बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

मन्त्रीहरू एक वर्षमा फेरिन्छन् : मन्त्री गुप्ता

बुधबार, ०२ साउन २०८१, २० : ५३
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरू एक वर्षमा फेरिने बताएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरूको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समुदायबाट पनि समावेशी प्रतिनिधित्व हुने तर्क गरे । 

 प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकार गरे ।  

‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल  सरकार होइन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको सङ्ख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरूसँग पनि कुरा हुँदैछ । एक/दुई दिनमा उहाँहरू पनि सहभागी हुनुहुनेछ,’उनले भने । 

प्रधानमन्त्री ओलीले विगतमा ३८ महिना सरकारको नेतृत्व गर्दा विकासले गति लिएको र सारा देशले उनलाई मन पराएको मन्त्री गुप्ताको दाबी छ । उनले अब आफूहरू पनि प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको दाबी गरे । 

मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको बताए । ‘२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन । एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ । अब यो देश अगाडि बढ्छ । हामी यो देशलाई अगाडि बढाउँछौँ,’ उनले भने । 

मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौंमात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको बताए । उनले वर्तमान सरकारले निवर्तमान सरकारले खोल्छौँ भनेका सबै फाइल खोल्ने र छानबिन पनि अगाडि बढाउने बताए । 

यस्तै बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ । मन्त्री गुप्ताले उक्त आरोप लगाएर निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले स्टन्ट गरेको आरोप लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप