फ्रेन्चाइज क्रिकेटमा नेपाली खेलाडीको छलाङ
काठमाडौँ । पछिल्लो समय नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । विश्व क्रिकेटका कतिपय कीर्तिमान पनि नेपाली क्रिकेटसँग जोडिएको छ । यसले नेपाली क्रिकेटलाई क्रमशः व्यावसायिक बाटोमा अग्रसर बनाउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
पछिल्लो समय विभिन्न राष्ट्रमा आयोजना हुने फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा पनि नेपाली खेलाडीको उपस्थिति बढ्दो छ । विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका कारण नेपाली खेलाडी पनि अन्तर्राष्ट्रिय चर्चाको विषय बन्न थालेका छन् ।
यसै क्रममा प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी सन् २०२४ मा विभिन्न राष्ट्रमा आयोजना भएको वा हुने चारवटा फ्रेन्चइज प्रतियोगितामा खेल्ने पहिलो नेपाली क्रिकेटर बन्दैछन् । उनले यो वर्ष इन्टरनेशनल लिग (आईएल) टी–२० खेलिसकेका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई)मा जनवरी १९ देखि फेब्रुअरी १७ तारिखसम्म आयोजना भएको आईएल टी–२० लिगमा उनी गल्फ जाइन्ट्समा आबद्ध थिए । ६ वटा टोलीको सहभागिता रहेको आईएल लिगको समूहगत चरणमा दीपेन्द्रको टोली दोस्रो हुँदै अघिल्लो चरणमा पुगेको थियो ।
दीपेन्द्रको टोली गल्फ जाइन्ट्स १० मध्ये ६ खेलमा विजयी र चार खेलमा पराजित भएको थियो । उनको टोली क्वालिफायर चरणमा पराजित भएको थियो । उनको टोली क्यालिफायर–१ मा एमआई इमिरेट्ससँग ४५ रनले र क्वालिफायर–२ मा दुबई क्यापिटल्ससँग नौ विकेटले पराजित भएको थियो ।
यसैगरी दीपेन्द्रसिहित नेपालका तीनजना खेलाडीले यसै वर्ष क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ पनि खेल्ने भएका छन् । ग्लोबल टी–२० क्यानडामा नेपालका प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछाने र दीपेन्द्र एउटै टोली भ्यानकुभर नाइट्समा रहेका छन् ।
सन्दीप र दीपेन्द्रसँगै नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले पनि ग्लोबल टी–२० लिग खेल्नेछन् । कप्तान रोहित टोरन्टो नेशल्समा आबद्ध छन् । रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्न लागेका हुन् । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुँदैछ ।
यसैगरी, दीपेन्द्रले यसै वर्ष स्कटिस टी–१० लिग पनि खेल्ने भएका छन् । स्कटल्यान्डको ‘स्कटिस टी–१० लिग’ मा उनी पर्थ रोयल्समा आबद्ध छन् । प्रतियोगिताको यो पहिलो संस्करण हो । प्रतियोगिता अगस्त १६ देखि ३१ तारिखसम्म सञ्चालन हुने बताइएको छ ।
‘स्कटिस सुपर टी–१०’ इङ्ल्यान्डबाहिर आयोजना हुन लागेको युरोपको पहिलो अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेट लिग हो । प्रतियोगितामा ६ वटा टोलीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा विश्वकै चर्चित खेलाडीहरूको उपस्थिति रहने छ ।
यसैगरी, दीपेन्द्रले यसै वर्ष आयोजना हुने ‘म्याक्स ६० क्यारिबियन टी–१०’ मा पनि सहभागिता जनाउने भएका छन् । म्याक्स ६० क्यारिबियन लिगमा दीपेन्द्रका अतिरिक्त नेपाली टोलीका रोहितकुमार पौडेलको पनि सहभागिता रहने बताइएको छ ।
म्याक्स ६० क्यारिबियन टी–१० लिग क्रिकेट केम्यान टापुमा अगस्त १८ देखि २५ तारिखसम्म आयोजना हुनेछ । उक्त लिगमा दीपेन्द्रले ग्रान्ड केम्यान स्टिङ्ग्रेजबाट खेल्नेछन् । उक्त टोलीमा एलेक्स हल्स, रोविन उथप्पा, बेन डंकलगायतका खेलाडी पनि आबद्ध छन् ।
कप्तान रोहितले भने दी मियामी लायन्सबाट आफ्नो क्षमता प्रदर्शन गर्नेछन् । मियामी लायन्समा वेस्ट इन्डिजका प्रभावशाली खेलाडी ड्वेन ब्राभो पनि सहभागी छन् । यसका अतिरिक्त उक्त टोलीमा सोएब मलिक, रवि बोपार, कोरी एन्डर्सनजस्ता खेलाडी पनि आबद्ध रहेको बताइएको छ ।
यद्यपि, स्कटिस सुपर टी–१० र म्याक्स ६० क्यारिबियन टी–१० लिगको विषयमा भने आफूहरूलाई औपचारिक रूपमा जानकारी नरहेको नेपाली क्रिकेटको नेतृत्वदायी निकाय नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ‘यूएईमा सम्पन्न आईएल र क्यानडामा हुने ग्लोबल टी–२० लिगको बारेमा क्यानलाई जानकारी छ । बाँकी दुई लिगको विषयमा औपचारिक रूपमा जानकारी छैन,’ क्यान स्रोत भन्छ ।
नेपाली टोलीका पूर्वकप्तान पारस खड्का, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामीलगायतका खेलाडीले यसअघि पनि विभिन्न राष्ट्रमा फ्रेन्चाइज क्रिकेट खेलिसकेका छन् । सन्दीपले त विश्वको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औपचारिक रूपमै समातिए दक्षिण कोरियाली राष्ट्रपति येओल
-
गाजामा युद्धविराम तत्कालै सुरु नगर्न इजरायली सेनालाई नेतन्याहुको आदेश
-
सरकारले गर्ने हरेक काम पारदर्शी र जनउत्तरदायी : मुख्यमन्त्री आचार्य
-
अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हदसम्बन्धी विवाद छानबिन गर्न ३ सदस्य छानबिन समिति गठन
-
बागमती प्रदेशमाथि कोशी प्रदेशको रोमाञ्चक जित
-
सैफलाई रक्ताम्मे छाडेर दिदीको घर गएकी थिइन् करिना ?