बुधबार, १४ कात्तिक २०८१
ताजा लोकप्रिय
गण्डकी प्रदेश

गण्डकीका कार्यालय प्रमुखले अनुमति विना बिदा बस्न नपाउने

सोमबार, ३१ असार २०८१, १७ : ३८
सोमबार, ३१ असार २०८१

पोखरा । गण्डकी प्रदेशका सबै सरकारी कार्यालयका प्रमुखहरूले अनुमति विना कार्यक्षेत्र छोड्न नपाउने भएका छन् । सोमबार मुख्यमन्त्री कार्यालय पोखरामा भएको बैठकले कार्यालय प्रमुखले कार्यालय छोड्न नपाउने गरी निर्णय गरेको हो ।

 ‘मनसुनजन्य विपद्को सम्भावित अवधिभर खानेपानी, सिँचाइ, पूर्वाधार विकास, स्वास्थ्य लगायत प्रदेश सरकार मातहतका मन्त्रालय, निर्देशनालय, निकाय तथा जिल्लास्तरका कार्यालय प्रमुखले सम्बन्धित मन्त्रालयका सचिव एवम् सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमति बिना कार्यक्षेत्र नछोड्न लेखी पठाउने,’ निर्णयमा भनिएको छ । 

बैठकमा मनसुनजन्य विपद्‌बाट भएको जनधनको क्षति सँगै सम्भावित जोखिमबारे जानकारी गराइएको थियो । मनसुनजन्य विपद्‌बाट थप क्षति हुन नदिन सम्भावित जोखिममा रहेका बासिन्दालाई पूर्व जानकारी गराउने र सम्बन्धित निकायहरूबाट सचेतनामूलक सन्देशको प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको छ ।

यस्तै, विपद्को अवस्थामा आपत्कालीन खोज, उद्धार, राहत लगायत काम गर्न प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र स्थानीय तहमा रहेका विपद् उद्धारमा प्रयोग गर्न सकिने सवारी साधन एवम् एम्बुलेन्सलाई समन्वयात्मक रूपमा परिचालन गर्ने निर्णय पनि भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको नेतृत्वमा भएको बैठकले विपद्को सम्भावित क्षेत्रको भौगोलिक अध्ययनको लागि भूगर्भविद् सहितको टोली झिकाउने निर्णय गरेको छ ।

 ‘उक्त टोली खटाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा लेखी पठाउने,’ निर्णयमा भनिएको छ, ‘यससँग सम्बन्धित टोली परिचालनको समयमा सडक, खानेपानी तथा सरसफाइ हेर्ने लगायतका प्रदेश र जिल्लास्थित कार्यालयले आवश्यक समन्वय गर्ने ।’

विपद्को कारण सडक पूर्वाधार, खानेपानी तथा सिँचाइका संरचनामा पुगेको क्षति र मर्मत सम्भार सम्बन्धी विवरण सम्बन्धित मन्त्रालयले तयार गरी तत्काल मर्मत र पुनः निर्माण गर्न निर्देशन दिइएको छ ।  विपद्‌बाट भएको र हुने सक्ने क्षतिलाई न्यूनीकरण गर्न आपत्कालीन रूपमा प्रयोग गर्नुपर्ने पाइप, तारजाली तथा सार्वजनिक निर्माण लगायत कामको लागि खरिद प्रक्रिया छरितो गर्ने र स्थानीय तह वा वडाको सिफारिस तथा विपद्को फोटो राखेर वितरण गर्न भनिएको छ ।

बैठकमा मुख्यमन्त्री पाण्डेले विपद् व्यवस्थापन र न्यूनीकरणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए । उनले विपद्को जोखिम अझै रहेकाले सावधानीमा ध्यान दिनुपर्ने, राहत, उद्धार र पुनःस्थापनाका लागि जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए । 

गण्डकीमा विपद्को जोखिम उच्च रहेको विज्ञहरूले बताउँदै आएका छन् । विगत भन्दा पनि अहिले बढी क्षति भएको भन्दै पाण्डेले विपद्का कारण क्षति बेहोर्नुपरेका, ज्यान गुमाएकाहरूको परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत राहत वितरण गरिरहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप