नेपाल पत्रकार महासङ्घ बेलायतको अध्यक्षमा सेने र वरिष्ठ उपाध्यक्षमा बस्नेत
लन्डन । नेपाल पत्रकार महासङ्घ बेलायत अध्यक्षमा विमला सेने र वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत निर्वाचित भएका छन् । आइतबार गोर्खा भवन फार्नबरोमा सम्पन्न शाखाको छैटौँ अधिवेशनले सेनेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अरू दुई प्रतिस्पर्धी श्यामकुमार लुइँटेल र दिनेशकुमार परियारलाई पराजित गर्दै सेने शाखाको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।
कार्यसमितिका अन्य पद भने यसअघि नै निर्विरोध भइसकेका छन् । जसअनुसार वरिष्ठ उपाध्यक्षमा नरेन्द्र बस्नेत क्षेत्री, उपाध्यक्ष (खुला) मा शिव भण्डारी, उपाध्यक्ष (महिला) मा प्रमिला लाबुङ राई, महासचिवमा खेमराज रानाभाट, सचिवमा मन्जु भण्डारी खरेल र विश्वासदीप तिगेला, कोषाध्यक्षमा सविन्द्रकुमार गुरुङ, र सहकोषाध्यक्षमा सुरेन्द्र इङनाम छन्।
त्यस्तै, सदस्यहरूमा वाचस्पति रेग्मी, बमबहादुर थापा, अमित थेबे, नगेन्द्रराज नेम्वाङ, गोमा राना र मिलनध्वज गुरुङ (मिलन तमु) निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई शाखाका पूर्व अध्यक्ष नरेश खपांगीमगर प्रमुख निर्वाचन आयुक्त र पूर्ण गुरुङ एवं प्रजय शुक्ल सदस्य रहेको निर्वाचन समितिले शपथ ग्रहण गराएको थियो ।
कार्यक्रममा निर्वाचन पर्यवेक्षकको भूमिका स्थानीय समुदायका अगुवाहरू एकेन्द्र गुरुङ, विक्रम भट्टराई र मान गुरुङले निर्वाह गरेका थिए ।
यसअघि अध्यक्ष ध्रुवराज अर्यालको सभापतित्वमा भएको अधिवेशन शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, निवर्तमान अध्यक्ष नरेश खपांगीमगर र अध्यक्ष ध्रुवराज अर्यालले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा प्रमुख अतिथि केन्द्रीय प्रतिनिधि तथा महासङ्घ लेखा संयोजक लेखनाथ न्यौपानेले महासङ्घ प्रेस र वाक स्वतन्त्रता तथा श्रमजीवी पत्रकारहरूको व्यावसायिक हक हित एवं श्रम समस्या समाधानका लागि कटिबद्ध रहेको बताए ।
उनले बेलायत शाखाले समयमै अधिवेशन गर्ने तर केन्द्रीय अधिवेशन विभिन्न स्वार्थ समूहले रोक्नु दुःखद भएको उल्लेख गर्दै क्षमायाचना गरे । लोकतान्त्रिक प्रक्रियामा निर्वाचन एउटा आत्मा रहेको उनको भनाइ थियो ।
केन्द्रीय प्रतिनिधि न्यौपानेले बेलायत शाखाले केन्द्रलाई गरेको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्दै शाखाले भूकम्प, कोभिड लगायत अन्य कालखण्डमा गरेको सहयोगप्रति आभार व्यक्त गरे ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले केन्द्रमा दुई पटक अधिवेशन स्थगित भएपनि बेलायत शाखाले निर्धारित समयमा अधिवेशन गरेकामा बधाई तथा शुभकामना दिए । उनले नेपालमा रहेका पत्रकारहरूको समस्यामा सहयोगी बनेकामा शाखालाई धन्यवाद दिए ।
बस्नेतले महासङ्घ सबै पत्रकारहरूको साझा संस्था कसरी बनाउन सकिन्छ र पत्रकारका समस्यामा कसरी सहयोगी बनाउन सकिन्छ भन्नेबारे गम्भीर हुनुपर्ने बताए । उनले एक अर्कामा दोषारोपण गरेर होइन, सहकार्य गरेर अगाडि बढ्न पनि सुझाए ।
नेपाल प्रेस युनियनकी उपमहासचिव दिलिपाश्री अधिकारीले शाखाले बेलायतमा बसोबास गर्ने नेपाली पत्रकारहरूलाई संगठित गर्दै आफ्नो पेसागत ज्ञान, सीप, क्षमता अभिवृद्धिका लागि विभिन्न कार्य गर्दै आउनु प्रशंसनीय रहेको बताउँदै बेलायतको नेपाली समुदायसित नियमित रूपमा सहकार्य र समन्वयसहित बेलायतमा नेपाली पत्रकारिताको पेसागत विकास र मिडियाहरूको दिगो व्यवस्थापनका लागि पहल गर्न महासंघलाई अनुरोध गरिन् ।
उनले आफ्नो व्यक्तिगत र नेपाल प्रेस युनियनकातर्फबाट सहभागी हुने अवसर दिएकामा आयोजक एफएनजे यूकेप्रति आभार समेत व्यक्त गरिन्।
शुभकामना मन्तव्यका क्रममा फोनिज केन्द्रीय अध्यक्ष गजुरधन राईले अधिवेशन सफलताको शुभकामना दिँदै पत्रकार महासङ्घ केन्द्रमा महाअधिवेशन अन्यौलता हुनु विडम्बना भएको बताए ।
महासंघले पूर्वाग्रह बमोजिम आफ्ना सदस्यहरूको निष्कासन गरेको भन्दै असहमति जनाए । राईले प्रेस स्वतन्त्रता खुम्चिँदै जाने हो कि भन्ने चिन्ता समेत प्रकट गरे । उनले कन्टेन्ट र मानव संसाधनमा बराबर प्राथमिकता दिन पनि आग्रह गरे ।
युरोप अध्यक्ष केजिन राईले शुभकामना दिँदै यूके र युरोप शाखाबिच हुँदै आएको सहकार्य निरन्तरतामा जोड दिए।
सो अवसरमा संस्थाको १३ औँ वार्षिकोत्सव केक काटेर उल्लासपूर्वक मनाइएको थियो ।अधिवेशन उद्घाटन सत्र महासचिव नरेन्द्र बस्नेतले सञ्चालन गरेका थिए भने अधिवेशन संयोजक एवम् उपाध्यक्ष प्रमिला लावुङ राईले स्वागत मन्तव्य दिएकी थिइन् ।
अधिवेशनको दोस्रो चरणमा गरिएको बन्द सत्रमा महासचिव नरेन्द्र बस्नेत र कोषाध्यक्ष सविन्द्रकुमार गुरुङका प्रतिवेदनहरूमाथि घनीभूत छलफल गरी पारित गरिएको थियो।
अधिवेशनले महासङ्घ केन्द्रसँग समेत समन्वय गरेर शाखाको विधान निर्माण गर्ने प्रस्ताव पारित गर्दै उक्त कार्यको जिम्मा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष नरेश खपांगीमगर र निवर्तमान अध्यक्ष ध्रुवराज अर्याललाई सुम्पिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास