बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय

झापावासी भन्छन्– प्रधानमन्त्री ओलीको नेतृत्वमा विकासले गति लिनेछ

सोमबार, ३१ असार २०८१, २२ : ५६
सोमबार, ३१ असार २०८१

झापा । चौथोपटक प्रधानमन्त्री बनेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबाट गृह जिल्लावासीले सन्तुलित विकासको अपेक्षा राखेका छन् । प्रधानमन्त्री ओलीको कार्यकालमा जिल्लामा अधुरा रहेका योजनाले पूर्णता पाउनुका साथै देशभर सन्तुलित विकास हुने अपेक्षा गरेका हुन् ।

नेपाली कांग्रेस झापाका जिल्ला सचिव कृष्ण हुमागाईंले प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको आफ्नो पार्टीको सरकारका पालामा समग्र मुलुकको विकासले गतिलिने विश्वास व्यक्त गरे । उनले भने, “उहाँले झापा जिल्लामा अधुरा रहेका योजना र थप महत्वका पूर्वाधार निर्माणमा ध्यान दिनुहुने नै छ । साथै विगतका कमजोरी सुधारेर जनतामा आशा र भरोसा जगाउने गरी काम गर्नुहुने आशा जागेको छ ।”

उनले विगतमा आफ्नै निर्वाचन क्षेत्रलाई मात्र पर्याप्त बजेट थोपरेको आरोप लागेकाले अब भने समग्र जिल्ला र प्राथमिकताका आधारमा देशका अन्य भूभागमा समेत विकास हुने अपेक्षा गरिएको धारणा राखे ।

दमक नगरपालिकाका प्रमुख राम थापाले आफूले भोट दिएर जिताएको व्यक्ति पुनः प्रधानमन्त्री बनेकामा खुसी लागेको भन्दै जिल्लाका अधिकांश अपूरा र अधुरा विकास निर्माणका कामले पूर्णता पाउने आशा पलाएको बताए ।

नगरप्रमुख थापाले प्रधानमन्त्री ओलीले यसअघि सुरू गरेका औद्योगिक पार्क लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले अब बाँकी कामलाई पूर्णता दिन उनले ध्यान दिनुहुनेमा आफूहरु विश्वस्त रहेको सुनाए । उनले भने, “रवि चिसापानी सडक विगत १५ वर्षदेखि बन्न सकेको छैन, अब सडकले गतिलिने छ । अरू योजना पनि अगाडि बढाउन भेटेरै प्रस्ताव गर्ने योजना छ ।”

समाजसेवी हरिचरण बानियाँले प्रधानमन्त्री ओलीले भ्रष्टाचार न्यूनीकरर्ण, औद्योगीकरण र शिक्षामा आमूल परिर्वतनगरी युवालाई विदेश पलायनबाट रोक्न ध्यान दिनुपर्ने सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप