बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
पार्टी विभाजन

विभाजनको चक्रव्यूहमा साना वाम दल

बुधबार, ०२ साउन २०८१, १९ : ४६
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । पार्टी एकता भएको एक वर्ष ५ महिनामा मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी विभाजन भएको छ । मंगलबार नेता धर्मेन्द्र बास्तोलाले विज्ञप्ति जारी गर्दै एकता प्रक्रिया असफल भएको घोषणा गरेका थिए ।

२०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र विप्लवबाट अलग भएको नेकपा (बहुमत) बिचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको थियो । गत असार ११ देखि १६ गतेसम्म बसेको दोस्रो पूर्ण बैठकमा बास्तोलाले राजनीतिक कार्यदिशाबारे असहमति राखेका थिए ।

‘दुई वर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशीलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ’, बास्तोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता हुकुमबहादुर सिंहले बास्तोलामा विप्लवको राजनीतिक धङधङी बाँकी नै रहेकाले समस्या आएको बताए । ‘उहाँ (बास्तोला) सुरुदेखि नै वैज्ञानिक समाजवादी कार्यदिशा अवलम्बन गर्न दबाब दिँदै आउनुभएको थियो । त्यसमा बहुसङ्ख्यक सदस्य सहमत हुन सक्नुभएन । यद्यपि यस विषयलाई महाधिवेशनमा लगेर टुङ्ग्याउन सकिन्थ्यो । उहाँले त्यो बाटो रोज्नुभएन’, विवादबारे सिंहले भने । 

२०८१ वैशाख १९ गते नेकपा मशालबाट अलग्गिएको सन्तबहादुर नेपाली नेतृत्वको समूहसँग एकता गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन भएको थियो । कात्तिकको पहिलो साता क्रान्तिकारी कम्युनिस्ट पार्टीले एकता महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । महाधिवेशनको मुखैमा पार्टी विभाजन भएपछि पछिल्लो निर्णय फिर्ता लिन संयोजक वैद्यले आग्रह गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ ।’

विभाजनबाट कम्युनिस्ट पार्टीमात्र होइन, अन्य साना वाम दलमा समेत विभाजन र एकता हुँदै आएको छ । २०६९ साल असारमा मूल पार्टी एकीकृत नेकपा माओवादीबाट अलग भएका वैद्यको पार्टी टुक्रैटुक्रामा विभाजन भइसकेको छ । 

यता वैद्यबाटै छुट्टिएर बनेको विप्लव नेतृत्वको नेकपा २०७९ वैशाख १४ गते विभाजित भएको थियो । महासचिव विप्लवले पार्टीहित विपरीत काम गरेको आरोप लगाउँदै बास्तोलासहित हेमन्तप्रसाद ओलीलाई कारबाही गरेपछि नेकपा विभाजन भएको थियो ।

कारबाहीपछि पार्टी पुनर्गठन गरी बास्तोलाले २०७९ वैशाख २६ गते नेकपा (बहुमत) समूह गठन गरेका थिए । विप्लवले एकीकृत क्रान्तिलाई थाँती राखी संसदीय निर्वाचनमा भाग लिने तात्कालीन कार्यनीति अघिसारेपछि बास्तोलाले विद्रोह गरेका थिए ।

२०७२ सालमा वैद्यसँग छुट्टिएर एकीकृत क्रान्ति गरेका विप्लव अन्ततः क्रान्ति असफल भएपछि २०७६ फागुनमा सरकारसँग ३ बुँदे सहमति गरी शान्ति प्रक्रियामा आएका थिए । अहिले समाजवादी मोर्चाका संयोजक रहेका उनी माओवादी केन्द्रसँग पार्टी एकता गर्ने तयारीमा छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टीजस्तै मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल पटकपटक विभाजन भएको छ । २०७८ मंसिर १० गते मसालबाट छुट्टिएर सन्तबहादुर नेपालीले नेकपा मसाल समन्वय समिति बनाएका थिए । पार्टी नीति, सिद्धान्त र विचार विपरीत गएको भन्दै महामन्त्री सिंहले तत्कालीन राष्ट्रिय जनमोर्चाका महासचिव नेपालीलाई कारबाही गरेका थिए । नेपाली अहिले वैद्यकै पार्टीमा छन् ।

टुटफुट र विभाजनबाट बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टी (नेसपा)समेत अछुतो रहेन । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्ने विषयमा अध्यक्षद्वय भट्टराई र महिन्द्र राय यादवबिच विवाद उत्कर्षमा पुगेको थियो । गत चैत ४ गते प्रधानमन्त्री निवास बालुवाटारमा भट्टराईलाई बाइपास गरी यादव समूहले पार्टी एकता गर्ने ४ बुँदे सहमति गरेपछि पार्टी विभाजन भयो ।

पार्टी विभाजनपछि भट्टराईले माओवादीसँग एकता भङ्ग गर्दै माघमा महाधिवेशन गर्ने निर्णय गरेका छन् । यादव समूह समाजवादी मोर्चामा सक्रिय छ । यो समूह पनि माओवादीसँग एकता गर्ने प्रक्रियामै छ ।

कम्युनिस्ट स्थापनाको ७५ वर्षको इतिहासमा कार्यनीति, कार्यदिशा, विचार र सिद्धान्तलाई लिएर सधैँ विवाद हुँदै आएको छ । वास्तवमा वैचारिक र सैद्धान्तिक पक्षभन्दा पनि व्यक्तिगत तथा गुटगत स्वार्थका कारण पटकपटक पार्टी विभाजन भएको देखिन्छ । विभाजनको चक्रव्यूहमा ठुला वामपन्थीमात्र होइन, साना वाम दलहरू समेत फसेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप