आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

नयाँ समीकरणका कारक तत्त्वहरू

बुधबार, ०२ साउन २०८१, ११ : ४७
बुधबार, ०२ साउन २०८१

भर्खर मात्र प्रचण्डको सरकार ढलेर नयाँ सरकार गठन भएको छ । नयाँ सरकार गठन स‌ंविधानको धारा ७६(२) अनुसार हुने कि (३) अनुसार हुने भन्ने विवादका बिच राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ (२) अनुसार नै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गरेर शपथ दिलाइसकेका छन् । 

यहीबिचमा संविधानविज्ञले आ–आफ्नो स्वार्थ अनुकूल व्याख्या गरेर ७६(२)अनुसार नै नयाँ प्रधानमन्त्री नियुक्त गर्दा संवैधानिक अराजकता सिर्जना हुने कुरा राख्दै आएका छन् र हुँदै पनि त्यस्तै छ । किनकि यो नयाँ समीकरण नियमानुसार हैन ग्य्राण्ड डिजाइन अनुसार भएको हो भन्ने धेरैले अनुमान गरेका छन् ।

तर, रातारात र एकाएक भएको नेपाली कांग्रेस र नेकपा एमालेबिचको नयाँ समीकरणका पछाडि अवश्य पनि बाह्य ठुला शक्तिको हात हुनुपर्छ, भनिएको छ ।  रास्वपा सभापति रवि लामिछानेले त केही अत्यन्त शक्तिशाली ठुला नेताको घरमा भ्रष्टाचारको सुई तेर्सिएको तथा बेचन झा र प्रतीक थापाहरूको गिरफ्तारी एवम् उनले दिएका बयानका तथ्य र प्रमाणहरूले ‘बडे नेता’हरुको गिरफ्तारी अनिवार्य हुने भयले रातारात सत्ता समीकरण फेरबदल गरी सरकार ढाल्ने काम भएको कुरा सदनमा राखे । 

यति मात्रै कारक होइनन् भन्ने सबैले बुझेका छन् । यहाँ बाह्य शक्तिको पनि उत्तिकै गहन हात भएको पनि बुझ्नै पर्छ । तथ्यमा आधारित नयाँ समीकरणका केही कारकहरूबारे तल चर्चा गरिन्छ ।

नेपालमा सबभन्दा बढी हलहलाउँदो र कलकलाउँदो हरियो खेती नै भ्रष्टाचार हो । यसले देशलाई कीराले झैँ खाइरहेको छ । देशमाथि नउठ्नुमा भ्रष्टाचार मुख्य कारक तत्त्व हो । भ्रष्टाचार सर्वव्यापी, सर्वशक्तिमान्, शाश्वत, सर्वगुण क्रेता, सर्वोच्च शक्तिका रूपमा स्थापित छ । जसले हुनेलाई नहुने र नहुनेलाई हुने गराइदिन्छ । हत्यारालाई मुक्ति र निर्दोषलाई शूलीमा चढाउने फैसला पनि गरिदिन्छ । भ्रष्टाचारले गरिब, कमजोर, पहुँच नभएका, अकिञ्चन जनतालाई सिङ्गै जिउँदै निल्छ । त्यसैले त जनतालाई सरकारी कार्यालयमा पस्नु पर्दा ज्वरो आउँछ । कर्मचारी देखेर जनता आत्तिन्छन्, हतासिन्छन्, निसास्सिन्छन् ।

नेपालमा सबभन्दा बढी हलहलाउँदो र कलकलाउँदो हरियो खेती नै भ्रष्टाचार हो । यसले देशलाई कीराले झैँ खाइरहेको छ । देशमाथि नउठ्नुमा भ्रष्टाचार मुख्य कारक तत्त्व हो । भ्रष्टाचार सर्वव्यापी, सर्वशक्तिमान्, शाश्वत, सर्वगुण क्रेता, सर्वोच्च शक्तिका रूपमा स्थापित छ

परम्परागत रूपमा त भ्रष्टाचार पाप हो । भ्रष्टाचारी अधर्मी, पापिष्ठ हुन् । भ्रष्टाचारीहरू अपराधकर्मी पनि हुन् । मरेपछि ती सोझै नरकमा पर्छन् । अर्को कोणमा भ्रष्टाचार अपराध हो र भ्रष्टाचारी अपराधी हुन् । यो अमानवता पनि हो । यो अनैतिकता र घृणित कार्य हो । यो देशद्रोह हो, राष्ट्रघात हो, देश र जनता विरोधी काम हो । भ्रष्टाचारीहरू राक्षस पनि हुन् । ती हिंस्रक पनि हुन् । कारण ती सधैँ सत्यका विरोधी हुन्छन्, धर्मका विरोधी हुन्छन् । न्यायका विरोधी हुन्छन् । निष्पक्षताका विरोधी हुन्छन् । त्यसैले भेदभाव गर्छन्, पक्षपात गर्छन् । दुःख दिन्छन्, सताउँछन् । सत्यको बाटोमा हिँडे भ्रष्टाचार गर्नै सकिँदैन । भ्रष्टाचार सम्पत्तिको अतृप्त प्यास हो । भ्रष्टाचारीहरू दिशा–पिसाबमा डुबेको पैसा पनि सित्तैमा पाइन्छ भने मुखले टिप्न तयार हुन्छन् । तिनमा मर्यादा, इमान, निष्ठा, इज्जत, मान, प्रतिष्ठा, मूल्य, मान्यता, विवेक, न्याय, स्नेह, ममता, संवेदनाप्रति कुनै रुचि वा सरोकार हुँदैन । ती बर्बर, जर्जर, क्रूर पनि हुन्छन् । तिनीहरू सबभन्दा बढी गरिब, कमजोर, अशक्त, अकिञ्चनहरुको रगत पिउन रुचाउँछन् । त्यसैले ती रक्तपिपाषु पनि हुन् । सिधासादा, सज्जन, इमानदार, छलकपट र धूर्तता नजान्नेहरूको रगत तिनलाई सबभन्दा स्वादिलो लाग्छ । तसर्थ भ्रष्टाचारीलाई पृथ्वीनारायण शाहले देशका ठुला शत्रु करार गरेका छन् ।

मैले यहाँ भ्रष्टाचारीको महिमा वर्णन यस कारण गरेको हो कि जब–जब देशमा भ्रष्टाचार विरुद्ध, सुशासनका पक्षमा केही गर्ने जमर्को वा साहस गरिन्छ तब तब सरकार ढाल्ने गरिन्छ । जब नक्कली शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड, सुन तस्करी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, बाँसबारी जग्गा निजीकरण काण्डका अभियुक्तहरूमाथि कारबाही हुन्छ, हडपेका सार्वजनिक जग्गा फिर्ता गरिन्छ, तब सरकारमा हलचल सुरु हुन्छ र गिराइन्छ । मालपोत, यातायात, भन्सार, अदालत, भूमिसुधार, अख्तियार आदि भ्रष्टाचारका अखाडामाथि प्रहारका पहल भयो कि सरकार ढलिहाल्छ । सुशासन र समृद्धिका कुरा भए कि सरकार ढल्यो भन्ने जाने हुन्छ । यसरी नै देश बरबादी र दुर्दशामा पुगेको हो । ‘पग्लेको अलकत्रामा फसेको गाई’ झैँ फस्दै गइरहेको छ देश, निरन्तर भ्रष्टाचारको दलदलमा । विडम्बना, सुशासनका कुरा गर्दैमा नै ‘सतीले सरापेको’ यो देशमा सरकार ढालिन्छ । अहिले पनि त्यसै भयो किन ? अब फेरि भ्रष्टाचार हलहलाउने त हैन चिन्ता बढेको छ ।

यो देश दशकौँदेखि छ–छ महिने सरकारको परम्परामा चल्दै आएको छ । यसले देश सधैँ अस्थिरता, अराजकता, अन्योल र त्रिशङ्कु नियतिमा गुज्रिन बाध्य भयो । यसैलाई ध्यान दिएर संविधानले एक पटक विश्वासको मत लिएपछि दुई वर्षसम्म अविश्वास गर्न नपाइने प्रावधान बनायो । तर अस्थिरता, अराजकताका पक्षधर, अनुशासन एवम् सुशासनका विरोधीहरूले त्यसलाई धोती लाइदिए । संविधानको त्यो महत्त्वपूर्ण धारालाई कोमामा पुर्‍याएर चार महिनामा पाँच पटक विश्वासको मत लिने खेल चालु भयो । मुखले स्थिरताका भाषण गरेर व्यवहारले अस्थिरता अवलम्बन गर्ने चाल चलियो । त्यसैले नै ‘सतीको श्राप परेको देश’ भनिएको हो । यहाँ राम्रो गर्नेको कहिल्यै भलो हुन सकेन, देशका लागि त्याग, बलिदान, उत्सर्ग–सेवा गर्नेको सधैँ अपमान भयो, सम्मान भएन, आज त चौध हजार सहिदमाथि हिलो छ्यापिँदैछ । यहाँ भलो गर्नेको पनि कहिल्यै भलो भएन । देशभक्तहरूको पनि कहिल्यै भलो भएन । यस्तो थियो सतीको श्राप–‘यो मुलुकमा देशको भलो गर्नेको कहिल्यै भलो नहोस्’ । नेपालमा ठिक यस्तै हुँदै आएको छ । भन्दा स्थिरताका कुरा गरे पनि दुई ठुला दलको यो समीकरण अस्थिरता, अराजकता, अनुशासनहीनता र अशान्तिको नै कारक बन्नेछ । फेरि सडकमा टायर बाल्ने, हडताल, जुलुस, विरोध, सङ्घर्ष गर्नुपर्ने स्थिति सिर्जना गरिनेछ । किनभने अबको सरकार भ्रष्टाचारी, कमिशनखोर, तस्कर, घुस्याहा, कालाबजारिया, ठग, बेइमान, नोकरशाह, दलाल पुँजीपति, भ्रष्ट, स्खलित, पतित, अनियमिततामा डुबेको कर्मचारीतन्त्र आदिबाट परिचालित हुनेछ । सबैभन्दा बढी यिनै तत्त्व मौलाउनेछन् । भ्रष्टाचारले काँडेझाङले झैँ फैलिएर देश ढाक्नेछ । भनिएको छ, ‘आरजु भाउजू र ओलीजी तिर भ्रष्टाचारको तीर सोझिएपछि एकाएक र रातारात समीकरण फेरियो तसर्थ यो समीकरणले स्थिरता दिनै सक्दैन ।’

यतिखेर गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, जातीय उन्नयन, दलित–जनजाति–महिलाको नीतिगत तहमा समावेशीकरणका विरोधी शक्तिको जगजगी छ । र यो समीकरण पनि तिनकै संरक्षक, सहयोगी, शुभेच्छुकहरूको नै समीकरण हो ।

यतिखेर गणतन्त्र, सङ्घीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, जातीय उन्नयन, दलित–जनजाति–महिलाको नीतिगत तहमा समावेशीकरणका विरोधी शक्तिको जगजगी छ । र यो समीकरण पनि तिनकै संरक्षक, सहयोगी, शुभेच्छुकहरूको नै समीकरण हो । धर्मनिरपेक्षताका विरुद्ध ब्राह्मणवादी–पण्डा–प्रवृत्तिका हिन्दुको समर्थनमा यो समीकरण चल्नेछ । जातीय मुक्तिको प्रश्न, पहिचानको प्रश्न, समतावादी समानीकरणको प्रश्नमा असहमत शक्तिहरू नै एक ठाउँमा उभिएका छन् । दलित र महिलाको नीतिगत क्षेत्रमा निर्बाध प्रवेश र त्यस्तै पद र तहमा उपस्थिति कैयौँलाई फिटिक्कै मन परेको छैन ।

 अझ स्थानीय तहमा अनिवार्य सहभागिता त झनै पचिरहेको छैन र अस्वीकार गरिएको छ । मधेसी ठाडो शिर पारेर काठमाडौँमा हिँडेको त अभिजात्य, कुलीन, सम्भ्रान्त वर्गलाई चित्तै बुझेको छैन । समानुपातिक समावेशिता र आरक्षणलाई लिएर–‘त्यो अछुत म बाहुनको हाकिम हुने ?’,‘त्यो भोग विलासको खेलौनाले हाम्रो नीति निर्माण गर्ने ?’,‘ असक्षम, कमजोर, गरिब, अमर्यादित वर्गले हाम्रो टाउकोमा टेक्ने ?’ कामी दमैले हामी बाहुनलाई शासन गर्नु अधर्म होइन ?’ जनजातिहरु हाम्रा मालिक हुने र माथि–माथिका पदमा आसीन हुन जाने ?’ ‘ हेर त सबै नीच वर्ग प्रशासनका कुर्सीमा बसेको पनि सुहाएन ?’ विद्यमान परिवर्तनलाई मन नपराउनेहरुले उठाएका प्रश्न हुन् यी । 

कारण यो परिवर्तनको उत्तराधिकारी माओवादी हो । अग्रगमन, प्रगति, समृद्धि, समान र सबैको विकास आदि विषय मन नपराएका यथास्थितिसम्म पनि हैन, पश्चगामी, पतनशील पथका अनुगामीहरूले नयाँ समीकरणलाई निश्चय नै आफ्नो हित–स्वार्थमा उपयोग गर्नेछन् । अस्थिरताको सिर्जना गर्नकै लागि नयाँ समीकरण गरिएको हो भन्नेकुरा परिणामहरूले देखाउनेछन् । पर्खौँ र हेरौँ के हुन्छ ?  संविधान मान्न नचाहने अराजकतावादी शक्तिहरूसँग अनैतिक र अस्वाभाविक मेल हुनु कसरी स्थिरताको कारक हुन सक्ला ? उत्तर पर्खनै पर्छ । विचार–आदर्श–गन्तव्य, वर्ग र शैली ‘मिलाई’ गरिएको समीकरण त चार महिना टिक्दैन भने कुनै विषय नै नमिलिकन नै माओवादीसँगको बदलाभावले गरिएको समीकरणले स्थायित्व दिने कुरा मरुभूमिको झरी जस्तै हो । स्वार्थ, सत्ता, भय र ईष्र्या मिलेर बनेको समीकरणले स्थायित्व दिएछ भने स्यालको सिङ पलाएछ भन्ने सम्झौँला, केही छैन ।

प्रशस्त चर्चा र आङ्कलनहरू, अनुमान र परिकल्पनाहरूले अब विदेशी शक्तिहरूको जोड नेपालमा दुई दलीय तानाशाही हुनेछ भनिरहेका छन् । ‘धेरै दल अस्थिरताका कारक भए,’ ’साना साना दलहरूले ठुला दललाई कजाए’ र त अस्थिरता आयो, ‘त्यसकारण दुई ठुला दलको समीकरण’ भन्ने जुन भाष्य सिर्जना गर्न खोजिँदैछ त्यसले साना दल जतिको अन्त्य गर्नु पर्छ, भन्ने निष्कर्ष दिन्छ । गणतन्त्र र लोकतन्त्र सबैको हैन ? एउटै नागरिकले पनि प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधानले दिएको छैन ? गणतन्त्रमा सबै फूल फुल्न पाउँछन् भनेको हैन ? अनि किन निमोठ्ने साना दललाई ? जति धेरै विचार फुल्न पाउँछन् त्यति धेरै नयाँ गन्तव्य पत्ता लाग्छ हैन र ? नयाँ नयाँ योजना, दृष्टिकोण, राष्ट्रिय चिन्तन, नव निर्माणका आधार ती सानाहरूमा पनि त हुन सक्छ, जुन ठुलाहरूमा छैन । अनि आधारै भत्काएर निश्चित शक्तिले देशमा दुई दलीय तानाशाही चलाउने सपना जे देख्न खोजिएको छ यसले राम्रो गर्दैन, गर्दै गर्दैन ।

अर्को कुरा ‘संविधान संशोधन गर्न नयाँ समीकरण गरेको’ भनिएको छ । परिवर्तन ल्याउने मुख्य शक्ति माओवादीलाई पाखा राखेर गरिने संशोधन भनेको २०४७ को संविधान ब्युँताउने र सबै परिवर्तन उल्ट्याउने योजना हैन भनेर भन्न सक्ने स्थिति, उहाँहरूमा छैन । संविधान प्रदत्त अधिकारमा मुख्यतः गणतन्त्र, सङ्घीयता, समानुपातिकता, लोकतन्त्र, धर्मनिरपेक्षता, समावेशिता आदि पर्छन् । अनि महिला दलित जनजाति मैत्री प्रावधानहरू पनि छन् । खाद्य, स्वास्थ्य, शिक्षा, आवास आदि मौलिक अधिकारहरू पनि छन् ।

 खुला र स्वतन्त्र समाजका अन्तर्य पनि छन् । सामन्त अभिजात्य कुलीन धनाढ्यहरूको एकाधिकार प्रभुत्वको अन्त्यको चाहना पनि छ । समाजवादको सपना पनि संविधानमा छ । मुलुक समृद्ध, सम्पन्न, विकसित बनाउने दृष्टिकोण पनि छ । तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, अखण्डता, स्वाभिमानको सम्बर्द्धन, संरक्षण, समृद्धीकरण जस्ता कुरा पनि छन् । ती फालेर ‘सार्वभौम जनता’का ठाउँमा ‘सार्वभौम व्यक्ति’ स्थापित गर्नका लागि संविधान संशोधन गरियो भने के होला ? तसर्थ गलत नियतले समीकरण नै गर्नु हुन्नथ्यो, तर गरियो । यसको प्रतिफल के निस्कन्छ हेर्दै जाऊँ । यो समीकरण परिवर्तनलाई नै उल्ट्याउने योजनाका साथ बनेको भन्ने जनतालाई थाहा नै छैन । माओवादीले ल्याएका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, जनजाति, महिला, दलित, मधेसी आदिका मुक्तिका विषय उसैलाई फर्काई दिनुपर्छ भन्ने सोचले संविधान संशोधनका कुरा ल्याइएको हो भने यसमा जनताले दिने प्रतिक्रिया भोलि नै थाहा हुनेछ ।

अब दुई ठुला दलको समीकरण सबै साना राष्ट्रिय–क्षेत्रीय दललाई निमिट्यान्न पार्न ‘यिनले नै अस्थिरता र भाँडभैलो ल्याएका हुन्’ भन्ने आरोपका साथ गरिएकोमा यसका पछाडि ठुलो गुरुयोजना र षड्यन्त्र लुकेको आभास भइरहेछ । यसलाई दुई दलबिच, मध्यरातमा, अमुक होटेलमा गोप्य रूपमा लुकेर गरिएको ‘सात बुँदे सहमति’ वा ‘साझा सङ्कल्प’ आजसम्म सार्वजनिक नगर्नुले पुष्टि गर्छ ।

अब दुई ठुला दलको समीकरण सबै साना राष्ट्रिय–क्षेत्रीय दललाई निमिट्यान्न पार्न ‘यिनले नै अस्थिरता र भाँडभैलो ल्याएका हुन्’ भन्ने आरोपका साथ गरिएकोमा यसका पछाडि ठुलो गुरुयोजना र षड्यन्त्र लुकेको आभास भइरहेछ । यसलाई दुई दलबिच, मध्यरातमा, अमुक होटेलमा गोप्य रूपमा लुकेर गरिएको ‘सात बुँदे सहमति’ वा ‘साझा सङ्कल्प’ आजसम्म सार्वजनिक नगर्नुले पुष्टि गर्छ । के छ सातबुँदे साझा सहमतिमा ? दुईदलीय तानाशाही ? परिवर्तन पल्टाउने सहमति ? माओवादीको अस्तित्व नै नामेट पारिदिने योजना ? साना दलहरुको अन्त्य ? साम्राज्यवादी शिविरलाई नेपालमा स्थायित्व प्रदान गर्ने सहमति ? खुला र प्रतिस्पर्धात्मक समाजमाथि नियन्त्रण ? विदेशी शक्तिकेन्द्रको निर्देशन पालनाको प्रतिबद्धता ? या अरू केही ? ‘जे भए पनि माओवादीको अस्तित्व नामेट नपारी हाम्रो भविष्य सुनिश्चित छैन ।’ ‘माओवादीले हाम्रा विरुद्ध भ्रष्टाचारको कारबाही कार्यान्वयन गर्ने योजनाबाट वितण्डा सिर्जना गर्न खोज्यो ।’ ‘ठुला ह्वेल माछा नै जालमा पार्ने सङ्कल्प सुशासनको नाममा गर्न खोज्यो’ भन्ने बुझेर नै नयाँ समीकरण हतारोमा गर्नु परेको हो भन्ने बुझाइ कति सही र कति गलत हो ? यसको उत्तर दुई ठुला दलले नदिई सुख पाउने छैनन् ।

 ‘माओवादीको अस्तित्व हराउँदै छ ।’ ‘यो दिनदिनै कमजोर र क्षयीकरण भइरहेछ ।’ ‘अर्को चुनावमा माओवादी रहने छैन । माओवादीलाई भित्तैमा पुराउनु पर्छ’ । ‘अब माओवादीको नामोनिशान रहने छैन’ भन्ने जस्तो गोयबल्स प्रचारबाजी जो सुरु भएको छ त्यसले ‘माओवादीलाई नामेट पार्ने योजना छ’ भन्ने भनाइलाई पुष्टि गर्छ ।

अर्को विषय एमाले र काँग्रेस दुबैले माओवादीले ल्याएको बजेटमाथि तीव्र प्रतिक्रिया र असन्तुष्टि जनाइरहे । त्यसका पछाडि लुकेको रहस्यमय विषय थियो–बजेट कनिका छराइमा नआउनु । ‘कनिका छराइ र कार्यकर्ता चराइ’को हिजोको परम्परा तोडिन थालेपछि छटपटाएका उनीहरूको ‘कनिका चर्न नपाएपछि कार्यकर्ता लाछापाछा लाग्छन्’ भन्ने डरले मन खायो र विरोध भयो । अब चुनाव हारिन्छ भन्ने पिर पनि भयो कारण कार्यकर्तालाई कनिका चर्न नदिएपछि उनीहरू रिसाउँछन् भन्ने यथार्थ पनि थियो । तसर्थ बजेटमा उनीहरूको असहमति आयो । निश्चितै हो यो बजेटले ‘कनिका छराइ कार्यकर्ता चराइ’माथि डन्डा हानेकै छ । उनीहरू रिसाउनुमा यो पनि एक बुँदा हुन सक्छ ।

प्रचण्डले सदनको सम्बोधनमा नयाँ समीकरण देशीय शक्तिको मात्र खेल नभएको स्पष्ट भनेका छन् । इण्डो–अमेरिकी शक्ति नेपालमा साम्राज्यवादको बलियो जग हाल्ने ताक र सुरमा छ । तर माओवादी त्यसमा अवरोध हुन्छ । त्यसैले नै उसलाई सत्ताबाट हटाउन जरुरी नै थियो, त्यो भयो । त्यसै जगमा टेकेर साम्राज्यवादको सर्वपक्षीय दुस्मनका रूपमा खडा भएको चीनलाई, रुसको झैँ टुक्रा टुक्रा पार्ने, अस्तव्यस्त तुल्याउने, अराजकता फैलाउने, वितण्डा मच्चाउने, गडबडी गरिरहने दाऊ खोजेर उनीहरू बसिरहेका छन् । त्यसैले ओलीले चीनतिरबाट मुख मोडेर इण्डो–अमेरिकीसँग मुख जोड्ने प्रयास गरेका हुन् भन्ने लाग्छ । सधैँ बाह्यशक्तिबाट निर्देशित र परिचालित हुने नेपालीहरुको बानी यो कदममा पनि छर्लङ्ग देखिन्छ । यो नयाँ स्थिति सिर्जना हुनुमा शक्ति केन्द्रहरूको गुरुयोजना लुकेको छ भन्न डराउनु पर्ने छैन । एमसीसी आउनु र विभिन्न प्रभाव जमाउनुबाट त्यो आशङ्का पुष्टि हुन्छ । रवि लामिछानेले ‘केही उच्च तहका व्यक्तिका, भ्रष्टाचारका फाइल खुल्दा बित्तिकै सबै जेलमा कोचिनेछन्’ भन्ने अभिव्यक्तिबाट पनि उनीहरू डराएकै ह । ‘गिरीबन्धु टी स्टेट’ जस्ता दर्जनौं फाइल खुल्ने चरणमा रहेको सुइँको पाएपछि सरकार ढाल्ने खेल भएकोप्रति कसैमा शङ्का छैन । तुच्छ स्वार्थका लागि सरकारै ढालिदिने प्रयोग वा अभ्यास आजको मात्र भने हैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वरचन्द्र ज्ञवाली
ईश्वरचन्द्र ज्ञवाली
लेखकबाट थप