शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
सङ्क्रान्ति

साउने सङ्क्रान्ति अर्थात् लुतो फाल्ने दिन

मङ्गलबार, ०१ साउन २०८१, ०९ : ४३
मङ्गलबार, ०१ साउन २०८१

साउनको १ गतेलाई साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति भनिन्छ । यस वर्षको साउने सङ्क्रान्ति आषाढ शुक्ल दशमी मङ्गलबार (जुलाई १६ तारिख) परेको छ । सङ्क्रान्तिलाई हामीकहाँ लुतो फाल्ने दिन भनेर पनि जानिन्छ । 

सङ्क्रान्तिमा सूर्यको दर्शन, पूजा–आराधना गरिन्छ । हाम्रो हिन्दु संस्कृति पाञ्चायन देवतामा पनि सूर्यको पूजा आराधना गरिन्छ । आराधना गर्दा सूर्यको वैदिक मन्त्र छ :

ॐ आकृष्णे नरजसा वर्तमानो निवेश यन्नमृतम्मत्र्यञ्च । 
हिरण्ययेन सविता रथेना देवोयाति भुवनानि पश्यान् ।। 

  • सूर्यलाई अर्घ्य 

सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् ।
पद्माभ नेत्राय सुपङ्कजाय, ब्रहृमेन्द्र नारायण कारणाय ।।
सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् ।
प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।।
नमः शिवाय शान्ताय सगणय दि हे तवे । 
रुद्राय विष्णवे तुभ्यं ब्राहृमणे सूर्यमूर्तये ।।
एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते । 
अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।।

हामीले सामान्य रूपमा महिनालाई वैशाख, जेठ, असार भनेजस्तै वैदिक तथा ज्योतिष शास्त्रीय भाषामा मेष, वृष, मिथुन, कर्कट आदि गरी १२ मास वा राशि भनिन्छ । यी १२ मासमध्ये पृथ्वीको कर्कट रेखामा सूर्य रहँदा पृथ्वी परिभ्रमण पथको ठिक्क ९० डिग्रीमा रहेको हुन्छ । यसो भन्नुको मतलब सूर्य पृथ्वीको कर्कट रेखामा रहेको मानिन्छ । श्रावण सङ्क्रान्तिमा सूर्य कर्कट रेखाको उच्चतम् धुरीमा रहेको हुन्छ । श्रावण सङ्क्रान्ति भनेझैँ श्रावण महिनालाई नै कर्कट महिना भनिन्छ । श्रावण सङ्क्रान्तिदेखि सूर्य दक्षिणतर्फ मोडिने हुनाले यो दिनदेखि सूर्य दक्षिणायण हुन सुरु गरेको भनिन्छ । यो समयमा दिन लामा र रात छोटा हुन्छन् । 

पृथ्वीलाई काल्पनिक रूपमा भूमध्यरेखा, कर्कटरेखा र मकररेखा भनी विभाजन गरिएको छ । यस्ता रेखाहरू अरू पनि छन्, जस्तै : अक्षांश रेखा, देशान्तर रेखा आदि । पृथ्वीले सूर्यलाई घुम्न बाटुलो तर पूर्व–पश्चिम केही लामो एउटा परिभ्रमण रेखा बनाएको हुन्छ । यही रेखामा पृथ्वी घुम्दा कहिले कर्कट सङ्क्रान्ति, कहिले मकर सङ्क्रान्ति, कहिले मेष सङ्क्रान्ति र कहिले तुला सङ्क्रान्ति पर्छन् वा भनिन्छ । यी भए चार मुख्य सङ्क्रान्ति । यी चार सङ्क्रान्तिसहित अरू आठ गरी जम्मा १२ सङ्क्रान्ति हुन्छन् । यी कुरालाई तलको परिभ्रमण तस्बिरमा देखाइएको छ । 

मेष सङ्क्रान्तिमा सूर्य पृथ्वीको भूमध्यरेखा अर्थात् पूर्वको ० डिग्री हुन्छ । यस समय पृथ्वीमा दिन र रात बराबरी हुन्छन् । तुला सङ्क्रान्तिमा सूर्य पश्चिमको १८० डिग्रीमा रहेको हुन्छ । यस समय पनि सूर्य पृथ्वीको भूमध्यरेखामा रहेको हुनाले दिन र रात बराबर हुने गर्छन् । कर्कट सङ्क्रान्तिमा सूर्य पृथ्वीको उत्तरमा ९० डिग्री कर्कट रेखा हुन्छन् भने माघे सङ्क्रान्तिमा सूर्य पृथ्वीको २७० डिग्री दक्षिण मकर रेखामा हुन्छन् । सूर्य ० डिग्रीदेखि १८० डिग्री उत्तरसम्म भएको अवस्थालाई उत्तरायण भनिन्छ भने सूर्य १८० डिग्रीदेखि दक्षिण ० डिग्रीसम्मको अवस्थालाई दक्षिणायण भनिन्छ । 

saun1

पृथ्वीले सूर्यको कक्षमा परिभ्रमण गर्दा एक सङ्क्रान्तिबाट अर्को सङ्क्रान्तिसम्म पुग्दा आफ्नो अक्षमा करिब ३० डिग्रीको कोण बनाएको हुन्छ । जस्तै : मेष सङ्क्रान्तिबाट जेष्ठ सङ्क्रान्तिसम्मको समयलाई ३० डिग्री, जेष्ठ सङ्क्रान्तिदेखि आषाढ सङ्क्रान्तिसम्मको समयलाई अर्को ३० डिग्री गरी ० देखि ६० डिग्रीको कोण बन्छ । यसै गरी आषाढ सङ्क्रान्तिदेखि साउन वा कर्कट सङ्क्रान्तिसम्मको समय अर्को ३० डिग्री गर्दा ९० डिग्रीको कोण बन्छ । यसरी माथि नै भनियो कि यो कर्कट सङ्क्रान्तिका दिन सूर्य ९० डिग्रीको उच्चतम् बिन्दुमा रहन्छ । यो समय उत्तरी गोलाद्र्धमा गर्मी हुन्छ । 

यही रूपले पृथ्वी घुम्दै जाँदा कार्तिक वा तुला सङ्क्रान्तिमा सूर्य प्रभावका हिसाबले अत्यन्तै कमजोर स्थितिमा रहेको हुन्छ । अझ घुम्दै जाँदा सूर्य २७० डिग्रीमा दक्षिणी गोलाद्र्ध पुग्दा हामी यहाँ मकर सङ्क्रान्ति वा माघे सङ्क्रान्ति मनाइरहेका हुन्छौँ । यो समयमा दिन छोटा र रात लामा हुन्छन् । उत्तरी गोलाद्र्धमा जाडो हुन्छ र दक्षिणी गालाद्र्धमा गर्मी हुन्छ । पृथ्वी २७० डिग्री हुँदै उकालो लागेर पुनः ० डिग्रीमा आइपुग्छ । यो समय पुनः मेष सङ्क्रान्तिमा आइपुग्दा हामी यहाँ विक्रम सम्वत् अनुसार नयाँ वर्ष मनाइरहेका हुन्छौँ । यो समय पृथ्वीमा दिन र रात, जाडो गर्मी बराबर हुन्छ । यसरी पृथ्वीले एक वर्ष पूरा गर्छ वा सूर्यको एक फन्को लगाएको हुन्छ ।

हाम्रो हिन्दु परम्परा अनुसार कर्कट वा उत्तरायणको धेरै महत्त्व छ । समय वा लगन जुराएर वा दिन हेराएर गरिने धार्मिक तथा सांस्कृतिक कार्यहरू यही उत्तरायणमा गरिन्छ । यसमा अर्को के विश्वास गरिएको छ भने उत्तरायण भनेको देवताको दिन हो र दक्षिणायण भनेको देवताको रात मानिन्छ । उत्तरायणमा दिन लामा हुन्छन् र रात छोटा हुन्छन् भने दक्षिणायणमा दिन छोटा र रात लामा हुन्छन्, तर आधुनिक वा भौतिक विज्ञानले जुन २१ तारिख (आषाढ ७ वा ८) मा दिन सबैभन्दा लामा र रात छोटा हुन्छन् भनेको छ । यो तल दिएको तस्बिरबाट पृथ्वीको परिभ्रमण र कर्कट सङ्क्रान्तिको अवस्थिति देख्न पाइन्छ । नेपाल यही कर्कट रेखा अर्थात् २३.५ डिग्री आक्षांश रेखामा रहेकाले पनि यसको बढी महत्त्व रहेको पाइन्छ ।

यसैगरी सङ्क्रान्ति, त्यसमा पनि कर्कट सङ्क्रान्ति र औँसीको संयोजनबाट अधिकमास र क्षयमास बन्ने गर्छ । जुन चन्द्रमासमा वा दुई औँसीका बिचमा सूर्य सङ्क्रान्ति पर्दैन, त्यसलाई अधिकमास र जुन चन्द्रमासमा वा दुई औँसी बिचमा दुई सङ्क्रान्ति पर्छ, त्यसलाई क्षयमास भनिन्छ । यसरी मलमास र क्षयमासका लागि सङ्क्रान्तिले भूमिका खेलेको हुन्छ । लामो महिना (३१, ३२ दिनका महिना) यही उत्तरायणमा हुने हुनाले मलमास यही उत्तरायण वा कर्कट महिनाको आसपासमा पर्ने गर्छ भने छोटा (२९, ३० दिनका) महिना यही दक्षिणायणमा हुने हुनाले क्षयमास पनि यही दक्षिणायणमा मकर महिनाको आसपासमा पर्ने गर्छ ।

पुराणहरूमा श्रवणबाट श्रावण भएको भन्ने पाइन्छ । हिन्दु कथन वा पुराण अनुसार ब्रह्माका विभिन्न पुत्रमध्ये अत्रि र श्रवण थिए । अत्रिले ब्रह्माण्ड वा खगोलमा भएका सबै कुरा देखेर खगोलीय स्थितिको ज्ञान दिएर ज्योतिषशास्त्र बनाउन मद्दत भयो । श्रवण भनेको सुन्नु हो । श्रावण महिना वा श्रावण सङ्क्रान्तिका दिन सूर्य कर्कट रेखाको उच्चतम् बिन्दु (धुरी)मा पुगेको हुनाले सूर्यको सहायताले श्रवणकुमारद्वारा पूर्णरूपले पूरै निखिल ब्रह्माण्डको शब्दब्रह्म (ब्रह्माण्डमा भएका सबै कुरा) श्रवण गर्छ भन्ने मान्यता छ । यगरी श्रवणकुमारले ब्रह्माण्ड वा खगोलमा भएका सबै कुरा (शब्दब्रह्म) सुनेर स्वर्ग, मत्र्य र पाताल अनि पूर्वजन्म र पुनर्जन्मका कुरा सुनेर गरुड आदि पुराणमा लेखिए । यसैले श्रावण सङ्क्रान्तिको महत्त्व धेरै भएको भनिन्छ । यही श्रावण सङ्क्रान्तिका दिन शिवजीका विभिन्न स्वरूपमध्ये दक्षिणामूर्तिको स्वरूप रहन्छ भन्ने मान्यता अनुसार यस दिन शिवजीलाई दक्षिणामूर्ति वा देवताको गुरु मानेर शिवजीको पूजा आराधना गरिन्छ । दक्षिणमूर्ति आराधनाको श्लोक यस्तो रहेको छ । 

निधये सर्बविद्यानां भिषजे भव रोगिणाम् । 
गुरवे सर्बलोकानां दक्षिणामूर्तय नमः ।।

श्रावण महिनामै शिवजीले क्षिरसागरबाट उत्पन्न हलाहल विष पान गरेर गोसाइकुण्डमा विषको डाह मार्न सुत्नुभएको भनिन्छ । त्यही विषको डाह कम होस् भनी हिन्दुहरू श्रावण महिनामा शिवजीलाई जल अर्पण गर्छन् । 

श्रावण महिनामै पार्वतीले व्योमकुट (सगरमाथा) पर्वत वरिपरि (गौरी शङ्कर वा कोशी नदीको शिर) हिमालयमा हरियो वस्त्र लगाएर तपस्या गरी शिवजीलाई पतिका रूपमा प्राप्त गरेकी थिइन् रे । यो महिना हामी मनसुनी क्षेत्रमा रहेका हुँदा प्रकृति पूरै हरियो भएको हुन्छ । प्रकृति भनेकै पार्वती । त्यसो भएर नै हिन्दु महिलाहरू श्रावण महिनामा हरिया वस्त्र, चुरा, टिका, पोते आदिमा सजिएर शिवको पूजा अर्चना गर्छन्; जल चढाउँछन् । फेरि ज्योतिषशास्त्र अनुसार हरियो रङ बुधको हो । बुध भनेको सन्तानको प्रतीक पनि हो । तसर्थ हिन्दु महिलाहरू हरियो रङमा रङ्गिएर सन्तान प्राप्ति, सन्तानको सुख अनि समृद्धिको प्रार्थना गर्छन् ।

नेपाल कृषि प्रधान देश, मनसुनी क्षेत्र हुनाले पूर्वमनसुनका समयमा मकै, घैया, कागुनो आदि रोपेर वा छरेर सकिन्छ । असारमा मनसुन सुरु हुन्छ । यो असार महिनाभरमा हाम्रो मुख्य बाली धान रोपाइँ सकिन्छ । त्यही मुख्यबाली धान रोपाइँ सकिएको उपलक्ष्यमा यो कर्कट वा साउन सङ्क्रान्तिलाई वास्तवमा हिलो फाल्ने वा लुतो फाल्ने पर्वका रूपमा मनाइन्छ । हाम्रा मुख्य चाड पर्वहरू यही कर्कट सङ्क्रान्तिबाट सुरु हुने गर्छन् । यस हिसाबले यो कर्कट सङ्क्रान्ति पर्वले अरू पर्वहरू (नागपञ्चमी, ऋषिपञ्चमी, कृष्णजन्माष्टमी, कुसेऔँसी, दशैँ–तिहार आदि)को ढोका खोलेजस्तै मानिन्छ ।

माथि भने अनुसार यो कर्कट वा साउने सङ्क्रान्तिलाई लुतो वा हिलो फाल्ने दिनका रूपमा चित्रण गरिएको छ । यसका पनि विभिन्न कथन पाइन्छन् । 

जसमा पहिलो कथन अनुसार, साउने सङ्क्रान्तिका दिन साँझ कुकुरडाइनो, भलायो, कुरिलो, पानीसरो, पुरेनी, गलेनी लगायत औषधीय वनस्पति बालेर बेलुकी घरको आँगनबाट चारै दिशामा र खेतबारीमा खरानीसहितको अगुल्टो फालिन्छ । यसलाई लुतो फ्याँकेको भन्ने चलन छ । कृषिप्रधान देश नेपालमा रोपाइँ सकिएर धान गोड्न खेतबारीमा पस्दा छालासम्बन्धी रोग (दाद, लुतो, खटिरा आदि) नलागोस् भनेर आगो र खरानी सहितको अगुल्टो खेतबारीमा फाल्ने चलन चलेको हो भनेको पनि पाइन्छ । 

यसरी लुतो फाल्ने भनेर अगुल्टो फाल्दा ‘लुतोपुतो लैजा तल्लाथोके’ भन्दै ठुलो स्वरले फलाकिन्छ । लुतोपुतो लैजा त भनियो तर यसमा तल्लाथोके किन भनिएको होला । आफ्नो खेतबारी घरभन्दा तलतिर भएको हुनाले यसो भनिएको पो हो कि ? 

दोश्रो कथन अनुसार, कण्डारक नामक राक्षसले दुःख दिएको हुनाले सो दिन अग्निलाई पूजा गरी राक्षसलाई मन्छाउने (मनाउने) र अब उसलाई गाउँमा फेरि नआउनका लागि अगुल्टो फालिन्छ । यो भूत मन्छाएकोलाई लुतो मानेर फालेको भन्ने पनि कहावत पाइन्छ । साथै लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने पनि गर्ने गरिन्छ । गाउँ छिमेकबाट भूतप्रेत भगाउन यसो गरिएको हो भन्ने कुरा लोक कहावतमा पाइन्छ । यसरी यो कर्कट सङ्क्रान्तिलाई लुतो वा हिलो फाल्ने पर्वका रूपमा पनि मनाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप