बिहीबार, १५ कात्तिक २०८१
ताजा लोकप्रिय
चलचित्र

नेपालमा स्वदेशीभन्दा विदेशी फिल्मको दबदबा

गत आर्थिक वर्षमा नेपालीभन्दा विदेशी फिल्मको सेन्सर बढी
बुधबार, ०२ साउन २०८१, २० : ००
बुधबार, ०२ साउन २०८१

काठमाडौँ । नेपालमा वर्षभरिमा ‘सेन्सर’ गरिएका फिल्महरूको तथ्याङ्कले नेपाली चलचित्रले विदेशीसँग चर्को प्रतिस्पर्धा गरिरहेको देखिएको छ । नेपालमा स्वदेशी हुन् वा विदेशी फिल्म प्रदर्शन अघि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शनका लागि अनुमति (सेन्सर पास) प्रमाणपत्र लिन अनिवार्य हुन्छ । 

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१मा सेन्सर भएका कूल फिल्ममा नेपाली फिल्मको सङ्ख्या ५० प्रतिशतभन्दा कम देखिन्छ । कूल १६४ वटा फिल्म सेन्सर हुँदा नेपाली ८१ र विदेशी (हिन्दी, अङ्ग्रेजी, जापनिज र कोरियन) फिल्मको सङ्ख्या ८३ रहेको छ ।

तथ्याङ्कअनुसार सेन्सर गरिएका ८१ नेपाली फिल्ममा पनि सबै नेपाली राष्ट्रिय भाषा (नेपाली भाषा) मा निर्माण भएका छैनन् । यसमध्ये ७१ वटा फिल्म नेपाली भाषामा बनेका छन् भने अन्य १० फिल्म नेपालका विभिन्न भाषामा निर्माण भएका छन्, जसमा गुरुङ, तामाङ, नेपाल भाषा (नेवार) र लिम्बु भाषाका फिल्म छन् ।

नेपाली भाषाका ७१ फिल्ममा अशुभ अष्टमी, शाम्बाला, सुपरसिक्स, घरज्वाइँ, आँखा, चिठ्ठी, दान्भी, भुन्डागर्दी, पूजार सार्की, गाउँ आएको बाटो, फर्कीफर्की, खजुरे ब्रो, बाटो, जय हो, हिँड्दाहिँड्दै, बोक्सीको घर, उज्यालो, ईश्वर, महाजात्रा, गोर्खा वारियर, हाम्रो स्वर्ग, एक्टर, चित्रा, पर्खिबसे तिमिलाई लगायत रहेका छन् ।

अन्य भाषामा निर्माण भएका १० फिल्ममा गुरुङ भाषाका ४, तामाङ भाषाको १, नेपाल भाषाका ३ र लिम्बु भाषाका २ छन् ।  गुरुङमा झुपडी, मनको फूल, मार्कली, ल्हो, तामाङमा डिङ्जे, नेपाल भाषामा घोषक, लाखे आजु, तिः र लिम्बु भाषमा लोजिमा र सुगुप रहेका  छन् ।

  • हिन्दी कति त ? 

नेपाली निर्माता र निर्देशक हिन्दी फिल्मले नेपाली फिल्म विस्थापित गरेको ठुलोठुलो आवाज उठाउँदै आएका छन् । सोही कारण पनि नेपाली फिल्मका रिलिज मिति तोक्न पहिले हिन्दी फिल्मको रिलिज क्यालेन्डर हेर्न गरिन्छ । हिन्दी फिल्म रिलिज भएको मितिमा सकभर फिल्म रिलिज गरिँदैन ।

आर्थिक वर्ष २०८०/८१ को सेन्सर तथ्याङ्क हेर्दा नेपाली फिल्मलाई हिन्दी फिल्मले पूर्णरुपमा विस्थापित गरेको भन्न नमिल्ने देखाउँछ । किनभने नेपाली फिल्म रिलिजको तुलनामा नेपालमा हिन्दी फिल्म रिलिजको सङ्ख्या करिब ५० प्रतिशत मात्र छ । ८१ वटा नेपाली फिल्म सेन्सर हुँदा हिन्दी फिल्मको सङ्ख्या ४६ मात्र देखिन्छ  ।

यो आर्थिक वर्ष हिन्दी फिल्ममा हिन्दुथान २, किल, चन्दू च्याम्पियन, मिष्टर एण्ड मिसेन माही, रुसलान, योद्धा, लापता लेडिज, तेरे बातोमे ऐसा उल्झादिया, सालार, ड्रिमगल २ लगायत सेन्सर भएको देखिन्छ ।

  • हिन्दीभन्दा अङ्ग्रेजी झनै कम 

हिन्दी र नेपालीको तुलनामा नेपालमा अङ्ग्रेजी फिल्म भने थोरै नै रिलिज हुने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा सेन्सर भएका कूल फिल्ममा अङ्ग्रेजी फिल्मको सङ्ख्या जम्मा २१ प्रतिशत मात्र छ । अङ्ग्रेजी फिल्मको सङ्ख्या ३५ मात्र छ । यो वर्ष लङ् लेग्स, ओपन हाइमर, मेग २, ब्लु बिटल, टक टू मीलगायत रहेका छन् ।

अङ्ग्रेजी फिल्मका दर्शक नेपालमा कम भएकोले सङ्ख्यामा पनि कमी आएको हुन सक्ने चलचित्र सेन्सर बोर्डका सदस्य भूपेन्द्र कुमार खड्का बताउँछन् । ‘नेपाली भाषा बुझ्नेले हिन्दी भाषा सजिलै बुझ्छन् । तर अङ्ग्रेजी बुझ्न गाह्रो छ’, उनले भने, ‘पहिले नेपालमा फिल्म दिएका वितरकले मात्र अङ्ग्रेजी फिल्म दिने हुन् ।’ अङ्ग्रेजीका नयाँ वितरकले नेपालमा फिल्म नदिने भएको कारण पनि कमी भएको हुन सक्ने खड्काको अनुमान छ । 

  • जापान र कोरियन चलचित्र पनि

नेपालमा अधिकांश विदेशी चलचित्रमा हिन्दी र अङ्ग्रेजी फिल्म मात्र रिलिज भएको देखिन्छ । तर, चलचित्र सेन्सर बोर्डको आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्कले नेपालमा हिन्दी र अङ्ग्रेजीबाहेक जापान र कोरियालगायत अन्य देशका फिल्म पनि रिलिज हुने गरेको देखाएको छ ।

सेन्सर तथ्याङ्कमा यो वर्ष एक कोरियन र एक जापनिज फिल्म सेन्सर भएको देख्न सकिन्छ । यो वर्ष जापनिज फिल्म हाइक्यू द डम्पस्टर ब्याटल र कोरियन फिल्म सुगा सेन्सर भएका छन् ।

  • के भन्छ सेन्सर बोर्ड ?

नेपालमा कस्ता फिल्म दबदबा रहेको आफूले भन्न नमिल्ने चलचित्र सेन्सर बोर्डका अध्यक्ष गजेन्द्र ठाकुरले बताए । ‘सेन्सर बोर्डको काम फिल्म उत्पादन, प्रमोट नभएर देशका प्रचलित नियम कानुन अनुसार प्रदर्शन उपयुक्त छ–छैन ठहर्‍याउने मात्र हो,’ ठाकुरले भने ‘नेपालमा भित्रिने विदेशी फिल्मको सङ्ख्या र निर्माण हुने स्वदेशी फिल्मको सङ्ख्यासँग हाम्रो कुनै सरोकार छैन ।’ नियम पुर्‍याएर सेन्सरका लागि निवेदन दिएका फिल्म आफूले सेन्सर गर्नुपर्ने ठाकुरको भनाई छ । ‘नेपाली फिल्मले बजारको डिमान्ड अनुसार सङ्ख्या र गुणस्तर दिन नसकेको कारण विदेशी फिल्म बढी हुने गरेको मेरो बुझाई छ,’ ठाकुरले थपे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप