शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

नारायणी किनारमा ‘प्रवासीको देश हुन्न’ बारे विमर्श

बुधबार, ०२ साउन २०८१, ०७ : ०४
बुधबार, ०२ साउन २०८१

चितवन । बेल्जियममा बसोबास गर्दै आएका आख्यानकार पञ्चम अधिकारीद्वारा लिखित ‘प्रवासीको देश हुन्न’ नामक पुस्तकबारे मंगलबार सम्पूर्ण किताब नारायणगढको आयोजनामा नारायणगढ बजार र गैँडाकोटको साँधमा अवस्थित नारायणी किनारको एक रिसोर्टमा आयोजित एक विशेष कार्यक्रममा अन्तरक्रिया गरिएको छ । कार्यक्रम वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको प्रमुख आतिथ्य र लेखक रमेश प्रभातको सभापतित्वमा सम्पन्न भएको थियो ।

अन्तर्क्रिया कार्यक्रमका क्रममा प्रमुख अतिथि गोविन्दराज विनोदीले प्रवासमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा लागिरहेकोमा कथाकार अधिकारीलाई धन्यवाद दिँदै स्तरीय साहित्य सिर्जनामा अधिकारीको समर्पणको प्रशंसा गरे ।

कार्यक्रममा चितवन साहित्य परिषदकी निवर्तमान अध्यक्ष गायत्री श्रेष्ठ र सर्जक डा हरिहर पौडेलले समीक्षात्मक टिप्पणी गरेका थिए ।

टिप्पणीकार डा हरिहर पौडेलले यो कथासङ्ग्रहमा प्रवासी नेपालीका संवेदना समेटिएको बताए । सङ्ग्रहका कतिपय कथाहरू युरोपको सेरोफेरोमा रहेर लेखिएको भए पनि कतिपय कथाहरू चितवनको परिवेशमा पनि बुनिएको उनले बताए ।

 ‘सङ्ग्रहका कतिपय कथाहरूमा स्वदेशको याद, युवावस्थाको पुरानो सम्झना र परदेशमा आएर बुनिएको सपना सबै छन्’, पौडेलले भने( ‘कतिपय कथामा विविध बिम्बहरूको प्रयोग गर्दै गहन मनोवैज्ञानिक विश्लेषण गरिएका छन् भने कतिपय कथाहरू युवा केन्द्रीत छन्’ । साहित्य र पत्रकारिताको भाषा फरक हुने बताउँदै कथामा घटना र विवरण सँगसँगै पात्रहरूको मनोदशा उतार्न सफल भएर यो पुस्तक पठनीय बनेको पौडेलले बताए । कथाकार अधिकारीलाई समीक्षक पौडेलले बेल्जियमबाट प्रकाशित केही राम्रा कृतिलाई अनुवाद गरी नेपाली पाठकसमक्ष ल्याउन समेत अनुरोध गरे ।

त्यसैगरी, अर्की टिप्पणीकार श्रेष्ठले अधिकारीका कथामा नयाँ स्वाद र शैलीको प्रयोग भएको बताइन् । ‘पञ्चमका कथामा मेहनत र पाखुरीको मूल्यको चर्चा छ । बाध्यतावश बिदेसिएर रगत पसिना बगाएका नेपालीका भोगाइ छन्’,श्रेष्ठले भनिन् – ‘पञ्चमले कथामार्फत नेपाली भाषा र जनजीवन सम्झनु भएको छ । गुन्द्रुक र मस्यौरा पनि सम्झनु भएको छ । दसैँ, तिहार, तीज र रोदीघर पनि सम्झनु भएको छ ।समग्रमा नेपालीपनलाई प्रवर्द्धन गर्न लेखक कथाहरूमा काव्यिक भावले प्रस्तुत हुनुभएको छ।

बाध्यताले परदेसिन परेपछि ऋण खोजेरै जहाज चढेका प्रसङ्गलाई कथाकारले कथामा समेटेको पनि श्रेष्ठले बताइन् । ‘ऋण काढेर परदेश पुगेका कतिले आर्थिक उन्नति गर्छन् तर कतिपयका अवस्था त्यहाँ पुगेर पनि सहज हुन्नन् ।‘श्रेष्ठले भनिन् – ‘पसिना बगाउँदा बगाउँदै कतिपयले ज्यान गुमाएर बाकसमा स्वदेश फर्किन बाध्य छन् । पञ्चमका कथा साँच्चिकै मार्मिक छन् ।’

लेखक पञ्चम अधिकारीले आफू करिब दुई दशकदेखि युरोपको राजधानी ब्रसेल्सको सेरोफेरोमा रहेको, र ब्रसेल्समा एक ग्लोबल आईटी कम्पनीमा काम गरे झैँ गरे पनि अन्तर्मनमा आफूमा एक लेखकीय भाव रहेको र विश्वयात्री बनेको अनुभव बाँडे । उनले सदीक्षाभन्दा समीक्षाका रूपमा प्रतिकृयाहरूको अपेक्षा गरेको बताए ।

कार्यक्रममा साहित्यकार बसन्त पराजुलीले लेखकको लेखनयात्राबारे प्रकाश पारेका थिए भने आयोजकका तर्फबाट लेखराम सापकोटाले कार्यक्रम सम्पन्न गर्न सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रमका सभापति रमेश प्रभातले पञ्चमको कथा लेखन राम्रो, पठनीय र स्तरीय भएको प्रतिक्रिया दिए । 

समारोहमा चितवन र नवलपरासी वरपर रहेका वरिष्ठ साहित्यिक व्यक्तित्वहरू, पत्रकारहरू र विभिन्न क्षेत्रका विज्ञहरूको बाक्लो उपस्थिति थियो । 

१८० पृष्ठको ‘प्रवासीको देश हुन्न’ कथासङ्ग्रहमा १४ कथाहरू समाहित छन् । शिखा बुक्सले प्रकाशन गरेको कृतिको मूल्य ४२५ रुपैयाँ रहेको छ । लेखक अधिकारीको यो दोस्रो कृति हो। यसअघि उनको ‘पथिक प्रवासन’ नामक उपन्यास प्रकाशित छ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप