सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय
सेयर बजार संवाद

‘सेयर लगानीकर्ताको आत्मविश्वास बढेको छ, यसअघिको उच्च बिन्दुको कीर्तिमान तोडिन सक्छ’

सेयर बजारमैत्री अर्थमन्त्री आउनुभएको छ : ताराप्रसाद फुल्लेल
बुधबार, ०२ साउन २०८१

दुई ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता साझेदारी गर्ने सम्झौता गरे यता सेयर बजार निरन्तरजसो बढिरहेको छ । सेयर बजारसँग जानकार र नजिक रहेका लगानीकर्ता अहिले सुरु भएको सेयर बजारको उकालो यात्रा लामो समय चल्ने र यसअघिको उच्च बिन्दु (३१९८) को कीर्तिमान तोडिने आकलन गर्न थालेका छन् ।

असार १७ गते यताका सबै कारोबार दिनमध्ये जम्मा २ दिन बजार घटेको छ । दैनिक कारोबार रकम पनि औसतमा ३ अर्बदेखि ४ अर्बबाट ९ अर्ब रुपैयाँसम्म पुगेको छ । अर्थतन्त्रका अधिकांश (आन्तरिक अर्थतन्त्र, राजस्व सङ्कलनबाहेक) सूचक सकारात्मक स्थितिमा रहँदा अर्थ मन्त्रालयको नेतृत्वमा विष्णुप्रसाद पौडेल आएका छन् । पौडेललाई लगानीकर्ताले रुचाउने अर्थमन्त्रीका रूपमा चिनिन्छ ।

सेयर बजार निरन्तर बढिरहेको समयमा सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • सेयर बजार बढ्न थालेपछि ‘प्रोफिट बुक’मा व्यस्त हुनुहोला, हैन त  ?

सेयर बजारमा लागेपछि ‘प्रोफिट बुक’ र ‘स्टप लस’ गर्नै प¥यो । बजार घट्ने सङ्केत मिलेपछि ‘स्टप लस’ र बढ्न थालेपछि ‘प्रोफिट बुक’ गरिन्छ नै । यतिबेला बजारलाई आफ्नो सम्पूर्ण ध्यान दिएको छु । यतिबेला प्रोर्टफोलियोलाई इन्भेष्टमेन्ट र ट्रेडिङलाई ५०–५० प्रतिशतका दरले व्यवस्थापन गरेको छु ।

  • यतिबेला सेयर लगानीकर्तामा एक खालको उमङ्ग आएको छ । अर्थ मन्त्रालयको नेतृत्वमा विष्णु पौडेल आउनासाथ किन बजार यसरी बढ्छ ?

अर्थ मन्त्रालयको नेतृत्वमा विष्णु पौडेल आउँदा लगानीकर्तामा खुसी छाउँछ । यसअघिको ‘अल टाइम हाइ’ पनि उहाँकै नेतृत्वको बेलामा हो । यतिबेला सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ । यस्तै दुई ठुला दल मिलेर गठबन्धन सरकार बनाएका छन् । यसबाट बजारमा उत्साहपूर्ण माहौल बनेको छ । हामीले ३ वर्ष घट्दो बजारलाई सह्यौँ । त्यो समयमा कमजोर राजनीतिक दलको नेतृत्वमा सरकार चलेको थियो ।

विष्णु पौडेलले राम्रो काम गर्न नसके पनि नराम्रो काम गर्नुहुन्न भन्ने आत्मविश्वास लगानीकर्तामा छ । सोही कारण बजार उकालो यात्रामा छ ।

  • यतिबेला दुई वटा ठुला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । तर यतिमात्रै कारणले बजार बढेको नहुन सक्छ । तर पनि अब सरकार ढल्दैन भनेर ठोकुवा त गर्न सकिँदैन नि ?

विगतका वर्षमा बनेको सरकार जोड–घटाउमा आधारित थियो । त्यतिबेला पहिलो र दोस्रो ठुला दल पालैपालो बाहिर बस्ने अवस्था थियो । त्यस्तो अवस्था राजनीति र अर्थतन्त्र दुवै पक्षमा राम्रो थिएन ।

दुई ठुला दल मिलेपछि स्थायी सरकार पाइएको छ । अब यो बलियो सरकारले गर्ने काम त्यही अनुरुप हुन्छन् भन्ने लगानीकर्ताको अपेक्षा छ । यससँगै विस्तारै अर्थतन्त्र चलायमान बन्ने र सबै पक्ष सकारात्मक ढङ्गले अघि बढ्ने र यससँगै सेयर बजार बढ्दै जाने अपेक्षा छ ।

  • अहिले निरन्तर सेयर बजार परिसूचक बढिरहेको छ । यही गतिमा परिसूचक बढ्दै गयो भने कतिसम्म पुग्न सक्छ ? तपाईंको आकलन कति छ ?

इन्डेक्सबारे प्रक्षेपण नै गर्न मैले मिल्दैन । सार्वजनिक रूपमा प्रक्षेपण गर्दा भावी दिनमा विवादित बन्ने सम्भावना हुन्छ । यद्यपि यतिबेला सेयर बजार बढ्न उत्तम समय छ । यतिबेला अर्थ मन्त्रालयमा विष्णु पौडेल र राष्ट्र बैंकको गर्भनरमा महाप्रसाद अधिकारी हुनुहुन्छ । उहाँहरूले आफूहरूको ट्यूनिङ मिल्ने बताइसक्नु भएको छ । फेरि दुई दलबिचको आपसी झमेलाका कारण सरकार तलमाथि भएन भने यसअघिको ‘अल टाइम हाइ’ कीर्तिमान तोडिन सक्छ । यसमा समय निश्चित गर्न सकिँदैन । किनकि बजार समय–समयमा करेक्सन हुँदै अघि जान्छ । यतिबेला लगानी गर्ने समय हो ।

  • यतिबेला सेयर बजारका लागि नेपालको राजनीतिसँगै सबै पक्ष सकारात्मक छन् । यसलाई ‘बुलिस ट्रेन्ड’ सुरु भएको भन्न मिल्छ ?

पक्कै पनि मिल्छ । यसलाई बुलिस ट्रेन्ड नै भन्न मिल्छ । यसमा राजनीतिक परिघटनाको राम्रो साथ छ । राजनीतिमा हुने हलचलका कारण सेयर बजार प्रभावित बन्छ नै । विगतदेखि नै नेपालमा राजनीतिसँग जोडिएर बजार चल्ने परिपाटी छ । यो परिपाटी गलत हो, बजार राजनीतिबाट स्वतन्त्र हुनुपर्ने हो ।

यतिबेला सरकारको नेतृत्वमा रहनुभएका व्यक्तिहरूले बजारलाई नकारात्मक प्रभावित पार्ने कदम चाल्ने देखिँदैन । यहीकारण बजार बढ्छ नै ।

  • सेयर बजारमा तपाईंको लामो अनुभव छ । यो अनुभवले के भन्छ ? बजार लगातार बढ्दै जाने हो अब ?

यतिबेला सेयर बजार बढ्नका लागि चाहिने सबै सूचक सकारात्मक छन् । तर निरन्तर बढेको बढ्यै भन्ने हुँदैन । समय–समयमा करेक्सन बजारले खोज्छ नै । इन्ट्रा–डे करेक्सन नै देख्न पनि सकिन्छ । यसबिचमा घाटा न्यूनीकरण र नाफा निश्चित गर्दै अघि बढ्न सकिन्छ ।

  • यसअघिको उच्च बिन्दुलाई नै छाड्न सक्ने यहाँले बताउनुभयो । यसका आधार के हुन् ?

यसअघिको इतिहास हेर्दा बजार साढे ३ वर्ष घट्ने र साढे ३ वर्ष बढ्ने साइकल देखिँदै आएको थियो । सेयर बजार घट्न थालेको ३ वर्ष भइसकेको छ । अब बजार बढ्ने समय नै आइसकेको हो । कोरोना महामारी र रुस–युक्रेन युद्धका कारण अर्थतन्त्रमा आएको समस्या अब विस्तारै घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । बैंकहरूमा तरलता पर्याप्त छ । सबैजसो आर्थिक सूचक सही अवस्थामा छन् ।

  • अर्थतन्त्रका केही सूचक सकारात्मक स्थितिमा रहे पनि आन्तरिक अर्थतन्त्र चलायमान बन्न सकेको छैन । यतिबेला विष्णु पौडेल अर्थ मन्त्रालयमा आउनुबाहेक ठोस आधार के हो ? अन्य सूचक त पहिला पनि सुधारात्मक स्थितिमा थिए नि ?

११ महिनाको अवधिमा धेरै विदेशी पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ । जलविद्युतको उत्पादन बढेर वर्षा याममा आत्मनिर्भर बनेका छौँ र बढी भएको बिजुली बेच्ने सम्झौता भइसक्यो । कृषि क्षेत्र पिछडिए पनि र उद्योग न्यून स्थितिमा चलेको छ । यी क्षेत्रलाई अघि बढाउनका लागि सरकारले नीति बनाउनुपर्ने हो ।

अर्थतन्त्रका सबैजसो सूचक चलायमान बन्दैगर्दा आन्तरिक अर्थतन्त्र नचल्ने भन्ने हुँदैन । अब अर्थतन्त्र चलायमान बनेपछि राजस्व सङ्कलनको स्थिति पनि बढ्दै जानेछ ।

  • यसको अर्थ विगतदेखि नै सबैजसो सूचक सकारात्मक स्थितिमा थिए, अब अर्थ मन्त्रालयमा लगानीकर्ताले चाहेका व्यक्ति पनि आएका कारणले बजार बढ्ने हो ?

यो एउटा संयोग पनि हो । अर्थमन्त्रीज्यूले बजारलाई हेर्ने र बजारले अर्थ मन्त्रालय हेर्ने नजर नै विगतदेखि नै सकारात्मक स्थितिमा छ । अर्थमन्त्रीज्यूले नीतिगत अप्ठ्यारा चिर्दै अघि जाने प्रण गर्नु भएको छ । पदभार ग्रहण गर्दैगर्दा पनि सेयर बजार जुवाघर नभएर अर्थतन्त्रको ऐना हो भन्नुभएको थियो । यसबाहेक सरकार स्थिर हुने देखिन्छ । यसकारण लगानीकर्ता सकारात्मक छन् र आत्मविश्वास फर्किएको देख्न सकिन्छ ।

  • नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको अन्तिम तयारीमा छ । लगानीकर्ताको नजरमा अब कस्तो मौद्रिक नीति आउनुपर्छ ?

अर्थ मन्त्रालयमा जनार्दन शर्मा हुँदा राष्ट्र बैंकको नेतृत्वमा अधिकारीज्यू नै हुनुहुन्थ्यो । सेयर बजारमा लगानीको क्याप लगाउने र ‘रिस्क वेटेज’ घटाउने विषय उठेपछि तत्कालीन अर्थमन्त्री शर्मालाई भेट्न पुगेका थियौँ । त्यसक्रममा उहाँले गर्भनरसँग ब्रिफिङ लिएको र सेयरमा जाने ऋणलाई नियन्त्रण नगरेमा निश्चित व्यक्तिको नियन्त्रणमा जाने देखिएको बताउनुभयो । ठुला लगानीकर्ताको नियन्त्रणमा बजार पुगेमा साना लगानीकर्ता आउन सक्ने देखिएन र सेयरमा प्रवाह हुने ऋणमा क्याप लगाउँदा सबैलाई ‘विन–विन’को अवस्था आउँछ भन्नुभयो ।

हामीले त्यसक्रममा तत्कालीन अर्थमन्त्री शर्मालाई त्यही दिनदेखि सेयर बजार उँधोगतिमा जाने बताएका थियौँ । सेयर बजारमा प्रवाह हुने ऋणमा क्याप लगाउँदा बजार घट्ने निश्चित थियो । यस्तै क्यापको व्यवस्था हुँदासम्म बजार नबढ्ने पनि निश्चित थियो । त्यसपछि मौद्रिक नीतिमार्फत सेयर बजारमा प्रवाह हुने ऋणमा ४–१२ को नीति लिइयो । त्यसपछि बजार निरन्तर घट्दै गयो । यसलाई पछि संशोधन गरेर १५–२० को नीति लिएपछि सामान्य रूपमा बजार बढ्यो ।

नीति निर्माताले सेयर बजारलाई नबुझ्दा लगानीकर्ताले दुःख पाएको विगतको इतिहास छ । सरकारले लिएको ४–१२ को नीतिपछि केही साना लगानीकर्ताले आत्महत्यासमेत गरे । ठुला लगानीकर्ताले बल्लतल्ल व्यवस्थापन गरे पनि सानालाई सहज भएन । अब मौद्रिक नीतिले सेयर बजारमा प्रवाह हुने ऋणमा लगाइएको क्याप हटाउनुपर्छ ।

  • अन्य के–के छन् लगानीकर्ताको अपेक्षा मौद्रिक नीतिमा ?

सुरुमा राष्ट्र बैंकले यसअघि लिएको सेयर ऋणको क्याप नै हटाउनुपर्छ । यसपछि सेयर ऋणमा राखिएको ‘रिस्क वेटेज’ यसअघि १०० नै थियो । अब फेरि १०० मै ल्याउनुपर्छ । सेयर कारोबारमा सहजीकरण गर्नुपर्छ । बैंकको ब्याजदर घटे पनि घट्नुपर्ने जति घटिसकेको छैन । कतिपय बैंकले सिङ्गल डिजिटमै ऋण प्रवाह गर्न थालेका छन् । न्यून प्रिमियममा सेयर बजारमा लगानी गर्नेगरी सहजीकरण गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।

बैंक तथा वित्तीय संस्थाको बाहुल्यता भएको सेयर बजारमा अस्थिर नीति लिनुभएन । राष्ट्र बैंकले लिने नीतिका कारण समग्र बजार प्रभावित बन्छ । यही कारण मौद्रिक नीतिमार्फत स्थिर नीति लिनुपर्छ भन्ने हाम्रो माग र अपेक्षा छ ।

नवनियुक्त अर्थमन्त्रीबाट हामीले स्थिर नीतिको अपेक्षा पनि गरेका छौँ । सेयर बजारबाट लगानीकर्तालाई मात्रै मुनाफा नभएर राज्यलाई पनि हुन्छ । दैनिक अर्बौं रुपैयाँको कारोबार हुँदा राज्यले पनि अर्बौं राजस्व सङ्कलन गर्ने गरेको छ ।

  • तपाईंहरूले सेयर बजारमा लगानीका खुकुलो नीति लिनुपर्छ भनिरहनु भएको छ । तर राज्यका निकायमा बस्ने व्यक्तिहरूलाई यही क्षेत्रमा मात्रै रकम प्रवाह भएपछि उत्पादनमूलक क्षेत्र छायामा पर्ने चिन्ता देखिन्छ नि ?

सेयर बजारमा अहिलेसम्म प्रवाह भएको ऋण ‘डिफल्ट’ भएको छैन । सेयरमा लगानी गर्न पाउने रकमको सीमाभित्र बसेर लगानी गर्न समस्या नपारेको राम्रो हुन्छ । यतिबेला बैंकमा पर्याप्त ऋण छ । बैंकले फोन गरेर हामीलाई ऋणका लागि बोलाइरहेका छन् । तर अस्थिर नीतिका कारणले गर्दा लगानीकर्ता बैंक पुगेर ऋण लिन डराइरहेका छन् । आजको दिनमा खुकुलो नीति नलिएमा बैंकको तरलता बजारमा प्रवाह हुने अपेक्षा नगरेकै राम्रो हुन्छ । हामीले अर्थमन्त्री विष्णु पौडेलसँग अपेक्षा गरेको मूख्य विषय पनि स्थिर नीति नै हो । उहाँले कम्तीमा १ वर्षसम्म टिक्ने नीति बनाउनका लागि सहजीकरण गरिदिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया