सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
मुग्लिन–नारायणगढ सडकको दुर्दशा

त्रिशूलीमा खसेका ८ सवारी साधन अहिलेसम्म भेटिएनन्, पूर्वगृहमन्त्रीको अवस्था अझै अज्ञात

बुधबार, ०२ साउन २०८१, २० : ५९
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । पूर्वगृहमन्त्री माधव प्रसाद घिमिरे मुक्तिनाथ दर्शन गरेर काठमाडौँ फर्किँदै गर्दा चितवनको दारेचोकस्थित घोप्टेभिरबाट त्रिशूलीमा खस्यो ।

२०७३ असोज ९ मा आफू चढेको बा९च १५३१ नम्बरको स्कोर्पियोसहित सडकबाट १५० मिटर तल खसेका माधव, उनका भाइहरू प्रकाश र मनमोहन अहिलेसम्म बेपत्ता छन् ।

घिमिरे चढेको स्कोर्पियोको अवस्था अहिले पनि अज्ञात छ । पानीको वेगसँगै बगेर आउने चिजबस्तुले हान्दा स्कोर्पियो टुक्रा परेर अब नभेटिने अवस्था भइसकेको त्रिशूलीमा लामो समयदेखि उद्धारमा संलग्न सशस्त्र प्रहरीका गोताखोरहरू बताउँछन् ।

२०७३ पछि त्रिशूलीमा खसेका ७ वटा सवारी साधन फेला परेका छैनन् । सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारको तथ्याङ्क अनुसार दुई वटा स्कोर्पियो, दुई वटा ट्रक, एउटा ट्याक्टर र दुई वटा डिलक्स बस त्रिशूलीमा खसेर फेला नपरेका हुन् । २०४९ मा त्रिशूलीमा खसेको ‘स्वाभिमान परिवहन’को अवस्था अहिलेसम्म अज्ञात छ ।

२०८१ असार २८ मा भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित मुग्लिन–नारायणगढ सडकखण्डमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस त्रिशूलीमा खसे । अविरल वर्षाको कारण लेदोसहितको माटो खसेर बगाएका ती दुई बसमा कुल ६५ जना यात्रु सवार भएको बागमती प्रदेशका डीआईजी विष्णु केसीले बताए । उनले भने, ‘तीमध्ये ३ जना हामफालेर बाँचे, १८ जनाको शव भेटिएको छ ।’

डिलक्स बसमा सवार अरु ४४ जना बेपत्ता छन् । बस खोज्न सशस्त्र प्रहरीका ११ जना र सेनाका ८ जना गोताखोर घटनास्थलमा परिचालन गरिएको छ । सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले भने, ‘गोताखोर सहित हाम्रो अरु उद्धार टिम पनि घटनास्थलमा परिचालन गरिएको छ ।’ तर, अहिलेसम्म बसको अवस्था अज्ञात छ ।

सशस्त्र प्रहरीमा लामो समय उद्धार अनुभव भएका एक जना अधिकृत बस फेला पर्नेमा आशङ्का व्यक्त गर्छन् । उनले भने, ‘त्रिशूलीको उच्च बहावका कारण ती बस फेला पार्न मुस्किल छ ।’

त्रिशूलीमा बेपत्ता सवारी–साधनको तथ्याङ्क

tt

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) निश्चल तामाङसहितका सुरक्षाकर्मी सवार एउटा र अर्को एउटा मालबाहक ट्रक २०७४ असार ९ मा त्रिशूलीमा खसे । मध्यराति १ बजेर १५ मिनेटमा इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा अचानक पहिरो खस्दा ना१झ १३९० नम्बरको स्कोर्पियो र ना५ ख ७८२७ नम्बरको मालवाहक ट्रक बेपत्ता भएका हुन् । सो दुर्घटनामा परेका ४ जनाको शव भेटिएको छ । स्कोर्पियो र मालवाहक ट्रक अहिलेसम्म बेपत्ता छन् ।

२०७९ साउन २८ मा इच्छाकामना गाउँपालिका–५ स्थित नाग्दी खोला पुल नजिक मुग्लिङबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ख ७१०३ नम्बरको ट्रक त्रिशूलीमा खस्यो । राजमार्गबाट त्रिशूलीमा खसेको ट्रक अहिलेसम्म बेपत्ता छ । ट्रक चालक भने बाँच्न सफल भए ।

किन भेटिँदैनन् ?

कृष्णभिर नजिकैबाट २०४९ मा ‘स्वाभिमान परिवहन’को बस त्रिशूलीमा खसेको थियो । काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको सो बसमा ४२ यात्रु थिए । यात्रु र बस फेला परेनन् ।

लामो समयसम्म सवारीसाधनका अवशेष र यात्रुको अवस्था नभेटिनुमा त्रिशूलीको बहाव नै मुख्य कारण भएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए । उनले भने, ‘नदीको बहाब र गहिराइ मुख्य कारण देखिन्छ ।’

वर्षाको समयमा खसेका सवारी साधनका केही टुक्रा हिउँदमा भेटिन्छ तर, ती टुक्रा कुन सवारीको थियो भन्ने पत्ता लगाउन कठिन हुन्छ । कवाड सङ्कलन गर्नेहरूले ती टुक्रा उठाएर लैजान्छन् । त्रिशूलीमा लामो समयदेखि उद्धारमा सक्रिय सशस्त्र प्रहरीका एक जना अधिकृत भन्छन्, ‘उच्च बहावका कारण ठोक्किँदा ठोक्किँदा सवारी साधन नदीको बेसमा पुग्छन्, ठुला ढुङ्गामा अड्किन्छन् ।’

उद्धारकर्ताहरू त्रिशूलीलाई ‘मिस्ट्री रिभर’ भन्छन् । ठुला ढुङ्गामा उच्च बहावले हान्दा सवारी साधन टुक्रा भएर नासिने उद्धारकर्ताहरू बताउँछन् । सशस्त्र प्रहरीका एक जना गोताखोर भन्छन्, ‘त्रिशूली सदावहार तीव्र वेगमा बग्छ अनि, सिटबाट धकेलेर शव निकाल्छ ।’

नारायणीको भङ्गालो हुँदै गण्डक नहर पुग्दा सवारी साधन हराउने गरेको उद्धारकर्ताहरू सुनाउँछन् ।

२०७९ वैशाख २५ मा धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेघाटमा ग१त ४८९८ नम्बरको ट्याक्टर तीव्र गतिको कारण त्रिशूलीमा खस्यो । चितवनको इच्छाकामना गाउँपालिका–१ घर भएका ट्रयाक्टर चालक मगर सिंह चेपाङ बेपत्ता भए । ट्याक्टर पनि भेटिएन ।

बहाव कम भएका नदीमा चाहिँ त्यस्ता सवारी र मानिसहरू भेटिने जानकारहरू बताउँछन् । जाजरकोटमा २०७१ मंसिर ३ मा एउटा बस भेरीमा खस्यो । सशस्त्र प्रहरीका गोताखोरहरूले त्यहाँ उद्धार अप्रेसन गरे । जारकोटको राकमबाट सुर्खेतका लागि छुटेको बसमा ४७ जना सवार थिए । त्यसबेला उद्धारकर्ताले ४७ जनालाई बसको सिटबाट निकाले । कमजोर बहाव भएका कारण ४७ यात्रुलाई सिटबाटै निकाल्न सफल भएको त्यसबेला उद्धारमा संलग्नहरू बताउँछन् । तर, त्रिशूलीमा त्यस्तो अवस्था छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप