बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट

मङ्गलबार, ०१ साउन २०८१, १२ : ३२
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबिच भेटवार्ता भएको छ । मन्त्री सिंहलाई भेट्न भारतीय राजदूत श्रीवास्तव मङ्गलबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पुगेका हुन् । 

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूका बिचमा नेपालको सहरी विकासको क्षेत्रमा भारतीय सरकारले गर्न सक्ने सहयोगको सम्बन्धमा कुराकानी भएको छ । भेटवार्ता पछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भारतको अनुदान सहयोगमा निर्माण भइरहेका नेपालका पुरातात्त्विक सम्पदाहरूको बारेमा समीक्षा भएको जानकारी दिए । 

भेटमा राजदूतले भारतको सहयोगमा विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको र त्यसमा नेपालले आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएको भन्दै सन्तोष व्यक्त गरेको जानकारी दिए । त्यस्तै राजदूत श्रीवास्तवले भारतीय राजदूतावासबाट २० करोड रुपैयाँसम्मको लागतमा पूर्वाधार निर्माणको काम गर्न तयार रहेको कुरा राखेको पनि उनले जानकारी दिए । 

उनले भने, ‘भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्रीज्यूसँग मैत्रीपूर्ण भेट गर्नुभयो । भेट विशेष गरी उपप्रधानमन्त्रीज्यूको सफल कार्यकालको शुभकामनाको लागि थियो । बधाई र शुभकामना व्यक्त गर्नुभयो । र भारत सरकारले नेपालको सहरी विकासमा के–कस्तो सहयोग गर्न सक्ने सम्भावना छ ? हामी सहयोग गर्न तयार छौँ भन्ने कुरा उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । र अहिले भारतीय सहयोगमा पुनर्निर्माणका केही काम भइरहेका छन् । बिहारहरू लगायत केही पुरातात्त्विक संरचनाहरूको मर्मत सम्भारमा भारतीय अनुदान प्राप्त भएको छ । त्यो बारेमा सामान्य समीक्षा ग¥यौँ । भारतको सहयोगमा विराटनगर, वीरगन्ज, नेपालगन्ज, भैरहवा, महेन्द्रनगरमा एकीकृत जाँच चौकी निर्माण भइरहेको छ । त्यो पूर्ण रूपमा भारतीय सरकारको सहयोगमा बनेको हो । त्यसका लागि जग्गा उपलब्ध गराउने, सामग्रीहरू उपलब्ध गराउने काम सहरी विकास मन्त्रालयमार्फत भइरहेको थियो । त्यसमा उहाँले सन्तोष व्यक्त गर्नुभयो । भारतीय राजदूतावासबाट २० करोड सम्मको लागतमा साना साना पूर्वाधारको निर्माण कार्य गर्नलाई सहयोग प्राप्त हुन्छ, सबै जिल्लामा यो कार्यक्रम लागु गर्न सकिन्छ । त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट एउटा नयाँ कार्यविधि पास भएको छ । त्यो कार्यविधि अनुसार कस्तो कस्तो आयोजनाहरू लिने ? त्यसमा कुन पार्टीको के भूमिका हुन्छ भन्ने कुरा व्यवस्था गरिएको छ । त्यो अन्तर्गत केही काम गर्न हामी तयार छौँ भन्ने कुरा उहाँले व्यक्त गर्नुभयो ।’

भेटवार्तका क्रममा फोहोरमैला व्यवस्थापनका काममा पनि नेपाल–भारतका बिचमा सहकार्य गर्ने सहमति भएको उनले बताए । सचिव गेलालले सौहार्दपूर्ण रूपमा कुराकानी भएको बताए । उनले भने, ‘फोहोरमैला व्यवस्थापन, नदीनालाहरूको प्रदूषणलाई नियन्त्रण गर्ने काममा पनि सहकार्य गर्न सक्छौँ मिलेर काम गरौँ भन्ने कुरा राख्नुभयो । सस्टेनेवल अर्वान डेभलपमेन्टको लागि नेपाल र भारतका बिचमा सहमति गर्ने एमओय गर्ने । हस्ताक्षर गरेर काम गर्ने भनेको । सहमतिका लागि अर्थ मन्त्रालय पठाएका छौँ । सौहार्दपूर्ण कुराकानी भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप