शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सिमलताल दुर्घटना

बेपत्ता यात्रुका परिवार भन्छन्– जिउँदो भेटिने आश छैन, लास भेट्न पाए पनि हुन्थ्यो

मङ्गलबार, ०१ साउन २०८१, १२ : ०८
मङ्गलबार, ०१ साउन २०८१

चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोका कारण बगेका २ वटा बसका अधिकांश यात्रुको अवस्था अझै अज्ञात छ ।

बेपत्ता यात्रुका परिवारका सदस्य चितवनमै बसेर खोजी तथा उद्धार कार्यको प्रगति दैनिक कुर्दै बसिरहेका छन् । भारत, बिहार निवासी ४५ वर्षीय एहसान उल हक तिनैमध्येका एक हुन् । उनी आफ्ना काका आविद हुसेनको अवस्था बुझ्नका लागि चितवनमै बस्दै आएका छन् ।  

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल बसमा सवार थिए आविद हुसेन । काठमाडौँमा गार्मेन्ट सम्बन्धी काम गर्ने उनी इद मनाउन घर गएका थिए । परिवारसँग इद मनाएर काठमाडौँ फर्किने क्रममा असार २७ गते उनी वीरगंजबाट एन्जल बस चढेका थिए ।

बिहान काठमाडौँ पुग्ने र काममा हाजिर हुने उनको लक्ष्य थियो । तर, विडम्बना ! उनी बाटोमै दुर्घटनामा परे । बससहित त्रिशूलीमा खसेका उनको अवस्था अज्ञात छ ।

काकासँगै काठमाडौँमा बसेर काम गर्दै आएका एहसान काका हराएपछि काठमाडौँबाट १५ जनाको टोलीसहित घटनास्थलमा आएका थिए । ३ दिनसम्म काकाको खबर पत्ता नलागेपछि आफूसँग आएका सबैलाई काममा फर्काएर उनी कान्छो काकाको साथमा चितवनमा खोजी तथा उद्धार कार्यमार्फत आउने खबरको प्रतीक्षामा बस्दै आएका छन् ।

simtal pahiro (3)

एहसानलाई घर–परिवारबाट पनि निरन्तर फोन आइरहन्छ । बेपत्ता काकाको अवस्थाबारे सोधिएको प्रश्नको जवाफ दिँदादिँदै उनी थकित हुन्छन् । सबैले सोध्ने प्रश्न करिब उस्तै हुन्छ– ‘के छ ? केही पत्तो लाग्यो ?’

अनि एहसानले दिने जवाफ पनि एउटै हुन्छ, ‘अहिलेसम्म त भेटिएको छैन । पुलिसहरू खोजिरहेका छन् ।’

गार्मेन्टमा कपडा सिलाइको काम गर्ने हुसेनका २ छोरा र ४ छोरी छन् । छोराहरू पनि गार्मेन्टमै काम गर्दै आएका छन् ।

एहसान भने काठमाडौंमा मार्बलको काम गर्दै आएका छन् । एहसानलाई २ दिन अघिसम्म काका सकुशल भेटिने आश थियो । तर अब भने उनले आश मारिसकेका छन् ।

अहिलेसम्म फेला परेका शवको अवस्था प्रत्यक्ष देखेका एहसानलाई काका जिउँदै भेटिने आश छैन तर शव भेटियोस् भन्ने कामना गरिरहेका छन् ।

‘अब त जिउँदो भेटिने आशा छैन । हिजो अस्तिसम्म त जिउँदो भेटिन्छ भन्ने लागेको थियो । अब त गाह्रो भयो,’ उनले भने, ‘अब त शव भेटिन पनि गाह्रो हुन्छ भन्ने लागिरहेको छ ।’

simtal pahiro (1)

चितवनको गर्मीमा सोमबार घटनास्थलमा चाउचाउ र पानी खाँदै गरेको अवस्थामा भेटिएका एहसानको दैनिकी घटनास्थल, अस्पताल गरेर बितिरहेको छ । काका भेटिए कि भन्ने आशासहित उनी अस्पताल र घटनास्थल तथा प्रहरीले खोजीकार्य गरिरहेको ठाउँमा पुग्छन् ।

नारायणगढबाट १८ किलोमिटर पश्चिमउत्तर पर्ने सिमलताल (घटनास्थल), त्रिशूली र नारायणी नदीको किनार डुल्नु उनको दैनिकी हो । कसैको शव भेटियो भन्ने थाहा पाउनासाथ उनी भरतपुर अस्पताल पुग्छन् ।

उजाडिएको घटनास्थल, बेग लिएर बगेको नदी अनि अस्पतालको शवगृह पुग्नु उनको नियमित कामजस्तै बनेको छ ।

उद्धारमा खटिएको प्रहरीले बेपत्ता यात्रुका परिवारको मोबाइल नम्बर लिएर ह्वाट्स एप ग्रुप बनाएको छ । खोजतलासका क्रममा भेटिएका व्यक्तिको फोटो सोही ग्रुपमा प्रहरीले राखिदिने गरेको छ । त्यो फोटो हेरेर पहिचानका लागि आफन्तहरु आउने गरेका छन् ।

चितवनको इमेज प्यालेस होटलमा ३ दिनदेखि निःशुल्क बसिरहेका उनी प्रहरीसँग समन्वय गरेर काठमाडौँ फर्किने तयारीमा छन् । काका भेटिएपछि आउने गरी काठमाडौँ जाने सोच बनाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप