बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
सिमलताल पहिरो

दाजुको पर्खाइमा चार दिनदेखि चितवनमा अनिल

मङ्गलबार, ०१ साउन २०८१, १४ : ०७
मङ्गलबार, ०१ साउन २०८१

चितवन । असार २८ गते बिहान फोन गर्दा अरबिन्दको दुवै (एलसेन र एनटीसी) नम्बरमा सम्पर्क हुन सकेन । परिवारले ठान्यो— मोबाइलमा चार्ज सकियो कि !  

असार २७ गते साँझ, भाइ अनिलले दाजु अरबिन्द पण्डितलाई वीरगन्जबाट काठमाडौँका लागि बस चढाएका थिए । शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरेका २२ वर्षीय अरबिन्द सेवा अवधिका लागि पत्र बुझ्न काठमाडौँ जाँदै थिए । काठमाडौँ पुगेर फोन गर्ने वाचासहित उनी बस चढेका थिए । 

देशभरजसो वर्षा सुरु भइसकेको थियो । बाढी–पहिरोको समाचार पनि फाट्टफुट्ट आउन थालेका थिए । उज्यालो भएसँगै वीरगन्जबाट भाइ अनिलले अरबिन्दलाई पटक–पटक फोन गरे । बिहान घर्कनै लाग्दा पनि फोन लागेन ।  

अन्ततः अनिलले दाइका साथी विशाल केशरीलाई फोन गरे । विशाल अरबिन्दका क्लासमेट मात्रै होइनन्, होस्टलमा रुममेट समेत हुन् ।  विशालबाट जवाफ आयो, अरबिन्द काठमाडौँ आइपुगेका छैनन् । अनि अनिललाई शङ्का भयो, किनभने उनले दुईवटा बस पहिरोमा परेको खबर पाइसकेका थिए । 

उनले काठमाडौँको बसपार्कमा चिनेका व्यक्तिलाई फोन गरेर बुझे । स्पष्ट भयो— अरबिन्द चढेको बस (एन्जल डिलक्स, बस नं. १५१६) नै दुर्घटनामा परेको रहेछ । दाजु चढेको गाडी नम्बर र दुर्घटना भएको बसको नम्बर मिलेपछि उनी आत्तिए । 

‘दुर्घटनाबारे थाहा भएपछि घर–परिवारमा रुवाबासी चल्यो । जसोतसो माहोल सामान्य बनाएर परिवारका सबै सदस्य चितवन आयौँ । चितवन आइपुग्दा प्रहरीले खोजीकार्य सुरु गरिसकेको थियो,’ सोमबार भरतपुर अस्पताल परिसरमा भेटिएका अनिलले भने, ‘तर आजसम्म दाइको अत्तोपत्तो छैन ।’

खोजीकार्य भइरहँदा परिवारका सदस्य सबै एक दिन चितवन बसे । भोलिपल्ट भने अनिल, अनिलका अङ्कल र अनिलका भिनाजुबाहेक अरु वीरगन्ज फर्किए ।

अनिलले अस्पतालमा आएका शवलाई नियालेर हेर्छन् । दाजुकै आकार–प्रकारको शव देख्दा उनको मन चिसो हुन्छ । ‘भेटिएका शवहरू पनि गल्न थालिसके,’ उनी निराश हुन्छन्, ‘तैपनि कतै बेहोस अवस्थामा हुन सक्छन् भनेर घर–परिवारलाई सम्झाउने गरेको छु ।’

चार दिनदेखि अनिल दाजुको खोजीमा चितवनमा छन् । कहिले दुर्घटनास्थल, कहिले त्रिशूलीदेखि नारायणी नदी क्षेत्रको यात्रा त कहिले भरतपुर अस्पताल क्षेत्रमा दाजुको खोजीमा भौँतारिनु उनको दिनचर्या बनेको छ । दाजुको खोजीमा ओहोरदोहोर गर्दा उनका आँखा नदी किनारतिरै दौडिएका हुन्छन् । उनलाई कता–कता झिनो आशा छ— कतै दाइ बेहोस् परेका छन् कि ? यत्तिका दिनसम्म बेहोस् ! फेरि उनी शङ्का गर्छन् ।

असार २८ गते राति ३ः३० बजे चितवनको भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो खस्यो । पहिरोले बगाएर वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ‘गणपति डिलक्स बस’ त्रिशूलीमा परे । यस दुर्घटनामा तीन जना सकुसल छन् भने ६२ जना बेपत्ता रहेको प्रारम्भिक खबर थियो ।

अनिलले अस्पतालमा आएका शवलाई नियालेर हेर्छन् । दाजुकै आकार–प्रकारको शव देख्दा उनको मन चिसो हुन्छ । ‘भेटिएका शवहरू पनि गल्न थालिसके,’ उनी निराश हुन्छन्, ‘तैपनि कतै बेहोस अवस्थामा हुन सक्छन् भनेर घर–परिवारलाई सम्झाउने गरेको छु ।’

वीरगन्जको स्थानीय विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरी अरबिन्द बीएससी नर्सिङ पढ्न काठमाडौँ बस्दै आएका थिए । चारवर्षे कोर्स सकेलगत्तै उनी परिवार भेट्न वीरगन्ज पुगे । छात्रवृत्ति कोटामा अध्ययन गरेकाले नेपाल सरकारले खटाएको स्थानमा उनले सेवा गर्नुपर्थ्यो । सेवाको पत्र बुझ्न काठमाडौँ आएका अरबिन्द अहिलेसम्म बेपत्ता छन् । 

अनिल अवरुद्ध गलासहित भन्छन्, ‘दाइले ग्रामीण भेगमा गएर नागरिकको सेवा गर्ने कुरा गर्नुहुन्थ्यो ।’

उद्धार तथा खोजीकार्यदेखि उनी सन्तुष्ट छैनन् । यति ठुलो दुर्घटना हुँदा पनि राज्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ । ‘५०÷६० जना नागरिक दुर्घटनामा परेका छन् । नेताहरू सरकार बनाउने र मन्त्री खानेमा व्यस्त छन्,’ उनी आक्रोश व्यक्त गर्छन्, ‘नागरिकप्रति नेताहरूको कुनै संवेदना छैन । नागरिकहरूको विषयमा सरकारले सोच्दैन । दुर्घटनामा परेका परिवारलाई राज्यले आर्थिक सहायता प्रदान गर्नुपर्ने हो तर बेपत्ताको खोजी कार्य नै सरकारले गर्न सकेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप