मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

नयाँ सरकारमा लुम्बिनीबाट उपप्रधानमन्त्री सहित २ मन्त्रीको प्रतिनिधित्व

सोमबार, ३१ असार २०८१, १९ : ३२
सोमबार, ३१ असार २०८१

बुटवल । केपी शर्मा ओली नेतृत्वको सरकारमा लुम्बिनी प्रदेशले उपप्रधानमन्त्रीसहित दुई मन्त्री पाएको छ । दुवै मन्त्री एमालेबाट प्रतिनिधित्व गर्दछन् ।

लुम्बिनी प्रदेशबाटै प्रतिनिधित्व गर्ने एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री नियुक्त भएका छन् भने बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका छन्  । 

एमाले उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विष्णु पौडेल ८ औँ पटक मन्त्री बनेका हुन् भने पाँचौँ पटक अर्थमन्त्री भएका हुन् । कपिलवस्तु जिल्ल क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलराम अधिकारी दोस्रो पटक मन्त्री बनेका हुन् ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र जसपा रहे पनि एमालेबाहेक अन्य दलले भने लुम्बिनीबाट प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाएनन् ।

पाँचौँ पटक अर्थमन्त्रालयको जिम्मा पौडेललाई

स्याङ्जा जिल्ला, पुतली बजार नगरपालिका, वडा नं.१०, राङखोलामा २०१६ मङ्सिर १५ गते जन्मिएका विष्णुप्रसाद पौडेलले पाँचौँ पटक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । एमालेको केन्द्रीय कमिटीको उपाध्यक्षसमेत रहेका पौडेल २०७९ मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा रुपन्देही निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित सांसद हुन् ।

यसअघि २०७९ पुस ११ देखि फागुन १५ सम्म उनी उप–प्रधानमन्त्री तथा अर्थमन्त्री बनेका थिए । २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म, २०७७ असोज २८ देखि २०७८ वैशाख ३१ सम्म र २०७२ कार्तिक १९ देखि ०७३ साउन १९ सम्म पनि उनले अर्थमन्त्रीका रूपमा काम गरेको उनका स्वकीय सचिव यमराज पाण्डेयले रातोपाटीलाई बताए ।

पौडेलले रक्षामन्त्रीको रूपमा २०६७ चैत ३ देखि २०६८ भदौ ११ सम्मका काम गरे । यस्तै जलस्रोत मन्त्रीका रूपमा २०६५ भदौ ६ देखि २०६६ जेठ ७ सम्म र युवा, खेलकुद तथा संस्कृति मन्त्रीको रूपमा २०५३ चैत १२ देखि २०५४ असोज १० सम्म उनले जिम्मेवारी सम्हालेका छन् ।

स्याङ्जा जन्मिए पनि पौडेल २०५१ कात्तिक २९ मा सम्पन्न निर्वाचनमा पाल्पा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए । त्यसपछि उनी रुपन्देही झरेका हुन् । रुपन्देहीमा क्षेत्र नम्बर ३ मा २०५६ सालमा पराजित भएका पौडेल त्यसपछिका निर्वाचनमा लगातार निर्वाचित हुँदै आएका छन् ।

उनी रुपन्देही क्षेत्र नम्बर ४ बाट २०६४ र ०७० को निर्वाचनमा विजयी भए भने क्षेत्र नम्बर २ बाट २०७४ र ०७९ को निर्वाचनमा विजयी भए ।

२०३४ मा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीबाट राजनीतिक जिम्मेवारी सुरु गरेका पौडेलले एमालेको उपाध्यक्ष बन्ने अवसरसमेत पाए ।

दोस्रो पटक मन्त्री बने अधिकारी

यस्तै कपिलवस्तु क्षेत्र नम्बर १ बाट निर्वाचित बलराम अधिकारी दोस्रो पटक मन्त्री बन्न सफल भएका छन् । उनी यसअघि प्रचण्ड नेतृत्वको सरकारमा पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीको भूमिकामा थिए । अहिले पनि उनलाई सोही मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८, चप्परगाउँ निवासी अधिकारी ०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कपिलवस्तु १ बाट निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी माओवादीका चक्रपाणि खनाललाई पराजित गरेका थिए । खनाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनका साझा उम्मेदवार थिए । तर अधिकारीले ३६ हजार ६१९ मत प्राप्त गर्दा खनालले १८ हजार १९० मतमात्र पाएका थिए ।

अधिकारीको संसदीय निर्वाचन यात्रा भने २०५६ सालबाटै सुरु भएको थियो । २०५६ सालमा कपिलवस्तु–३ बाट उम्मेदवार भए पनि पराजित भएका उनी २०६४ सालको संविधान सभा निर्वाचनमा कपिलवस्तु–१ बाट पराजित भए ।

२०७० को संविधान सभा सदस्य निर्वाचनमा कपिलवस्तु–१बाट उनी विजयी भए । त्यसपछि अधिकारी २०७९ को निर्वाचनमा विजयी भए ।

कास्की जिल्लाको मादी गाउँपालिकामा २०१७ साउन ४ गते जन्मिएका उनी २०४३ सालमा कास्कीबाट कपिलवस्तु बसाइँ गरेका हुन् ।

२०४७ सालमा एमाले गठन भएपछि जिल्ला सचिवालय सदस्य र सङ्गठन विभाग प्रमुख भएका अधिकारी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए । अहिले उनी पार्टीको जिल्ला इन्चार्जको जिम्मेवारीमा थिए । उनी नवलपरासी जिल्ला इन्चार्ज भएका हुन ्। उनले दुई वर्ष लुम्बिनी प्रदेश समितिको कार्यालय सचिव भएर समेत काम गरेका थिए ।

अधिकारी लामो समयसम्म शिक्षण पेसामा आबद्ध थिए । उनले कपिलवस्तुको प्रकाश मावि सुन्दरी डाँडामा शिवगढीमा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । पार्टीमा जिम्मेवारी पाउने भएपछि उनी शिक्षण पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप