मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

यस कारण म हरेक साउनमा व्रत बस्छु

मङ्गलबार, ०१ साउन २०८१, १० : ०१
मङ्गलबार, ०१ साउन २०८१

हाम्रो देश नेपाल विभिन्न धर्म र संस्कार र संस्कृतिले भरिपूर्ण छ । नेपालीले बार र महिनालाई पनि विशेष महत्त्वका साथ लिने गरेका छौँ । साउन महिना एक प्रकारले हेर्ने हो भने प्रकृतिसँग नजिक हुने महिना पनि हो, साउन हरियो महिना हो । साउनभरि हरियो वातावरणले प्राकृतिक शोभायमान हुन्छ । साउनमा खासगरी हिन्दु धर्ममा आस्था राख्ने आमा–दिदीबहिनीहरूले भगवान् भोलेनाथको व्रत बस्ने गर्छन्, साउनलाई भगवान् भोलेनाथको प्रिय महिनाका रूपमा लिने गरिन्छ ।

हिजोआज साउन र सोमबारको व्रतलाई विशेष तरिकाले उत्सवका रूपमा मनाउन थालिएको छ । साउनमा व्रत नबस्ने कतिपय महिलाले पनि हरियो, पहेँलो चुरा र मेहन्दी लगाएको देख्न सकिन्छ । देशभरका शिवालयमा हरियो चुरा, पोते र रातो पहिरनमा सजिएका युवती तथा महिलाको घुइँचो लाग्छ । हरियो चुरा, हरियो पहिरन लगाएर हिँड्ने कुरालाई आजभोलि प्राकृतिक वातावरण एवं बोट–बिरुवासँग पनि जोडेर हेरिन्छ । हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो साउन महिनाभरि हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मानसँग जोडेर हेर्न सकिन्छ । 

  • धार्मिक दृष्टिकोणले साउन 

शास्त्रमा साउनलाई मासोत्तम मास अर्थात् सबैभन्दा उत्तम महिना भनिएको पाइन्छ । साउनको सुरुको दिन अर्थात् संक्रान्तिलाई विशेष महत्त्व दिइएको पाइन्छ, किनभने यसै दिनदेखि सूर्य दक्षिणायण हुन्छ र दिन छोटा अनि रात लामा हुन थाल्छन्, जुन क्रम माघेसङ्क्रान्तिसम्म रहन्छ । ज्योतिष विज्ञानअनुसार साउन अर्थात् श्रावण महिनाको पूर्णिमाका दिन आकाशमा श्रवण नक्षत्रको योग निर्माण हुन्छ । त्यसैले यो महिनाको नाम श्रावण रहेको हो । धार्मिक गुरुहरूका अनुसार श्रावण महिना शिवजीको प्रिय महिना भएकाले खानपानमा सात्त्विक र पहिरनमा गेरुवस्त्र धारण गर्ने, ‘ओम नमः शिवाय’ जप्ने महिना मान्छन् । श्रावणको सोमबारबाट पुरुषहरू पनि गेरुवस्त्र धारण गरेर ‘बोलबम’ अलाप्दै हिँडेको देख्न पाइन्छ । बोलबमको असली अर्थ हो, ‘ओम नमः शिवाय’ मन्त्र जप्नु । 

  • साउने सोमबार

साउने सोमबारका दिन भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो दिनको शिवोपासना विशेष मानिन्छ । अझ यो महिनाको सोमबार गरिने शिवको व्रत पूजा विशेष फलदायी हुने मान्यता छ । यस दिन आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ । हस्ता नक्षत्रयुक्त सोमबारको व्रतको प्रभावले पार्वतीले महादेव स्वामी पाएको प्रसङ्ग पुराणमा पाइन्छ ।

व्रतले शरीरको महत्त्वपूर्ण अङ्ग मस्तिष्कको काम गर्ने क्षमतामा पनि वृद्धि हुने; शरीरमा इन्सुलिनको मात्रा बढाउने; शरीरको रोग प्रतिरक्षा प्रणाली क्रमिक रूपमा बलियो हुँदै जाने; अनुहारको छालालाई सफा, प्राकृतिक चमक बढाउन मद्दत पुर्‍याउने; चिन्ता, तनाव र पीडा कम गर्न सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

हिन्दू धर्ममा साउने सोमबारलाई धर्मकर्मको दिन र विशेषगरी आराध्यदेव शिवको प्रिय दिन मानिन्छ । साउनमा अधिक वर्षा हुनाले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ, त्यसैले शिवलाई साउन महिना बढी प्रिय लागेको बुझिन्छ । साउनमा प्रकृतिले नै रुद्रीभिषेक गर्ने मानिन्छ । शिव पुराणअनुसार, शिव स्वयं जल भएकाले यो महिना धेरै वर्षा हुने विश्वास गरिन्छ । 

हाम्रा पौराणिक ग्रन्थमा ब्रह्मालाई सृष्टि, विष्णुलाई रक्षा र शिवलाई संहारका देवता मानिएको छ । शिवलाई सम्पूर्ण देवताका पनि देवता अर्थात् देवाधिदेव महादेव भनिएको छ । शिवको अर्थ कल्याण भएकाले श्रावणमा विधिपूर्वक शिवको आराधना गर्दा उनी खुसी भएर सुख प्रदान गर्ने, पाप नाश गर्ने र भक्तलाई कल्याण गर्ने देवताको रूपमा शिवको उपासना गरिन्छ । 

  • व्रत किन बस्ने ?

व्रत विभिन्न उद्देश्यका साथ बसिन्छ । व्रत भगवानलाई खुसी बनाउनका लागि मात्र होइन, यो कुनै आस्थासँग मात्रै जोडिएको छैन, यो हाम्रो स्वास्थ्यका लागि पनि होे । वर्षमा एक महिनासम्म एक छाक खाएर सात्त्विक भोजन गर्दा हाम्रो पाचन प्रणालीलाई सुधार गर्छ । मानिस शक्तिशाली र बुद्धिमानी हुन माछामासु नै खानुपर्छ भन्ने धारणा पनि रहेको पाइन्छ, तर पूर्ण सत्य होइन । स्टिभ जब्स, अल्बर्ट आइनस्टाइन र बिल क्लिन्टनजस्ता संसारका शक्तिशाली व्यक्तिहरू जो शाकाहारी थिए । 

मेडिकल विज्ञान अनुसार व्रतले शारीरिक रूपमा फाइदा नै पुर्‍याउने बताइएको छ, तर लामो समयसम्म अन्न–पानी नखाई निराहार व्रत बस्दा शरीरमा आवश्यक पौष्टिक तत्त्वको कमी हुन सक्छ, विभिन्न स्वास्थ्य समस्या देखिन सक्छ र पानीको कमीले डिहाइड्रेसन भयो भने मिर्गाैलाले काम नगर्नेसम्म हुन सक्छ । यद्यपि पानी तथा फलफूल खाएर ६ महिना वा वर्ष दिनमा एक महिना वा १५ दिनसम्म व्रत बस्दा शरीरलाई फाइदा नै गर्छ । यो शरीरलाई केही समय आराम दिएजस्तै मानिन्छ । 

समय–समयमा बसिने व्रतले शरीरमा सुगरको मात्रा नियन्त्रण हुने, मधुमेहको जोखिमबाट बचाउने, स्वस्थ जीवनयापन हुने, मुटु स्वस्थ हुने र मोटोपना भएका मानिसमा क्यालोरीको मात्रा घट्ने चिकित्सक बताउँछन् । यसरी बसिने व्रतले शरीरको महत्त्वपूर्ण अङ्ग मस्तिष्कको काम गर्ने क्षमतामा पनि वृद्धि हुने; शरीरमा इन्सुलिनको मात्रा बढाउने; शरीरको रोग प्रतिरक्षा प्रणाली क्रमिक रूपमा बलियो हुँदै जाने; अनुहारको छालालाई सफा, प्राकृतिक चमक बढाउन मद्दत पुर्‍याउने; चिन्ता, तनाव र पीडा कम गर्न सहयोग पुग्ने अनुसन्धानबाट देखिएको छ ।

हप्तामा एक दिन वा महिनामा तीन पटकसम्म नियमित रूपमा व्रत बस्ने गर्दा दिमागको एकाग्रता बढ्छ । शरीरको थकान र तनावमा समेत कमी आउने र कोलेस्ट्रोलको मात्रा कम हुन्छ । विशेषगरी भगवान्का नाममा व्रत बस्दा मानसिक हिसाबले शान्ति मिल्छ, धैर्य गर्ने ऊर्जा प्राप्त हुन्छ  । आत्मानुशासन र सकारात्मक सोचको वृद्धि गर्छ । त्यसैले धार्मिक र वैज्ञानिक हिसाबले पनि म हरेक वर्षको साउनमा व्रत बस्छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेश भट्ट आश्रिन
सुरेश भट्ट आश्रिन
लेखकबाट थप

छुटाउनुभयो कि ?