सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बुधबार, ०२ साउन २०८१, २२ : ००
बुधबार, ०२ साउन २०८१

आज २०८१ साउन २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • सिमलताल पहिरो

दुई वटा डिलक्स बस त्रिशूलीमा खस्दा बेपत्ता भएका १९ जनाको शव भेटिएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट नदीमा खसेको बसमा सवार १९ जनाको शव फेला परेको बागमती प्रदेशका डीआईजी विष्णु केसीले जानकारी दिए । सशस्त्र प्रहरीका अनुसार ५ जनाको सनाखत हुन सकेको छैन । ५ जना पुरुषको सनाखत हुन नसकेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए । ६ दिनसम्म खोज्दा पनि दुई वटा डिलक्स बस भेटिएको छैन ।

  • मुग्लिन–नारायणगढ सडकको दुर्दशा

पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरे मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै गर्दा चितवनको दारेचोकस्थित घोप्टेभिरबाट त्रिशूलीमा खस्यो । २०७३ असोज ९ मा आफू चढेको बा९च १५३१ नम्बरको स्कोर्पियोसहित सडकबाट १५० मिटर तल खसेका माधव, उनका भाइहरू प्रकाश र मनमोहन अहिलेसम्म बेपत्ता छन् ।

  • लाइन हटाउन कति सम्भव ?

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेलगत्तै संघीय अस्पतालहरूमा लाइन बस्नुपर्ने व्यवस्था हटाउने प्रतिवद्धता जनाएका छन् । संघ अन्तर्गतका सरकारी अस्पतालमा अप्रेसनदेखि लिएर औषधिका लागि बिरामीले लामो समय कुर्नुपर्ने बाध्यता छ । यसले गर्दा निजी अस्पतालमा चर्को शुल्क तिरेरै भए पनि उपचार गराउनुपर्ने बाध्यता आम नागरिकमा छ ।

  • बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन 

बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कनसचेत गराएको छ ।

  • विभाजनको चक्रव्यूह

पार्टी एकता भएको एक वर्ष ५ महिनामा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको छ । मंगलबार नेता धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका थिए ।

  • चुनौतीका चाङ

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा परराष्ट्र मन्त्री बनेपछि उनको बारेमा विभिन्न टीकाटिप्पणीहरू सुरु भएका छन् । पछिल्ला विभिन्न काण्डमा उनका नाम मुछिरहेको बेला मन्त्री बनेपछि उनको बारेमा टिप्पणी भइरहेको हो ।  तर यसबाहेक पनि परराष्ट्र मन्त्रीको रूपमा उनीसामु चुनौतीका चाङ छन् ।

  • विदेशी फिल्मको दबदबा

नेपालमा वर्षभरिमा ‘सेन्सर’ गरिएका फिल्महरूको तथ्याङ्कले नेपाली चलचित्रले विदेशीसँग चर्को प्रतिस्पर्धा गरिरहेको देखिएको छ । नेपालमा स्वदेशी हुन् वा विदेशी फिल्म प्रदर्शन अघि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शनका लागि अनुमति (सेन्सर पास) प्रमाणपत्र लिन अनिवार्य हुन्छ । 

  • आन्तरिक गतिविधि अवरुद्ध

सत्ताको खेलमा व्यस्त हुँदा नेपाली कांग्रेसको आन्तरिक गतिविधि प्रभावित भएको छ । गत असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने कांग्रेसको तयारी थियो । असार १७ मा एमालेसँग सत्ता सहकार्यको सम्झौता भएपछि कांग्रेसका आन्तरिक काम प्रभावित भएका हुन् ।

  • आर्थिक चलखेल 

वैदेशिक रोजगारीमा कामदार पठाउने व्यवसायीहरूलाई असार मसान्त आउँदा छुट्टैखालको छटपटी हुन्छ । त्यो छटपटी वार्षिक १०० जनालाई समेत वैदेशिक रोजगारीमा पठाउन नसक्दा राज्यले गर्ने कारबाहीबारे हो ।

  • संकटमा साथ दिनेलाई निरन्तरता

नेपाली कांग्रेस र एमालेबीच केन्द्रमा भएको सत्ता समीकरणले गण्डकी प्रदेशमा मन्त्रालय सङ्ख्या थपिने देखिएको छ ।  यसअघि कांग्रेसबाट छुटिएर माओवादी एमालेतिर लागेपछि एक्लिएको कांग्रेसले गण्डकीमा आफ्नै बलबुतामा सरकार गठन गरेको थियो । तत्कालीन समयमा कांग्रेसलाई राप्रपाका २, नेपाल समाजवादी पार्टीका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले साथ दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप