शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्वस्थ सहरका लागि साइकल जात्राको आयोजना हुँदै

बुधबार, ०२ साउन २०८१, १८ : २९
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । सहरलाई स्वस्थ र स्मार्ट बनाउनका लागि साइकल जात्रा ‘कोरा २०२४’ आयोजना हुने भएको छ । करिब चार हजार साइकलयात्री सहभागी हुने ‘कोरा २०२४’ को १४ औँ संस्करण हो । 

सहरलाई स्वास्थ्य बनाउन साइकलको प्रयोग गर्नुपर्ने वातावरणविद् भुषण तुलाधारले बताए । ‘उपत्यकाको प्रदूषण अधिकांश सवारी सधानको प्रयोगले भएको छ,’ उनले भने, ‘साइकल संस्कृति प्रवर्द्धन गर्न सके हावाको प्रदूषण घट्ने र सहर स्वस्थ हुने देखिन्छ ।’

साउन ५ गते देशकै ठुलो साइकल जात्रा गर्न लागेको आयोजकले जनाएको छ । 

सन् २०११ मा ३५ जनाबाट सुरु भएको काठमाडौँको कोरा साइकल यात्रा हरेक वर्ष पाटनको मंगलबजारबाट सुरु भएर काठमाडौँ उपत्यकाको एक फन्को लगाएर पाटनको नागबाहालमा अन्त हुने गर्छ । साइकल यात्रीहरूले यस क्रममा आफ्नो इच्छा अनुसार ५० किलोमिटर, ७५ किलोमिटर, १०० किलोमिटर वा १४० किलोमिटरको यात्रा तय गर्ने छन् । 

हरेक वर्ष जुलाई महिनाको तेस्रो शनिबार आयोजना हुने कोरामा यो वर्षको काठमाडौँ कोरामा ललितपुर महानगरपालिका पनि सह– आयोजकको रूपमा सहभागी भएको छ ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई स्मार्ट सिटी बनाउने र यसको लागि नगरवासीहरुले साइकल चढ्न सक्ने वातावरण बनाइ साइकल संस्कृतिको विकास गर्न आवश्यक रहेको बताए । ‘हामीले ललितपुरमा साइकल प्रवर्धन गर्न साइकल लेन र साइकल स्टेन्ड बनाउने,  महिला साइकल यात्रीहरुलाई सहयोग गर्ने काम गरिरहेका छौँ’ उनले भने, ‘कोरा जस्ता स्थानीय प्रयासहरूसँगको सहकार्यले यस अभियानलाई थप टेवा दिने छ ।’

साइकल संस्कृतिको विकास गर्न महिला, बालबालिका लगायत समाजका सबै वर्गलाई समेत समावेश गर्न आवश्यक भएकाले कोराले महिला सहभागिता बढाउन विशेष प्रयास गर्दै आइरहेको छ । 

कोरा आयोजनाको मूल उद्देश्य देशभरि नै साइकलिस्ट समुदायहरू विकास गरी साइकल संस्कृतिको प्रवर्धन गर्नु रहेको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप