सिंहदरबारमा एमाले–कांग्रेस कार्यकर्ताहरूको कुम्भ मेला (भिडियो)
काठमाडौँ । कांग्रेस–एमाले गठबन्धनबाट नयाँ सरकार गठनसँगै सिंहदरबारमा नेता कार्यकर्ताको चाप बढ्न थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेर मन्त्रीहरूले सोमबार नै पद बहाली गरे पनि मंगलबार पनि मन्त्रालयहरूमा खादा माला बोकेर शुभकामना दिन जानेहरूको बाक्लो भीड थियो । प्रचण्ड सरकार अल्पमतमा परेसँगै सुनसान बनेको सिंहदरबार नयाँ सरकार गठनसँगै गुल्जार बनेको हो ।
मंगलबार विभिन्न मन्त्रालयमा बधाई तथा शुभकामना दिन पुगेका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको भीडका कारण मन्त्रीहरूको नियमित काम समेत प्रभावित बन्यो । निजी सवारी साधनको चापका कारण सिंहदरबारभित्रका सडक बेला बेला जाम हुने अवस्था समेत सिर्जना भएको थियो ।
- उपप्रधानमन्त्री सिंहको कार्यकक्षमा खादा लगाउने र फोटो खिच्नेको भीड
सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधान मन्त्री प्रकाशमान सिंहको कार्यकक्षमा पार्टी कार्यकर्ताको बिहानैदेखि बाक्लो भीड लागेको थियो । खादा, माला, बुके मन्त्रीलाई दिँदै फोटो तथा सेल्फी लिनेहरूको बाक्लो उपस्थिति रहेको थियो ।
मन्त्री भएको दिनदेखि मन्त्री सिंहलाई कार्यकर्ताहरूको बधाई लिन फुर्सद छैन । भर्खरै उपचार गरेर स्वास्थ्य लाभ गरिरहेका सिंह सोफामा बसेर खादा माला ग्रहण गरिरहेका थिए भने उनको दायाँ बायाँ उभिएर कार्यकर्ताहरू फोटो खिचाउन व्यस्त थिए ।
रातोपाटीसँग कुरा गर्दै मन्त्री सिंहले अझै एक दुई दिन बधाई लिने, भेटघाटको क्रम चल्ने र त्यसका लागि समय व्यवस्थापन गर्ने उल्लेख गरे । उनले मन्त्रालयको नाम जस्तै सहरको विकासका लागि अन्तर्राष्ट्रिय स्तरमा चलेको ट्रेन्ड अनुसार काम गर्ने बताए । सहर फोहोर हुने, बर्सातमा पानी पानी हुने अवस्थालाई मध्यनजर गरेर आधुनिक, व्यवस्थित सहर बनाउन लागिपर्ने उल्लेख गरे ।
- सबैभन्दा ठुलो भीड पर्यटन मन्त्रालयमा : फोटोको पोज दिन मन्त्री पाण्डेलाई भ्याई–नभ्याई
सिंहदरबारका २२ मन्त्रालयहरू मध्ये नेता कार्यकर्ताहरूको ठुलो भीड संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा थियो । मन्त्री बद्री पाण्डेलाई खादा माला लगाउन र फोटोको लागि पोज दिन भ्याई नभ्याई थियो । उनलाई बधाई दिन मन्त्रालयमा काठमाडौँमा रहेका सुदूरपश्चिम प्रदेशका बासिन्दा, कांग्रेस तथा एमाले नेता कार्यकर्ताहरूको बाक्लो भीड लागेको थियो ।
एमाले पूर्व सांसद झपड रावल लगायतका नेता कार्यकर्ताहरू पनि मन्त्री पाण्डेलाई बधाई दिन मन्त्रालय पुगेका थिए । सेल्फी खिच्ने, फोटो खिच्ने, खादा माला लगाइदिनेहरूबाट मन्त्री पाण्डे कार्यकक्षमा घेरिएका थिए ।
रातोपाटीसँग संक्षिप्त कुरा गर्दै मन्त्री पाण्डेले आफूले मन्त्रालयमा ३ घण्टा काम गरेको र बाँकी समय भेटघाटका लागि छुट्याएकोले काममा अवरोध नभएको प्रतिक्रिया दिए । तर मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूसँग छलफलका लागि दिउँसो २ बजे समय तय गरे पनि उनी भेट्न आएका कार्यकर्तासँग मेरो अब काम छ भन्दा पनि कार्यकक्षबाट फुत्किन सकेका थिएनन् । कार्यकक्षमा भीड नियन्त्रणका लागि खटिएका कर्मचारी मन्त्रीसँग फोटो खिचाइसकेका कार्यकर्ताहरूलाई बाहिर जान आग्रह गरिरहेका थिए ।
- कृषि मन्त्रालयमा पनि भीड : बिहानदेखि बधाई लिनमै मन्त्री अधिकारी व्यस्त
यता कृषि तथा पशुपक्षी मन्त्रालयमा पनि मन्त्रीलाई बधाई दिन खादा माला लिएर पुगेका कार्यकर्ताहरूको भीड लागेको थियो । मन्त्री रामनाथ अधिकारीलाई बधाई तथा शुभकामना लिन भ्याई नभ्याई थियो । खादा–माला बोकेर अधिकारीलाई बधाई दिन कार्यकर्ता तथा शुभेच्छुकको लाइन लागेको थियो । खास गरी धादिङ क्षेत्रका कांग्रेसका कार्यकर्ताहरू मन्त्री अधिकारीसँग कृषि क्षेत्रका लागि विभिन्न अपेक्षाहरू सुनाइरहेका थिए । यस्तै कृषि क्षेत्रसँग सरोकार राख्ने विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रका व्यक्तिहरू पनि मन्त्री अधिकारीलाई बधाई दिन पुगेका थिए ।
रातोपाटीसँग कुरा गर्दै मन्त्री अधिकारीले कर्मचारीहरूसँग मन्त्रालयको बारेमा ‘ब्रिफिङ’ लिएर नियमित काम अघि बढाउने जानकारी दिए । उनले भने–‘मन्त्रालयका सबै गतिविधिको बारेमा मैले जानकारी पाउन सकेको छैन । जानकारी पाएपछि कसरी काम अगाडि बढाउने सन्दर्भ अगाडि आइहाल्छ । अहिले त बिहानदेखि बेलुकासम्म बधाई लिनका लागि नै समय गएको छ । सचिवज्यू सँग सामान्य परामर्शबाहेक केही पनि कुरा भएको छैन । भोलीबाट मन्त्रालयको सम्पूर्ण जानकारी लिनेछु ।’
उनले आफूलाई आफ्नो जिल्लाबाट नभई सम्पूर्ण जिल्लाबाट र विभिन्न पार्टीका व्यक्तिहरूले बधाई तथा शुभकामना दिइरहेको बताए । बुधवारदेखि भने आफूले बधाई लिनका लागि थोरै मात्र समय लिने उल्लेख गरे ।
- भौतिक पूर्वाधार मन्त्रालयमा पनि उस्तै भीड
यता एमालेको भागमा परेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि मन्त्री देवेन्द्र दाहाललाई बधाई दिन जाने कार्यकर्ताहरूको भीड थियो । देशका विभिन्न जिल्लाबाट पुगेका र खास गरी कोशी प्रदेशका विभिन्न जिल्लाका कार्यकर्ता मन्त्री दाहाललाई भेट्न पुगेका थिए । उनीहरूले आफ्नो क्षेत्रमा वर्षौँदेखि अलपत्र परेका आयोजनाहरूको बारेमा जानकारी गराएका थिए भने कतिपय कार्यकर्ता नयाँ योजना राख्नका लागि आग्रह गरिरहेका थिए । मन्त्रालयमा बधाई दिन आउनेहरू धेरै भएपछि भेटघाटको समयलाई व्यवस्थित गर्ने तयारीमा रहेको मन्त्री दाहालले जानकारी दिए ।
उनले भने–‘भेटघाटलाई व्यवस्थित गर्ने कुरा भइरहेको छ, केही समय भेटघाट हुन्छ नै धेरैले भेट्ने, फोटो खिच्ने अपेक्षा राखेका हुन्छन् नै, यो क्रम चलिरहेको नै छ । आन्तरिक काम पनि गर्दै गर्छौ, भेटघाटलाई पनि व्यवस्थित गर्ने काम गर्छौ नै ।’
उनले आफूले मन्त्रालयको काम कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा मन्त्रालयगत र विभागीय रूपमा पनि ब्रिफिङ लिने काम गरिरहेको उल्लेख गरे ।
यता अन्य विभिन्न मन्त्रालयहरूमा पनि मन्त्रीलाई बधाई दिन कार्यकर्ताहरूको मेला नै लागेको थियो । यता ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री दीपक खड्का कार्यक्रममा व्यस्त भएका कारण दिउँसोको समय उनको कार्यकक्ष सुनसान थियो ।
- हेर्नुहोस् भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणको बार आज कसलाई कति फलदायी ? हेरौँ राशिफल
-
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
-
फेरि बढ्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्रा कसको दर कति ?
-
टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जना भ्रष्टाचारमा दोषी ठहर
-
पुराण वाचनमा पास हुने पण्डितलाई प्रमाणपत्रको व्यवस्था
-
१२ बजे, १२ समाचार : वामदेवसँग सहकार्य गर्ने एमालेको निर्णयदेखि भूमि अध्यादेशले घरजग्गा कारोबार चम्काउने अनुमानसम्म