सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

मङ्गलबार, ०१ साउन २०८१, २२ : ००
मङ्गलबार, ०१ साउन २०८१

आज २०८१ साउन १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • नयाँ आर्थिक वर्ष, नयाँ अर्थमन्त्री

नयाँ आर्थिक वर्षको सुरुवातमै मुलुकले नयाँ अर्थमन्त्री पाएको छ । सोमबार केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको हो । नयाँ सरकारमा विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । मन्त्री पौडेल ज्ञानका हिसाबले आर्थिक ज्ञाता नभए पनि उनलाई आर्थिक क्षेत्रले ऊर्जाशील र सकारात्मक नेताको रूपमा लिने गरेको छ । खासगरी पुँजी बजारले रुचाएको नेता पौडेलको आगनसँगै सेयर बजारले उचाइ लिने अपेक्षा गरिएको छ ।

  • सुमनाका निर्णय कार्यान्वयन

नेकपा एमालेकी नेतृ विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् । शिक्षा मन्त्रालयले लगातार दोस्रो पटक महिला मन्त्री पाएको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट सुमना श्रेष्ठ शिक्षामन्त्री थिइन् । उनीपछि भट्टराईले मन्त्रालयको नेतृत्व सम्हाल्ने मौका पाएकी छन् । दुवै जना संसद्को शिक्षा समितिका प्रश्नकर्ता माननीय मानिन्छिन् । दुवै जना समितिको बैठकमा नियमित उपस्थित हुने र प्रश्न तथा तर्क प्रस्तुत गर्ने सदस्यका रूपमा चिनिँदै आएका छन् । संयोग पनि त्यस्तै पर्‍यो, समितिको बैठकमा बढी प्रश्न गर्नेहरूलाई नै शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

  • धर्मसङ्कटमा कोशीका मुख्यमन्त्री

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोबिच आइतबार साँझ छलफल भयो । छलफलका क्रममा प्रदेश सरकारबाट माओवादी मन्त्रीहरू बाहिरिने कि नबाहिरिने भन्ने विषयमा दुई नेताबिच कुराकानी भएको थियो । यद्यपि उक्त कुराकानीबारे नेताहरूले खुलेर बोलेका छैनन् ।

  • सबै गुट सन्तुष्ट

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टीका सबै शक्ति केन्द्र (गुट)लाई भाग दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा पार्टीका सभापति देउवाले सबै गुटको चित्त बुझ्ने गरी निर्णय लिएका हुन् ।

  • प्रधानमन्त्री ओलीका चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको दुई तिहाइ शक्तिका साथ तीन वर्षपछि फेरि कार्यकारी प्रमुखको हैसियतमा सिंहदरबार प्रवेश गरेका छन् । आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका उनले सोमबार शपथपछि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका हुन् । आफैँले समर्थन गरेको प्रचण्ड नेतृत्वको सरकार ढाल्ने तमसुकमा असार १७ गते मध्यरात कांग्रेससँग सहीछाप गरेका ओलीको नियतप्रति कांग्रेसकै नेताहरू विश्वस्त देखिएका छैनन् । 

  • तरकारीमा मनसुनी प्रभाव

पछिल्लो समय तरकारीको मूल्य अचाक्ली वृद्धि भएको छ । बर्खा लागेसँगै तरकारीको मूल्यमा अप्रत्याशित रूपमा मूल्य वृद्धि हुन थालेको हो । 

  • कुम्भ मेला

कांग्रेस–एमाले गठबन्धनबाट नयाँ सरकार गठनसँगै सिंहदरबारमा नेता कार्यकर्ताको चाप बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेर मन्त्रीहरूले सोमबार नै पद बहाली गरे पनि मंगलबार पनि मन्त्रालयहरूमा खादा माला बोकेर शुभकामना दिन जानेहरूको बाक्लो भीड थियो । प्रचण्ड सरकार अल्पमतमा परेसँगै सुनसान बनेको सिंहदरबार नयाँ सरकार गठनसँगै गुल्जार बनेको हो । 

  • समाजवादी मोर्चा

समाजवादी मोर्चाले आगामी कार्यक्रम तय गर्न कार्यदल बनाएको छ । नेकपा एकीकृत समाजवादीको कार्यालयमा मंगलबार बसेको बैठकले मोर्चामा आबद्ध चार नेता सम्मिलित चार सदस्यीय कार्यदल गठन गरिएको नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

  • नेपाली खेलाडीको छलाङ

पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विश्व क्रिकेटका कतिपय कीर्तिमान पनि नेपाली क्रिकेटसँग जोडिएको छ । यसले नेपाली क्रिकेटलाई क्रमशः व्यावसायिक बाटोमा अग्रसर बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।

  • सिमलताल पहिरो

पाँच दिनअघि पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये १७ जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये मंगलबार साँझसम्म ९ जनाको सनाखत भएको सशस्त्र प्रहरीका सह-प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप