बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

यूएईमा मौलाउँदो ठगीबारे बोल्यो दूतावास

बुधबार, ०२ साउन २०८१, २० : २७
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा विकसित देशमा रोजगारीका लागि पठाउने नाममा नेपालीबाट नेपालीमाथि बढ्दो ठगीबारे आबुधावीस्थित नेपाली दूतावास बोलेको छ ।  नेपालबाट श्रम स्वीकृति लिई वा नलिई युएईका विभिन्न इमिरेट्समा नेपाली युवा युवतीलाई ल्याउने क्रम बढेको पाइएको दूतावासले जनाएको छ । 

यसरी ल्याइएका नेपाली युवा युवतीलाई युएईका विभिन्न ठुला कम्पनीमा काम लगाइदिने भनी प्रलोभन तथा आश्वासन दिलाएर भिजिट भिसामा ल्याउने र आर्थिक शोषणमा पार्ने गरेको गरेको पाइएको भन्दै कतिपय कन्सल्टेन्सीहरुले टिकटकमार्फत भ्रामक प्रचारप्रसार गरी युरोप लगायतका अन्य राष्ट्रहरूमा आकर्षक तलब सुविधा देखाई प्रलोभनमा नेपालीले नै नेपालीलाई गरी ठगी गर्ने गरेको पाइएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘शिक्षित युवा युवतीलाई समेत युएईमा केही समयको बसाइँपछि युरोप अमेरिका लगायतका राष्ट्रमा पठाइदिने भन्ने सपना देखाएर ठुलो रकम असुल गर्ने गरेको, नेपालस्थित मेनपावरले जानकारी गराएका कम्पनीले उपलब्ध गराउने तलब तथा सेवा सुविधाहरूबारे सर्तहरू स्वीकार गरी विभिन्न मेनपावरबाट युएईका विभिन्न कम्पनीमा काम गर्न आउने र कम्पनीमा करार सम्झौता गरी काम गर्न थालेको महिना दिन नपुग्दै सर्त बमोजिमका काम गर्न इन्कार गरी बिना सूचना कम्पनी छाडी भागी एजेन्टको प्रलोभनमा परी फसेको र नेपाल सरकारले तय गरेको भिजिट भिसाको सम्पूर्ण सर्तहरू स्वीकार गरी युएई प्रवेश पश्चात् दलालले फसाएको जस्ता गुनासाहरूप्रति यस दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । 

यस्ता कार्यहरूमा ह्यूमन रिसोर्स कन्सल्टेन्सी, इजाजतवाला मेनपावर, मेनपावरका प्रतिनिधि बताउने तथा युएईस्थित ससाना कम्पनीका सञ्चालक र एजेन्ट समेत संलग्न रहेको बुझिएको दूतावासको भनाइ छ । यसरी अनधिकृत रूपमा विभिन्न षडयन्त्र तथा जालझेलबाट हुने ठगी तथा आर्थिक शोषणबाट बच्न युएईको कुनै पनि कम्पनीमा काम गर्न आउनु भन्दा अघि कम्पनीको बारेमा तथा कम्पनीले उपलब्ध गराउने तलब तथा सेवा सुविधाबारे राम्रोसँग बुझेर मात्र आउन दूतावासले आग्रह गरेको छ । साथै भिजिट भिसामा आउनु भन्दा अघि सो सम्बन्धी आधारभूत कुराहरूबारे स्पष्टसँग जानकारी प्राप्त गर्ने, भिजिट भिसामा वा श्रम स्वीकृति लिएर आएका व्यक्तिहरूले युरोपका विभिन्न मुलुकहरू तथा अमेरिका लगायतका अन्य राष्ट्रमा रोजगारीका लागि जाने विषयमा विद्यमान कानुन विपरीत व्यवस्था हुने भएकोले आधिकारिक निकायबाट सूचना तथा वास्तविकता बुझेर मात्र आफ्नो भिसा प्रोसेसिङ गर्न र आर्थिक कारोबार गर्दा बैंकिङ च्यानलमात्र प्रयोग गर्न दूतावासले सम्बन्धित सबैलाई जानकारी गराएको छ । अन्यथा कुनै समस्या परि श्रम शोषण, शारीरिक समस्या तथा अनधिकृत माध्यमबाट आर्थिक कारोबार गरी जोखिममा परेको खण्डमा व्यक्ति स्वयम् जिम्मेवार हुने ब्यहोरा समेत दूतावासले सम्बन्धित सबैलाई सूचित गरेको छ । 

उसो त  यूएईमा बसेर अन्य तेस्रो मुलुकमा पठाउने भन्दै ठगी गर्ने धन्दामा संलग्नलाई प्रहरीले पक्राउसमेत गर्न थालेको छ । क्यानडा, पोल्यान्ड, माल्टालगायतको भिसा लगाइदिन्छु भन्दै बग्नेमध्येका जना मुकेश सापकोटा लगायतलाई प्रहरीले पक्राउ गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले जानकारी दिए ।  उनले उनीहरूबाट ठगीमा कोही परेको भए रिपोर्ट लेखाउन पनि अनुरोध गरेका छन् । उनले आफूहरू दुबईमा बसेर ठगीमा संलग्नमाथि निर्मम रूपमा प्रस्तुत भइरहेको भन्दै अरू ठगीमा संलग्नहरू पनि क्रमशः पक्राउ पर्ने बताए । युएईमा ब्लु ओसियन कन्सल्टेन्सी, क्यान एक्सिस इमिग्रेसन, विजार्ड इमिग्रेसन,  सिआस ग्रुप,  ट्रीनिटी कन्सल्टेन्ट,  युरो ड्रीम्स,  प्यारागोन इमिग्रेसन, ग्लोबल एजेन्सी,  जबसाइडर इमिग्रेसन,  फ्लाइ भिसा इमिग्रेसन,  एक्युना कन्सल्टेन्सी, बि एच आर कन्सल्टेन्सी, बेस्ट भिजन कन्सल्टेन्सी, सेन्चुरी गल्फ ओभरसिज लगायतले विकसित मुलुकमा नेपालीलाई पठाउने नाममा यस्तो धन्दा गर्दै आएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप