कांग्रेस-एमालेको सत्ता सहकार्य र राप्रपाको कार्यभार
प्रचण्डको 'उथलपुथल'लाई चुनौती दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्खरै प्रधानमन्त्री पदको शपथ लिएका छन् । ओलीमाथि एउटा आरोप छ-उनी एमालेलाई आफू अनुकूलमा प्रयोग गर्छन् र माओवादी, कांग्रेस या जोसुकैसँग मिलाउन र भत्काउन बेर नै लगाउँदैनन्। उनी सैद्धान्तिक भन्दा पनि सत्ता केन्द्रित राजनीतिका अब्बल खेलाडी हुन्।
यहीबिचमा गत संसदीय निर्वाचन पछि ठुलो दलको रूपमा स्थापित कांग्रेसको समर्थन र उधारो सहमतिमा उनी प्रधानमन्त्री वनेका छन्। नेपाली राजनीतिमा सबैभन्दा कम सहमति पालना गर्ने नेताको रूपमा उनी चिनिन्छन्।
एमाले सहितको समर्थन र अर्को पटक कांग्रेससहितको समर्थनमा प्रधानमन्त्री वनेका प्रचण्ड शासन युगको अन्त्य गर्दै ओलीले नयाँ शासन युग सुरु गरेका छन् ।प्रचण्डको राजनीति अव क्षत-विक्षत भएको छ ।उनी र उनको दल अहिलेको गठबन्धन टिकिरह्यो भने सायद नेपाली राजनीतिमा उपस्थित हुन कठिनप्राय: छ।
समर्थन गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा र समर्थन पाउने ओलीमा तुलनात्मक रूपमा तात्त्विक भिन्नता छैन। हावामा महल खडा गर्ने,आफ्ना विरोधीहरूको व्यक्तिगत तेजोवध गर्ने, आफू बाहेक अरू सबै गलत देख्ने आत्मकेन्द्रित राजनीति ओलीका विशेषता थियो।
ओली लोकतन्त्रको छाता ओढेर फुच्चे जङ्गबहादुरको रूपमा उदाउन खोजेका अलोकतान्त्रिक पात्र हुन्। उनले प्रशासन,अख्तियार,प्रेस सबैलाई नियन्त्रणमा राख्ने प्रयास विगतमा नगरेका हैनन् र फेरि पनि गर्दैनन् भन्ने कुनै विश्वास छैन।
प्रचण्ड हुँदा मासिएका र भत्किएका प्रजातन्त्रका आधारभूत संरचनाहरू ओली हुँदा लिगमा आउने जनताले आसा गरेको भए त्यसमा कुठाराघात हुने निश्चय छ।
किनकि ओली र ओलीलाई समर्थन गर्ने देउवा दुवै देश र जनता भन्दा गुटको राजनीतिका माहिर खेलाडी हुन्।
अहिलेसम्म पाँच पटक प्रधानमन्त्री बनिसकेका देउवा र उनको समर्थनमा यो समेत ४ पटक प्रधानमन्त्री वनेका ओलीले गरेको कामको वर्णन गर्न लायक र योग्य विषय खासै केही छैन।
२०५१ देखि २०५६को अवधिमा सबै भन्दा बढी प्रजातान्त्रिक प्रक्रियामा निर्लज्ज प्रहार गर्दै सत्ताको लागि घृणित कार्य गर्ने देउवा नै हुन्। अघिल्लो कार्यकालमा पनि एमसीसीजस्ता जनविरोधी सम्झौता पास गर्नुका साथै भ्रष्टाचारलाई थप संस्थागत गर्ने काम उनले गरे।
देउवा सरकारले अघिल्लो पटक बजेट बनाउँदा व्यापारी तथा बेसरोकार वालाहरूको प्रत्यक्ष संलग्नता हुनु,अनि अर्बौँको सरकारी बेरुजु उनको त्यो कार्यकालमा सार्वजनिक हुनु संयोग मात्र थिएन।
वास्तवमै ओलीलाई समर्थन गर्ने देउवा र समर्थन पाउने ओली दुवै उस्तै प्रकृतिका व्यक्ति हुन्।
देउवा यस्ता पात्र हुन् जसले नेपाली राजनीतिमा सांसद खरिदबिक्री र सुरा-सुन्दरीको प्रचलन खुलेआम भित्राएका थिए । जतिवेला अपाङ्गलाई वैशाखीको सुविधा थिएन,त्यतिवेला देउवाले सत्ता टिकाउन सासंदहरुलाई पजेरो सुविधा दिएका थिए । देशभित्र मात्र हैन विदेशमा समेत सांसद लुकाएर उनी चर्चामा आए पात्र हुन्।
सत्ता टिकाउन इतिहासमै सबैभन्दा बडी मन्त्री बनाएर सरकारी सम्पत्तिको दोहन गर्ने देउवा चर्चित पात्र हुन् । त्यस्तो पात्रको पूर्ण समर्थनमा प्रधानमन्त्री वनेका ओलीको स्वभाव पनि उस्तै मिल्दोजुल्दो छ। ओली आफू केन्द्रित मात्र राजनीति गर्छन्,दुनियाँको तेजोवध गर्न उनी माहिर छन् । उनले खडा खरेको पानी जहाज,पूर्व पश्चिम रेल,घरघरमा ग्यासको पाइप बहुचर्चित चुट्किला वनेको थियो।
दुई भिन्न राजनैतिक सिद्धान्तका दलहरूको बिचमा सत्ता स्वार्थ गाँसिएका कारण एक भएको कुरालाई राम्ररी बुझ्दा हुन्छ। यो सत्ता प्राप्तिको निमित्त कांग्रेसले लोकतान्त्रिक समाजवाद र एमालेले जनताको बहुदलीय जनवादलाई पोको पारेर थन्काएका छन्।
तसर्थ योभन्दा पहिलेका प्रचण्ड ठिक थिए वा ओली ठिक छन् अथवा देउवा ठिक भन्ने जनतामा खासै चासो देखिँदैन। सङ्घीयताको बोझिलो आर्थिक भारको कारण र अब हुने सत्ता दोहनले ओली कार्यकाल कस्तो होला भन्ने प्रश्न छ।
यो परिस्थिति र समयको हाँकलाई चुनौती दिने एक मात्र दल यतिबेला राप्रपा रहेको छ। राप्रपाले दूरगामी सोचका साथ तत समय नै संविधानलाई चुनौती दिँदै सङ्घीयता,धर्मनिरपेक्षता खारेजीको साथै राजसंस्था पुनर्स्थापनाको माग अगाडि सारेको थियो। आज राप्रपाले उठाएको प्रस्ताव मध्येका एक विषयमा छलफल गर्न सबै दल तयार भएको अवस्था छ।
यद्यपि जकडिएको मुलुकको राजनीतिक अवस्थालाई पार लगाउन राजसंस्था र हिन्दु अधिराज्य स्थापनाको विकल्प छैन। हिन्दु अधिराज्य,राजसंस्थाको स्थापना र सङ्घीयताको खारेजीको सवाललाई साथ दिन तमाम जनता आज तयार छन् र यसलाई निर्णयार्थ आन्दोलन मार्फत जनतामा लाने एक मात्र शक्ति राप्रपाले आन्दोलनको ज्वारभाटा सिर्जना पनि गर्दै छ।
केही यस्ता महत्त्वपूर्ण विषय जससंग राप्रपाको प्राण जोडिएको छ । त्यसलाई स्थापित गर्न राप्रपा सदन र सडक आन्दोलन मार्फत तयारी अवस्थामा छ। वर्तमान सन्दर्भमा राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा देशव्यापी आन्दोलनको ज्वारभाटा सिर्जना गर्नु राप्रपाको मूल कर्तव्य पनि हो। राप्रपाले यो कर्तव्यलाई पालना गर्ने आज उपयुक्त समय पनि आएको छ।
देशव्यापी रूपमा यो मुद्दाको पक्षमा राप्रपाले सडक र सदन आन्दोलन लाई सँगसँगै लानु पर्छ। विगत राप्रपाको पक्षमा नरहे पनि वर्तमान अवस्था राप्रपाको पक्षमा अनुकूल रहेको छ।
तसर्थ सत्ताको गुलियो चास्नीलाई बिर्सिएर आन्दोलन मार्फत राप्रपाले पार्टीको र लाखौँ कार्यकर्ताको भविष्य सुरक्षित गर्नु पर्छ।तसर्थ समयको मागलाई गम्भीरतापूर्वक लिएर राप्रपाले सत्ता होइन आन्दोलनको विकल्प देख्न हुन्न। राप्रपालाई पछाडि फर्कने सुविधा छैन।
पाठक राप्रपाका निर्वाचित केन्द्रीय सदस्य हुन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबुधावीबाट नेपाली श्रमिकलाई सचेतना अभिवृद्धि गराउँदै दूतावास
-
फ्रेडरिक मर्ज जर्मनीको चान्सलर बन्ने प्रबल संभावना
-
बुण्डेस लिगामा बायर्नको शानदार जित
-
ला लिगा : लयमा फर्कियो रियाल मड्रिड, बार्सिलोना गोल अन्तरले अगाडि
-
प्रिमियर लिगमा लिभरपुलको सहज जित, घरेलु मैदानमै हार्यो म्यान्सिटी
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना