तरकारीमा मनसुनी प्रभाव : एक महिनामा साढे ४ सय प्रतिशतसम्म मूल्यवृद्धि
काठमाडौँ । पछिल्लो समय तरकारीको मूल्य अचाक्ली वृद्धि भएको छ । बर्खा लागेसँगै तरकारीको मूल्यमा अप्रत्याशित रूपमा मूल्य वृद्धि हुन थालेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महिनाको फरकमा करिब २१ प्रकारको तरकारीको मूल्य एक सय प्रतिशतभन्दा बढीले बढेको छ । लोकल सानो गोलभेँडा, टनेलको गोलभेँडा, लोकल बन्दा, भन्टा लामो, हाइब्रिड घिउ सिमी, पुदिना, काँक्रो हाइब्रिड, भिण्डीलगायत विभिन्न तरकारीको भाउ एक सय बढी प्रतिशतले बढेको हो ।
समितिका अनुसार गत महिना प्रतिकिलो २५ रुपैयाँ पर्ने तोरीको सागको मूल्य ४५३ प्रतिशतले वृद्धि भएर १३८ रुपैयाँ पुगेको छ । यस्तै, गत महिना असारको पहिलो साता प्रतिकिलो १२ रुपैयाँ पर्ने लोकल सानो गोलभेँडाको मूल्य १०२ प्रतिशतले वृद्धि भएर २५ रुपैयाँ पुगेको छ ।
यसैगरी प्रतिकिलो १९ रुपैयाँ पर्ने टनेलको गोलभेँडाको मूल्य १०७ प्रतिशतले वृद्धि भएर ३९ रुपैयाँ प्रतिकिलो पुगेको छ । जिरीको सागको मूल्य पनि ४२९ प्रतिशतले वृद्धि भएको कालीमाटी विवरणमा उल्लेख छ । गत महिना जिरीको सागको मूल्य प्रतिकिलो ८५ रुपैयाँमा कारोबार भएको सागको मूल्य ४५० रुपैयाँ पुगेको छ ।
पुदिनाको मूल्य एक महिनामा २३९ प्रतिशतले वृद्धि भएर गत महिना १५५ रुपैयाँ पर्ने पुदिनाको मूल्य ५२६ रुपैयाँ पुगेको छ । यस्तै, गत महिना ३५ रुपैयाँ प्रतिकिलो पर्ने भिण्डीको मूल्य ३०० प्रतिशतले बढेर १४० रुपैयाँ पुगेको छ ।
एक सय प्रतिशतभन्दा बढी मूल्य वृद्धि भएका तरकारीको विवरण:
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार वर्षातको समयमा तरकारीको उत्पादन घट्ने, बजारसम्म तरकारी ल्याउन नसकिने र तरकारी ढुवानी गर्दा धेरै मात्रमा सड्ने भएकाले तरकारीको मूल्यवृद्धि भएको हो । ‘यतिबेला उत्पादन कम हुन्छ, बजारसम्म ल्याउने अवस्था सहज छैन, किसानहरू रोपाइँमा व्यस्त हुन्छन्, वर्षाका कारणले तयार भएका तरकारीमा असर गर्छ, त्यसकारण मूल्य बढेको हो,’ उनले भने, ‘उत्पादन छैन, बजारमा आपूर्ति हुन सकेको छैन, खुल्ला बजारमा तरकारी मूल्य नियन्त्रण गर्न समस्या नै पर्छ ।’
तरकारीको माग उही रहने तर उत्पादन र बजारमा आपूर्ति कम भएकाले मूल्यवृद्धि भएको उनको तर्क छ । ‘किसानको उत्पादन हुँदा पनि बजारसम्म ल्याउन सक्ने अवस्था छैन,’ उनले भने, ‘बजारसम्म ल्याउने क्रममा यति बेला तरकारीहरू धेरै सड्ने गल्ने हुन्छ । यसले बजार लागत बढ्छ ।’
बजारमा तरकारी पाइँदैन वा महँगो हुन्छ भन्ने मानसिकता छ । यसले पनि तरकारीको मूल्यमा प्रभाव पार्ने उनले दाबी गरे ।
- तरकारी आपूर्ति घट्दो
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गत महिनाको तुलनामा तरकारीको आपूर्ति घटेको छ । उत्पादन कम हुने र बाटो सहज नभएकाले आपूर्ति घटेको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।
गत महिना दैनिक आलु रातो २ लाख किलो आपूर्ति हुँदै आएको आलु हाल ५६ प्रतिशतले घटेर दैनिक ८७ हजार किलो कालीमाटी बजार आपूर्ति भइरहेको छ । यस्तै, भिण्डी गत महिना दैनिक २६ हजार किलो आपूर्ति हुन्थ्यो । हाल ६७ प्रतिशतले आपूर्ति घटेर ८ हजार किलो आपूर्ति भइरहेको छ ।
यस्तै, दैनिक १० हजार किलो आपूर्ति हुने हरियो खुर्सानी हाल ७२ प्रतिशतले आपूर्ति घटेर २६ सय किलो मात्रै आपूर्ति भइरहेको छ ।
कालीमाटीमा आपूर्ति भएको तरकारीको विवरण:
अनुचित मूल्यमा तरकारी बिक्री गरेको पाइए त्यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । कसैले अधिकतम फाइदा लिने हिसाबले धेरै महँगोमा तरकारी बेचेको छ भने त्यस्तालाई पनि कारबाही पनि गरिन्छ ।
तर पछिल्लो समय बढेको तरकारीको मूल्य वास्तावमै आपूर्ति हुन नसक्दा, उत्पादनमा कमी, बर्खामा तरकारी बढी कुहिएर लागत खर्च बढी लाग्ने कारणले वृद्धि भएको अनुगमनका क्रममा आफूले फेला पारेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता आनन्दराज पोखरेल बताउँछन् । ‘हामीले तरकारी बजारको मूल्यवृद्धिको अनुगमन गर्यौँ,’ उनले भने, ‘सबै व्यापारीहरूले बर्खाका कारणले मूल्यवृद्धि भएको बताए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो