आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आकर्षणले एक वर्षमा शून्य लागतमा २७०० नेपालीलाई वैदेशिक रोजगारीमा पठायो

मङ्गलबार, ०१ साउन २०८१, १७ : ३०
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । आकर्षण  इन्टरनेशनलले एक वर्षमा दुई हजार ७०० भन्दा बढी नेपालीलाई वैदेशिक रोजगारीमा पठाएको छ । शून्य लागतमा नेपालीहरूलाई वैदेशिक रोजगारीमा पठाउँदै आएको आकर्षणले गत आर्थिक वर्ष २०८०/०८१ मा दुई हजार ७१७ जनालाई पठाएको हो । 

सन् २०१५ देखि नै फ्री भिसा, फ्री टिकट को नीतिभन्दा माथि शून्य लागतमा कामदार पठाउँदै आएको अध्यक्ष विष्णु बहादुर केसीले बताए । 

उक्त संस्था स्थापनाको १९ वर्ष पुरा गरी २० औँ वर्षमा प्रवेश गरेको छ । आकर्षणले कामदारलाई कुनै पनि खर्च नलाग्ने गरी न्यायोचित नियुक्तिको प्रक्रिया अवलम्बन गरी पूर्णतया शून्य लागतमा कामदारहरू पठाउँदै आएको अध्यक्ष केसीले बताए । 

कामदार विदेश जाँदा निःशुल्क र पारदर्शी तरिकाले विदेश जान पाउनु पर्छ भन्ने आकर्षणको मान्यता रहेको उनको भनाइ छ । त्यसैले कामदार विदेश जाँदा लाग्ने सम्पूर्ण खर्चहरू जस्तै भिसा, टिकट, मेडिकल, बिमा, कल्याणकारी कोष, सामाजिक सुरक्षा कोषका साथै अन्तर्वार्तादेखि उडानसम्मको प्रक्रियामा आउने जाने गाडी भाडा, खाना, बस्नको व्यवस्थापन एव राहदानी बापतको शुल्क समेत भुक्तानी दिँदै आएको केसीले बताए । 

श्रमिकहरूको सम्पूर्ण हक अधिकार र सुरक्षाको प्रत्याभूति गराउँदै वैदेशिक रोजगारमा पठाउने गरेको उनको भनाइ छ । 

शून्य लागतको प्रक्रियाबाट वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरूको घर परिवारमा आर्थिक भार नपर्ने साथै राज्यको ढुकुटीमा समेत उल्लेखनीय टेवा पुगिरहेको उनको भनाइ छ । वैदेशिक रोजगारीमा शून्य लागतमा विदेश पठाउने मेनपावर संस्था र न्यायोचित नियुक्तिको प्रयत्नमा लागेका सरोकारवाला संस्थाहरूलाई सरकारले हौसला प्रदान गर्नुपर्ने उनले बताए । 

सरकारले लिएको शून्य लागतको नीति व्यवहारिक रूपमा कार्यान्वयन भएको खण्डमा विदेश जाने श्रमिक लाभान्वित हुने उनको भनाइ छ । 

स्वच्छ भर्ना प्रक्रिया अवलम्बन गरी वैदेशिक रोजगारका लागि काम गरिरहेका नेपालका मेनपावर कम्पनीहरूलाई सरकारले प्रोत्साहन तथा सहजिकरण गरी सबैले शून्य लागतमा काम गर्ने अवसरको सृजना गर्नु नै आजको आवश्यकता रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप