सत्ताको खेलमा लाग्दा कांग्रेसको आन्तरिक गतिविधि अवरुद्ध
काठमाडौँ । सत्ताको खेलमा व्यस्त हुँदा नेपाली कांग्रेसको आन्तरिक गतिविधि प्रभावित भएको छ । गत असार मसान्तसम्म पार्टीका सबै निकायलाई पूर्णता दिने कांग्रेसको तयारी थियो । असार १७ मा एमालेसँग सत्ता सहकार्यको सम्झौता भएपछि कांग्रेसका आन्तरिक काम प्रभावित भएका हुन् ।
असार अन्तिममा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस १० मन्त्रीसहित सहभागी भएको छ । कांग्रेस सत्ताको खेलमा व्यस्त हुँदा असार अन्तिम साता बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक अनिश्चित छ ।
पार्टीका सबै निकायलाई पूर्णता लिन गृहकार्यमा रहेका सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता रमेश लेखकले गृहकार्य गरेका थिए । असार अन्तिम साता केन्द्रीय समिति बैठक राखेर सोही अनुसार पार्टीको आन्तरिक कामलाई अगाडि बढाउने तयारी थियो ।
कांग्रेसमा पार्टीका ७० वटा विभागमध्ये अहिलेसम्म १८ विभागमात्र गठन भएका छन् । पार्टीको प्रचार विभागमात्र सक्रिय देखिन्छ । बाँकी १७ विभागमध्ये केहीमा १० सदस्य मनोनीत गरिएको छ भने केही विभाग प्रमुखकै भरमा छन् ।
विभाग ५२ सदस्यीय रहने व्यवस्था भए पनि सभापति देउवाले प्रचार विभाग बाहेकमा १० जनाभन्दा बढी मनोनीत गरेका छैनन् । १६८ सदस्यीय केन्द्रीय समितिमा २ र ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा ८ जना सदस्य मनोनीत गर्न बाँकी छ ।
१४ सदस्यीय पदाधिकारीमा देउवाले कोषाध्यक्ष मनोनयनमा चासो दिएका छैनन् । सभापति, दुई उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट आए पनि सभापतिले मनोनीत गर्ने कोषाध्यक्ष पद २६ महिनादेखि रिक्त छ ।
महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने व्यवस्था विधानमा छ । सभापति देउवा १४ औँ महाधिवेशनबाट सभापतिमा दोहोरिएको २६ महिना हुँदा पनि विभागसहित पार्टीका विभिन्न निकायले पूर्णता पाउन नसकेको अवस्था छ ।
पार्टीका विभाग, नीति अनुसन्धान प्रतिष्ठान लगायतका निकायलाई पूर्णता दिँदा पार्टीका ३ हजार ५ सयभन्दा बढी नेता–कार्यकर्ताले जिम्मेवारी पाउने अवस्था बन्छ । महाधिवेशनपछि तीन तहको निर्वाचन र सत्ता राजनीतिमा रुमल्लिँदा सभापति देउवाको प्राथमिकतामा पार्टीका निकायलाई पूर्णता दिने कुरा परेको थिएन ।
फागुन २१ मा सत्ता समीकरण भत्किएर प्रतिपक्षमा पुगेपछि पार्टीको नियमित काम कारबाहीमा कांग्रेस केन्द्रित भएको थियो । ७० वटै विभागलाई पूर्णता दिएर पार्टीलाई क्रियाशील बनाएर नयाँ कार्यक्रमका साथ जनतामाझ लैजान चाँडै केन्द्रीय समिति बैठक बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
‘अब चाँडै केन्द्रीय समिति बैठक बस्छौँ । आज दुई जना महामन्त्री र म बसेर छलफल गर्दैछौँ । पार्टीका सबै निकायलाई पूर्णता दिने गृहकार्य गर्छाैं ।’
पार्टीका निकायसँगै भ्रातृ संस्थालाई पनि महाधिवेशन उन्मुख गराउने तयारी भइरहेको उनको भनाइ छ । महाधिवेशन सम्पन्न नगरेका भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्न र गराउन फरक भ्रातृ संघका लागि अधिकार सम्पन्न फरक—फरक निर्देशक समिति गठन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समिति बैठकले गरिसकेको छ ।
नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल दलित संघ, नेपाल लोकतान्त्रिक खेलकुद संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल थारू संघका निर्देशक समितिहरूलाई २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्ने गरी कार्यादेश दिइएको छ ।
साथै संघका तदर्थ कार्यसमितिहरूको समयावधि पनि आगामी चैतसम्मका लागि थपिएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बाहेकका भ्रातृ संस्था महाधिवेशन गराउन असफल भएपछि कांग्रेसले पार्टीका नेतालाई जिम्मेवारी दिएको मुख्यसचिव पौडेलले रातोपाटीलाई बताए ।
उनका अनुसार केन्द्रीय समिति बैठकले महाधिवेशन हुन नसकेका भ्रातृ संस्थाको महाधिवेशन गराउन पार्टी केन्द्रीय सदस्यको नेतृत्वमा ३ सदस्यीय समन्वय समिति बनाइने छ । ‘अब पार्टीका नेताहरूको नेतृत्वमा १० वटै भ्रातृ संगठनका लागि ३–३ सदस्यीय समन्वय समिति बनाउने कुरा भएको छ । उक्त समितिले आगामी चैतभित्र महाधिवेशन गराउँछ,’ पौडेलले भने ।
साथै विदेशस्थित पार्टीका जनसम्पर्क समितिलाई अधिवेशन गराउन निर्देशित गर्ने पौडेलको भनाइ छ । विभिन्न ३६ देशमा कांग्रेसका जनसम्पर्क समिति छन् । गत फागुनमा सम्पन्न महासमिति बैठकबाट पारित नीति, सांगठनिक, समसामयिक राजनीतिक लगायतका प्रतिवेदनमाथि परिमार्जन गर्ने विषयमा गृहकार्य भइरहेको पौडेलले बताए ।
आगामी भदौमा ‘मधेस चलु’ अभियान गर्ने कांग्रेसको तयारी छ । महामन्त्री विश्वप्रकाश शर्माले आगामी केन्द्रीय समिति बैठकबाट मधेस प्रदेशका ८ जिल्ला केन्द्रित ‘मधेस चलु’ अभियान घोषणा हुने बताए । ‘यो अभियान अन्तर्गत पार्टीका शीर्ष नेताहरूलाई मधेसका ८ वटै जिल्ला पठाइने छ । अभियानमा सहिद परिवारको घर–घर पुग्ने कार्यक्रम पनि हुन्छ,’ उनले भने ।
महामन्त्री शर्माका अनुसार अभियानका क्रममा मधेसका विविध विषयमा जनकपुरमा दुई दिन विमर्श कार्यक्रम पनि हुनेछ । साथै भदौ १५ गतेपछि वडा तहसम्मै कार्यक्रम लिएर जाने मुख्यसचिव पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूचनाले लोकतन्त्रलाई बलियो बनाउँछः मन्त्री लामिछाने
-
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण
-
एनआरएनका माग क्रमशः पुरा हुँदै जान्छन् : प्रधानमन्त्री
-
प्रधानमन्त्री कप महिला क्रिकेटको ‘सुपर–४’ समीकरण पुरा
-
पदाधिकारी बैठकअघि विद्यार्थी नेताहरूसँग प्रचण्डको छलफल
-
५ अंकले बढ्यो नेप्से, ६ अर्ब १९ करोडको कारोबार