आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
सिमलताल दुर्घटना

दाजुको शव घरमा पुर्‍याएर भाउजूको अवस्था बुझ्न फेरि चितवन फर्किए हुसेन

बुधबार, ०२ साउन २०८१, ११ : ५६
बुधबार, ०२ साउन २०८१

चितवन । भारतको विहार घर भएका मेराज हुसेन अन्सारी शोकमा छन् । चितवनको सिमलताल बस दुर्घटनामा उनका दाजु–भाउजू नै परेका थिए । दाजु सजाद अन्सारीको मृत्यु भएको छ भने भाउजू अझै बेपत्ता छिन् ।

सजाद अन्सारी काठमाडौँमा बसेर ठेकेदारी पेसा गर्थे । फलाम वेल्डिङको काम गर्ने ३० वर्षका अन्सारी श्रीमतीसहित केही वर्ष अघिदेखि काठमाडौँमा बस्दै आएका थिए । विहारको बेतिया मझेलियाका अन्सारी इद मनाउन घर गएका थिए । बकर इद सकेर परिवारसँग बिदा लिइ असार २७ मा उनी वीरगंजबाट काठमाडौँका लागि बस चढे ।

श्रीमती सलमा खातुनका साथ काठमाडौँ गन्तव्य लिएर उनी वीरगंजबाट राति ८ बजे बस चढेका थिए । ६ वर्ष अघिमात्र विवाह बन्धनमा बाँधिएका उनको सन्तान भने छैनन् । सामान्य परिवारका अन्सारी आर्थिक अवस्था सुधार गरेरमात्र सन्तान जन्माउने योजनामा थिए ।

आर्थिक अवस्था सुधार्नकै लागि देश छाडेका अन्सारीले कर्मथलो आउने क्रममा ज्यान गुमाएका हुन् । २८ गते बिहान काठमाडौं पुग्ने अन्सारीको लक्ष्यलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोले मृत्युको मुखतिर मोडिदियो ।

simaltal-pahiro

उनी चढेको एन्जल डिलक्स (बागमती प्रदेश ०३–००६ ख १५१६) बस पहिरोमा परेर त्रिशूली नदीमा खस्यो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा असार २८ गते बिहान २ः३० बजेको समयमा लेदोसहितको पहिरोले उनी सवार एन्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स बसलाई त्रिशूलीमा मिसाएको थियो ।

अघिल्लो साँझ काठमाडौँ हिँडेका दाजु भाउजूको खबर बिहानसम्म खबर नआएपछि भाइ मेराज हुसेनसहित परिवारका सदस्यले फोन सम्पर्कको प्रयास गरे । तर फोन सम्पर्क हुन सकेन । अन्ततः बसपार्कको टिकट काउण्टरमा फोन गरेपछि परिवारले बस दुर्घटनामा परेको थाहा पाए ।

दुर्घटना भएको दुई दिनपछि अन्सारीको शव घटनास्थलबाट करिब ४० किलोमिटर दक्षिणतर्फ नारायणी नदी किनारमा भेटियो । असार ३० गते गैडाकोट–७ गैरीमा भेटिएको उनको शवलाई भाइ मेराज हुसेनले सोही दिन सनाखत गरेका थिए ।

सनाखतपछि दाजुको शव लिएर भारत गएका हुसेन भाउजूको खोजीमा फेरि चितवन फर्किएका छन् । उनको अबको काम भनेको भाउजूको अवस्था बुझ्नु हो । उनको भाउजूको अवस्था अझै अज्ञात छ ।

psotmatam-house

व्यवसाय गरेर गुजारा गर्दै आएको अन्सारी आर्थिक रूपले केही कमजोर भए पनि जीवन चलाउन समस्या भने नरहेको हुसेन बताउँछन् । अन्सारीका घरमा आमाबुबा सहित ४ दाजुभाइ छन् । सुरुमा अन्सारीका बुबा पनि चितवन आएका थिए । तर दुई दिनपछि बुबा भने आफ्नै घर फर्किसकेका छन् । अहिले हुसेनको साथमा अर्का दाजु छन् । उनीहरूसँग अन्सारीकी पत्नी सलमाको अवस्था बुझ्न दिनरात प्रतीक्षा गर्नुबाहेक विकल्प छैन ।

हुसेनले भने, ‘घटना भएदेखि नै प्रहरीले बस खोजीकार्य गरिरहेको छ । प्रविधिको प्रयोग पनि गरिएको छ । अब भाउजू जीवित पाउने आशा छैन । घटनाको २ दिनमा दाजुको शव भेटियो । भाउजू हराएको त ७ दिन भइसक्यो । शव फेला परे हुन्थ्यो भन्ने कामना हो अब ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप