुस् । चपाउँदा खाना स–साना टुक्रामा टुक्रिन्छन् । यसरी चपाइएका खानेकुरा पेटलाई पचाउन सजिलो हुन्छ । त्यसैले खाना खाँदा हतार नगरीकन सुस्तरी सुस्तरी चपाएर खानुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप