बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

गहुँतबाट मल र जैविक विषादी

सोमबार, ३१ असार २०८१, १६ : १६
सोमबार, ३१ असार २०८१

म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ घारको बिरौटाका किसानले गहुँतलाई मल र जैविक विषादीको रुपमा प्रयोग गरेका छन् । धौलागिरि बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्ममा पालिएका गाईभैँसीको गहुँतबाट मल र जैविक विषादी बनाइ प्रयोग गरिएको हो । फार्म सञ्चालक शिव खड्काले गहुँतको सदुपयोग गरिएको बताए । 

“२४ वटा गाईभैँसीको गहुँत पोखरीमा सङ्कलन गरी पानी मिसाएर पाइपमार्फत पाखोबारीको सुन्तला बगैँचामा लगेका छौँ,” उनले भने “सुन्तलाका बिरुवाका लागि मल किन्न परेको छैन ।” गहुँतको सदुपयोगले जैविक विषादीको काम गरेकाले दोहोरो फाइदा पुगेको उहाँको भनाइ छ ।  

शिव र उहाँका दाजु कृष्णबहादुरले सञ्चालन गरेको कृषि फार्ममा दूध उत्पादनका साथै च्याउ, सुन्तला र कागती खेती छ । विदेशको जागिर र सदरमुकाम बेनीको व्यवसाय छाडेर गाउँ फर्केका खड्का दाजुभाइले बाँझो पाखोबारीेमा चार सय बोट सुन्तला र एक सय बोट कागती लगाएका छन् । 

गाईभैँसीको दूधबाट आम्दानी गरिरहेका उहाँहरूले मल र गहुँत सदुपयोग गरी खर्च बचाएका छन् । पानी मिसाएर पाइपबाट बिरुवाको फेदमा सिँचाई गर्दा गहुँतले आवश्यक पौष्टिकतत्त्व आपूर्ति भई छिटो हुर्किएको र रोगकीराको समस्या नदेखिएको उनीहरुको अनुभव छ । 

“सुन्तला बगैँचाको खाली ठाउँमा लगाइएको सुडान, मकैचरी, सुपर नेपिएर, नेपिएर जातका घाँस छिटो हुर्किएको छ,” उनले भने, “सुन्तला, घाँस, च्याउखेती र गाईभैँसीपालनका लागि गाउँपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गरेको छ ।”

परियोजनाले कृषि तथा पशुपक्षी उद्यमशीलता विकास कार्यक्रममार्फत फार्मको क्षमता विकास गरी सुधारिएको गोठ निर्माण गर्न चालु आर्थिक वर्षमा रु चार लाख, अन्नपूर्ण गाउँपालिकाले च्याउ खेतीका लागि प्लास्टिक घर बनाउन अनुदान र निःशुल्क घाँसको बीउ उपलब्ध गराएको छ । खड्का दाजुभाइले सुन्तला खेतीमा गरेको गहुँतको प्रयोग नयाँ भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत विक्रम बस्यालले बताए । 

“गहुँतमा गोबर मलको तुलनामा नाइट्रोजन, फस्फोरसलगायत तत्त्व बढी पाइने भएकाले सदुपयोग गर्न सकेमा राम्रो लाभ लिन सकिन्छ,” उनले भने, “सिधैँ प्रयोग गर्दा बिरुवा हस्किएर क्षति हुन सक्छ । पानीमा मिसाएर ठिक्क मात्रामा प्रयोग गर्दा राम्रो हुन्छ ।” 

दैनिक एक सय ४० लिटर दूध उत्पादन हुने फार्ममा खड्का परिवारका छ सदस्य स्वरोजगार बन्नुका साथै थप दुईले रोजगार पाएका छन् । बिरौटाका अन्य किसानले उत्पादन गरेको दूध बजारीकरण गर्न खड्का दाजुभाइले गाउँपालिकाको केन्द्र पोखरेबगरमा डेरी सञ्चान गरेका छन् । 

पोखरेबगर, भुरुङ–तातोपानी, नारच्याङका साथै बेनी बजारमा दूध बिक्री हुने गरेको छ । अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले अन्नपूर्णको घराम्दी, राम्चे, नागी, खिवाङलगायत ठाउँका किसानले गाईभैँसीको गहुँतको सदुपयोग गरेको जानकारी दिए । किसानले उत्पादन गरेको कृषि उपज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनको तयारी गरेको उनले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप