आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय
अपराध

दुबईबाट तस्करले पठाएको साढे २ केजी सुन काठमाडौँमा गायब

सुन फिर्ता गराउन ४० लाख माग्ने हवलदारविरुद्ध मुद्दा
मङ्गलबार, ०१ साउन २०८१, १६ : ५५
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । दुबईबाट सुन कारोबार गर्ने एक जना भारतीय नागरिकले पठाएको सुन काठमाडौँमा गायब भएको खुलेको छ । सात–आठ महिनाअघि कमल भन्ने भारतीय नागरिकले दुबईबाट नेपाल आउने दुईजनालाई भरिया बनाएर साढे २ केजी सुन पठाएका थिए । मलद्वारमा लुकाएर सुन ल्याउनेहरु अहिले सम्पर्कमा छैनन् ।

सिन्धुपाल्चोकका युवाहरूले सुन लुटेको आशङ्का गरिएको छ । तस्कर समूहले सुन फिर्ता लिन अनेक प्रयत्न गरे । सोही प्रकरणमा नेपालमा घर भएर दुबईमा बस्ने राजु केसीलाई तस्कर समूहले दुबईमा कुटपिट गरेपछि प्रहरीका वरिष्ठ हवलदार सुन्दर नेपाली सम्पर्कमा आए । सुन्दरले सुन फिर्ता गराउने आश्वासन दिँदै तस्करसँग ४० लाखको डिल गरेको खुलेको छ।

दुबईबाट कमलले ४० लाख रकम पठाउन तयार भए । रकम दिएर सुन फिर्ता लिन राजुले आफ्नी पत्नीलाई काठमाडौँ पठाए । तर, पैसा बुझाएर सुन फिर्ता लिन चावहिल पुगेका ४ जना रकम सहित पक्राउ परे । २०८० चैत १ मा ४० लाख नगद सहित इलाम घर भएका कुमार कामी, ललितपुरका अस्कर जोशी, पोखरा घर भएका डोन शाही उर्फ दिपेश र मोरङ घर भएकी २४ वर्षीया कल्पना मगर पक्राउ परेका हुन् । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टिम पक्राउ गर्न जाँदा वरिष्ठ हवलदार नेपाली पनि त्यहीँ भेटिए । अनुसन्धान कार्यालयका प्रहरीहरूसँग उनले भने, ‘म उपत्यका प्रहरी कार्यालयबाट आएको हुँ, म पनि यहि (हुण्डी कारोबारको) सूचना फलो गर्दै थिएँ ।’ अपराध अनुसन्धान कार्यालयको पत्र अनुसार उनीहरूलाई काठमाडौँ प्रहरीले राष्ट्रबैंक अन्तर्गतको कसुरमा मुद्दा अघि बढायो ।

अनि, खुल्यो सुनको रहस्य

४० लाख नगद सहित ४ जना पक्राउ परेपछि साढे २ केजी सुन ‘गायब’ भएको तथ्य केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी श्याम ज्ञवालीले थाहा पाए । काठमाडौँमा एउटा समूहले सुन लुटेको र त्यसमा प्रहरी पनि संलग्न भएको सूचना आएपछि आफूले अनुसन्धान गर्न लगाएको ब्युरोका एआईजी श्यामलाल ज्ञवालीले रातोपाटीलाई बताए । ज्ञवालीले भने, ‘त्यसमा प्रहरीका वरिष्ठ हवलदारको संलग्नता खुलेसँगै पक्राउ गरेर मुद्दा चलाएका छौँ ।’

रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयको ‘इन्टेलिजेन्स शाखा’मा कार्यरत वरिष्ठ हवलदार सुन्दरलाई ब्युरोले असार ९ मा पक्राउ गरेर मुद्दा चलाएको हो । उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान गरेर प्रतिवेदन बुझाएको एआईजी ज्ञवालीले जानकारी दिए ।

‘गायब’ भएको साढे दुई केजी सुन फिर्ता गराउने आश्वासन दिएर नेपालीले साढे दुई लाख बुझेको उनको बैंक स्टेटमेन्टबाट पुष्टि भएको छ । चाबहिलमा थप रकम बुझ्न गएका उनी अपराध अनुसन्धान कार्यालयको प्रहरी पुगेपछि ‘बहाना’ बनाएर फुत्किएका थिए । सुन ल्याउने भरिया र ‘गायब’ बनाउनेहरु अझै फरार छन् । गायब सुन कसले लग्यो भन्नेबारे पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप