बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा कोलम्बियन फुटबल सङ्घका अध्यक्ष पक्राउ

मङ्गलबार, ०१ साउन २०८१, १० : १०
मङ्गलबार, ०१ साउन २०८१

काठमाडौँ । कोपा–अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा पराजित भएको एक दिनपछि नै कोलम्बियन फुटबल महासङ्घका अध्यक्ष रामोन जेसुरन पक्राउ परेका छन् । अध्यक्ष जेसुरनसँगै उनको छोरा रामोन जमिल पनि पक्राउ परेका हुन् ।

७१ वर्षीय रामोन र ४३ वर्षीय रामोन जमिललाई स्थानीय समयअनुसार, सोमबार बिहान अमेरिकामा पक्राउ गरिएको समाचारमा जनाइएको छ । आइतबार सम्पन्न कोपा–अमेरिकाको अर्जेन्टिनाविरुद्धको फाइनल खेलका क्रममा कर्मचारी, सुरक्षाकर्मी (सेक्यूरिटी गार्ड) र पदाधिकारीसँग झगडा गरेको आरोपमा उनीहरूलाई प्रकाउ गरिएको मियामीका प्रहरीले जनाएका छन् ।

प्रतयोगिताको फाइनलमा अर्जेन्टिनाले कोलम्बियालाई अतिरिक्त समयमा १–० गोलले हराएको थियो । आफ्नो टोली फाइनलमा पराजित भएपछि अध्यक्ष रामोन जेसुरन र रामोन जमिलले कर्मचारी, सुरक्षाकर्मी र खेल पदाधिकारीसँग झगडा गरेका थिए ।

यस विषयमा अध्यक्ष रामोन र उनका छोराको भने कुनै अभिब्यक्ति सार्वजनिक भएको छैन । मियामी प्रहरीका अनुसार, फाइनल खेल सकिएलगत्तै अध्यक्ष रामोन र उनका छोराले हार्ड रक स्टेडियममै कर्मचारी, सुरक्षाकर्मी र खेल पदाधिकारीसँग अभद्र व्यवहार गरेका थिए ।

खेल सकिएपछि अध्यक्ष रामोन र उनका छोरा ड्रेसिङ रुमबाट मैदानतर्फ गइरहेका थिए । त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीहरूलाई रोकिन आग्रह गरेका थिए । त्यसपछि अध्यक्ष रामोन र उनका छोराले आक्रोशित भएर सुरक्षाकर्मीसँग विवाद गरेको स्थानीय प्रहरीले जनाएको छ ।

सुरक्षाकर्मीले उनीहरूलाई अगाडि बढ्नबाट रोक्ने क्रममा अध्यक्ष रामोनका छोरालाई छातीमा समाएर धकेलेको बताइएको छ । सुरक्षाकर्मीले आफ्नो छोरालाई धकेलेपछि आक्रोशित बनेका अध्यक्ष रामोनले पनि सुरक्षाकर्मीको घाँटीमा समाएर धकेलेको समाचारमा उल्लेख छ ।

आफ्ना छोरालाई सुरक्षाकर्मीले अभद्र व्यवहार गरेपछि आक्रोशित भएका अध्यक्ष रामोनले ती सुरक्षाकर्मीलाई मुक्का र खुट्टाले पनि हिर्काएको बताइएको छ । त्यसक्रममा अध्यक्ष रामोनका छोराले सुरक्षाकर्मीलाई हिर्काउन पनि आफ्ना पितालाई सघाएको बताइएको छ ।

यसका अतिरिक्त अन्य दुई व्यक्तिले पनि सुरक्षाकर्मीमाथि हातपात गरेको स्थानीय प्रहरीको दाबी छ । फाइनल खेल सकिएपछि अध्यक्ष रामोन, उनका छोरा र कोलम्बियन टोलीका अन्य सदस्य पुरस्कार वितरण समारोहमा सहभागी हुन मैदानतर्फ जान लागेको अनुमान गरिएको छ । कोलम्बियन फुटबल महासंघले भने हालसम्म यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप