बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
बंगलादेशमा प्रदर्शन

बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन : नेपाली विद्यार्थीहरू सुरक्षित तर त्रसित

होस्टल बाहिर जान रोक
बुधबार, ०२ साउन २०८१, २० : ०८
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । बंगलादेशमा आरक्षणविरोधी प्रदर्शन हिंसात्मक बनेको छ । प्रदर्शन चर्किएपछि ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफू बसेको स्थानबाट बाहिर ननिस्कनसचेत गराएको छ ।

विरोध प्रदर्शनमा हालसम्म ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रदर्शन हिंसात्मक बन्दै गएको तथा बंगलादेशी विद्यार्थीहरू नै आन्दोलनमा होमिएपछि त्यहाँ रहेका विदेशी विद्यार्थी त्रसित बनेका हुन् ।

बंगलादेशका कलेजहरूले विदेशी विद्यार्थीबाहेक स्थानीयलाई होस्टेल खाली गरेर आफ्नो घर जान निर्देशन दिएका छन् । विदेशी विद्यार्थीहरूलाई भने होस्टेल बाहिर जान रोक लगाएका छन् ।

बंगलादेशको राजधानी ढाकामा रहेका मेडिकल कलेजहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू होस्टेलमा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् । त्यस्तै ढाकाबाट टाढा रहेको चिट्टगाउँ मेडिकल कलेज आसपास हिंसा भड्किएको छ । उक्त कलेजमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी कृष्टी ऐरले आफूहरूलाई होस्टेलभित्रै बस्न भनिएको बताइन् ।

‘हाम्रो होस्टेलमा अहिलेसम्म केही भएको छैन । हिजोसम्म स्थानीय विद्यार्थी पनि यहीँ थिए । दिनभर र्‍यालीमा गएका उनीहरू राति होस्टेलमै आए । पछि म्याडमले स्थानीयलाई होस्टेल छोड्न आदेश दिनुभयो । अहिले स्थानीय विद्यार्थी घर गएका छन्,’ उनले भनिन् ।

WhatsApp Image 2024-07-17 at 2.17.19 PM

कृष्टीका अनुसार होस्टेलमा १५ जना नेपाली विद्यार्थी बस्दै आएका छन् भने उक्त मेडिकल कलेजमा ५० जना जति विदेशी विद्यार्थी अध्ययनरत छन् ।

सो कलेज नजिकैको एक प्राइभेट मेडिकल कलेजमा भने ३० जना जति नेपाली विद्यार्थी छन् । उनीहरू बढी जोखिममा रहेको उनको भनाइ छ । उनीहरू पढ्ने कलेज नजिकै तीन जनाको हत्या भएको थियो । जसले गर्दा उक्त क्षेत्रमा हिंसा भड्किरहेको उनको भनाइ छ ।

‘अहिलेसम्म होस्टेलभित्रै बस्नु भनेको छ । अवस्था जटिल भएमा तपाईंहरूको दूतावासमा सम्पर्क गरेर नेपाल फर्किनुपर्ने पनि हुन सक्छ भनेका छन्,’ उनले भनिन् ।

bangladesh protest

आन्दोलन हिंसात्मक बन्दै गएपछि मेडिकल कलेजका प्रिन्सिपलले विद्यार्थीहरू बस्ने क्षेत्रलाई प्रहरीको जिम्मा लगाएको उनको भनाइ छ ।

‘हाम्रो होस्टेलमा वार्डेन पनि घर गइसकेका छन् । एक जना म्याममात्रै हुनुहुन्छ । खाना आफैँ पकाएर खाने भएकाले केही दिनलाई त खान पुग्छ । अनिश्चितकालीन समयका लागि बन्द भएकाले के हुन्छ भन्न सकिने अवस्था छैन,’ कृष्टीले भनिन् ।

ढाकास्थित सलिमुल्लाह मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी पुस्कर सुवेदीले आफ्नो कलेज क्षेत्रमा त्यति धेरै समस्या नरहेको बताए । आफ्नो कलेज तथा होस्टेल सुरक्षा निकायको वरिपरि नै रहेकाले हालसम्म त्यति धेरै जोखिममा रहेको उनको भनाइ छ ।

WhatsApp Image 2024-07-17 at 2.20.35 PM

‘सलिमुल्लाह मेडिकल कलेज र सहिद सुर्हवार्ड मेडिकल कलेज सुरक्षित नै छ । विदेशी विद्यार्थीलाई होस्टेलमै बस्नु भनेको छ,’ सुवेदीले भने, ‘हाम्रो बाहेक अन्य कलेजमा भने विद्यार्थीहरूलाई होस्टेल खाली गर्नु भनेको छ । हाम्रो चाहिँ स्थानीय विद्यार्थीलाई होस्टेल खाली गरेर घर पठाएको छ ।’

उक्त कलेजमा अन्दाजी २० जना नेपाली विद्यार्थी अध्ययनरत छन् । ती दुई वटा कलेज बाहेक अन्यमा भने मंगलबार नै सबै विद्यार्थीलाई होस्टेल खाली गर्न निर्देशन दिएको र पढाइसमेत बन्द भएको उनको भनाइ छ ।

त्यस्तै ढाकाकै राजसाही मेडिकल कलेजका नेपाली विद्यार्थी रोहित बानियाले बाहिर आन्दोलन चलिरहे पनि त्यस्तो जोखिम नरहेको बताए । ‘आन्दोलन भइरहेको छ । तर, अहिलेसम्म अप्रिय घटना भएको छैन । हामी बस्ने ठाउँमा सबै गरेर ८ जना जति नेपाली विद्यार्थी छौँ । विदेशी विद्यार्थीहरू त ३० जनाभन्दा बढी होलान् । हामीलाई अहिलेसम्म त्यति धेरै जोखिम छैन । जोखिम नभए पनि निकै डर लागिरहेको छ,’ उनले भने ।

qf89bp_bangladesh-student-protest_625x300_16_July_24

बंगलादेशमा रोजगारीमा आरक्षणको विरोधमा भइरहेको प्रदर्शनमा विद्यार्थीहरू नै परिचालन भएका छन् । जसले गर्दा विदेशी विद्यार्थीहरू समेत जोखिममा परेका हुन् ।

प्रदर्शनपछि देशभरका विद्यालय र विश्वविद्यालय अर्को आदेश नभएसम्मका लागि बन्द गरिएको छ । बंगलादेशमा देशको स्वतन्त्रताका लागि लडेका योद्धाका छोराछोरीलाई सरकारी जागिरमा आरक्षण दिइएको छ । सन् १९७१ मा बंगलादेश स्वतन्त्रता सङ्ग्रामपछि पाकिस्तानबाट अलग भएको थियो ।

आलोचकहरूले यो आरक्षण प्रणालीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने समूहका सन्तानहरूलाई अनुचित रूपमा फाइदा पुर्‍याउने आरोप लगाउँदै आएका छन् ।

शेख हसिना जनवरी महिनामा सम्पन्न निर्वाचनमा विजयी भएकी थिइन् । उनी लगातार चौथो पटक विजयी भएकी हुन् । उनी बंगलादेशका संस्थापक नेता शेख मुजिबुर रहमानकी छोरी हुन् । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको यो व्यवस्थाविरुद्ध केही दिनदेखि विरोध प्रदर्शन भइरहेको छ ।

केही सातासम्म चलेको विरोधपछि सन् २०१८ देखि यो भर्ना प्रणालीमा प्रतिबन्ध लगाइएको थियो । गत महिनामात्र अदालतले यो आरक्षण प्रणाली पुनर्स्थापित गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप