मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय
सिमलताल दुर्घटना

आफ्नो पालिकाका दुई जना बेपत्ता भएपछि दैनिकजसो चितवन पुग्छन् अध्यक्ष जैसवाल

बुधबार, ०२ साउन २०८१, १४ : ०४
बुधबार, ०२ साउन २०८१

चितवन । बाराको पर्सौनी गाउँपालिका अध्यक्ष विनोद प्रसाद जैसवालको चितवन आउ–जाउ बढेको छ । कामको सिलसिलाबाहेक अन्य समयमा पालिका नछोड्ने जैसवालले आर्थिक वर्षको अन्त्यतिर कार्यालयको चटारोसमेत छाडेर चितवन आउ–जाउ गरे ।

उनी चितवन आउनुको कारण हो सिमलताल पहिरोमा परी भएको बस दुर्घटना । पहिरोमा परेर बस त्रिशूली नदीमा खसेको दिनदेखि असार ३१ गतेसम्म उनी ४ पटक चितवन पुगे । आफ्नै गाडी चढेर उनी चितवन पुग्छन् । त्यहाँको अवस्था बुझ्छन् अनि फेरि बारा फर्किन्छन् ।

भरतपुर अस्पताल परिसरमा भेटिएका अध्यक्ष जैसवालले आफ्नो गाउँपालिकाका २ जना सो दुर्घटनामा परेर हराएका कारण उनीहरूको अवस्था बुझ्न आफू चितवन आउ–जाउ गरिरहेको बताए ।

उनी प्रहरीबाट शव प्राप्त भएको खबर पाएलगत्तै पर्साबाट चितवन पुग्छन् । गाउँपालिकाका २ जनाको अवस्था बुझ्न र आवश्यक सहजीकरणका लागि आफू चितवन आउने गरेको उनले बताए ।

अध्यक्ष जैसवालका अनुसार बिरामी आफन्त भेट्न काठमाडौँ जाँदै गर्दा पर्सौनी गाउँपालिकाका ताराचन्द प्रसाद पटेल सिमलताल पहिरोमा परे । सिमलताल पहिरोले त्रिशूलीमा खसालेको २ बसमध्ये एन्जल डिलक्समा पटेल सवार थिए ।

पर्सौैनी–१ का पटेल श्रीमती सोगान्धी देवीसहित काठमाडौँ जाँदै थिए । असार २७ मा वीरगंजबाट एन्जल बस चढेका पटेल दम्पती अझै बेपत्ता छन् । मध्यम वर्गीय परिवारका उनीहरूको अवस्था बुझ्न पालिका अध्यक्ष जैसवाल स्वयं चितवन आउने गरेका हुन् ।

‘आफ्ना नागरिकको अवस्था बुझ्नु, उहाँहरूको भावना र समवेदनामा सहभागी हुनु स्थानीय तहको जनप्रतिनिधिको दायित्व र जिम्मेवारी पनि हो,’ अध्यक्ष जैसवालले भने, ‘त्यही अनुसार उहाँहरूको आफन्तलाई सहजीकरणका लागि चितवन आउने–जाने गरेको छु ।’

IMG_8293

आफू गाउँ फर्किंदा पनि प्रहरी र अस्पतालसँग समन्वय गरिरहने उनले बताए । स्थानीय तहको प्रमुख भएकाले विपद्को घडीमा नागरिकको साथमा रहने र अवस्था अनुसार गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने अध्यक्ष जैसवाल बताउँछन् ।

राज्यले घटनापछिको खोज तथा उद्धारमा पर्याप्त पहल नगरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । आफ्नो क्षमता अनुसार सेना र प्रहरीले काम गरे पनि प्रविधि तथा स्रोतको अपर्याप्तताका कारण समस्या भएको उनको भनाइ छ ।

‘सेना र प्रहरीले उर्लिएको त्रिशूलीको पानीभित्र पसेर खोजी गरिरहेका छन्,’ उनले भने, ‘तर देशको क्षमता त्यसभन्दा बढी हुनुपर्ने हो ।’

छिमेकी मुलुकहरूसँग समन्वय गरेर अधिकतम प्रविधि भित्र्याउन पहल गर्नुपर्ने जैसवाल बताउँछन् ।

मधेसबाट यति धेरै मानिस बेपत्ता भएको र मृत फेला परिरहेको अवस्थामा समेत प्रदेश सरकार मौन बसिरहेकोमा पनि उनको गुनासो छ । तत्काल गर्नुपर्ने काममा सरकारको ध्यान पुग्न नसकेको उनले बताए ।

एकै पटक २ वटा बसको यात्री नदीमा खसेर बेपत्ता हुँदा राष्ट्रिय शोककै परिस्थिति भए पनि त्यस अनुसार राज्यले उत्तरदायित्व नलिएको जैसवालको भनाइ छ । सरकारले उच्चस्तरको विज्ञ र गोताखोरहरू ल्याएर खोजी गर्नुपर्ने उनले बताए ।

‘जनप्रतिनिधि भनेको नागरिकको दुःख साट्ने व्यक्ति हो । तर, पदमा पुगेपछि सबैले आफ्नो दायित्व बिर्सिने रहेछन्,’ अध्यक्ष जैसवालले भने, ‘सरकारमा रहेका व्यक्ति आएर खोजिदिने होइन । तर, आएको भए नागरिकप्रतिको अपनत्व देखिन्थ्यो । नागरिकले आफ्नो जनप्रतिनिधिको महसुस गर्न पाउँथे । मैले भोट दिएको मान्छे मलाई दुःख पर्दा आएर भेट्यो भन्ने हुन्थ्यो ।’

यस्ता घटनामा पीडित र प्रभावितको पक्षमा रहेर  सरकारले उनीहरूलाई अभिभावकत्व प्रदान गर्नुपर्ने अध्यक्ष जैसवालले बताए । उनका अनुसार उक्त दुर्घटनामा मधेसका बारा, पर्सा र रौतहट जिल्लाले मानवीय क्षति बढी बेहोरेका छन् । यस्तो अवस्थामा प्रदेशका मुख्यमन्त्रीले समन्वयका लागि संघीय सरकारलाई पत्राचार गर्नुपर्ने उनको भनाइ छ । राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरको ध्यान खिच्ने यो दुर्घटनाका बारेमा मधेस प्रदेश सरकारले समयमै ठोस निर्णय गर्न नसकेको उनले बताए । ‘घटना भएको ४÷५ दिनसम्म कुनै समवेदना समेत प्रकट नहुन दुःखद् विषय हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप