बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

सिटबेल्ट भएको मोटरसाइकल ल्याउँदैछ चिनियाँ कम्पनी

सोमबार, ३१ असार २०८१, १५ : ५३
सोमबार, ३१ असार २०८१

बेइजिङ । नयाँ मोडलको डिजाइन बनाउँदा मोटरसाइकल निर्माताका लागि सबैभन्दा ठुलो चिन्ता सुरक्षाकै हुन्छ । पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर अनेकौँ विकल्पहरू प्रस्तुत भइरहेका छन् । 

तर दुर्घटना भएको समयमा बाइकमा सवार व्यक्तिलाई सुरक्षित बाहिर निकाल्ने तरिकाको भने विकास हुन सकेको छैन । चीनको शीर्ष दुई पाङ्ग्रे सवारी साधन निर्माता कम्पनी सीएफ मोटोले नयाँ अवधारणाको पेटेन्ट निवेदन दायर गरेको छ । यसमा मोटरसाइकल चालकका लागि सिट बेल्ट हुनेछ । 

साइकल वर्ल्डका अनुसार कम्पनीले मोटरसाइकलका लागि एक खालको सिटबेल्टको कन्सेप्टका लागि पेटेन्ट दर्ता गरेको छ । यस्तो खालको सोलुसनको कन्सेप्ट बनाउन वा लागू गर्ने प्रयास खासै भएका छैनन् । कारमा जस्तो मोटरसाइकलमा चालकको सुरक्षा बढाउन सकिने सम्भावना कम हुन्छ ।

  • कस्तो छ सिट बेल्टको अवधारणा ?

सिटबेल्टको अवधारणाको मुख्य उद्देश्य विशेष स्थितिमा चालकलाई पकडेर राख्नु वा समात्नु हो । मोटरसाइकलको अगाडिको हिस्सासँग कुनै कठोर वस्तुमा ठोक्कियो वा मोटरसाइकल दायाँ वा बायाँपट्टि पल्टिएको अवस्थाका लागि भनेर फरक फरक कन्सेप्ट अगाडि सारिएको छ । एउटा चाहिँ इन्धन हाल्ने ट्याङ्की र सिटको ठिक पछिको ठाउँमा दुई ओटा बलियो बेल्ट हुनेछ । बेल्टलाई खुला र बन्द दुवै पोजिसनमा सेट गर्न सकिन्छ ।

कम्पनीले अर्को कन्सेप्ट पनि पेश गरेको छ । यसमा एउटा पेटी चालकको पछाडि कम्मरभन्दा अलि तलको हिस्साबाट आएर अगाडि तर्फ अड्काउन मिल्नेछ । यसमा एउटा बक्कल पनि छ । यही बक्कलको सहायताले बेल्टलाई खोल्न र बन्द गर्न सकिन्छ । तेस्रो कन्सेप्टमा कम्पनीले परम्परागत सिटबेल्टको प्रयोग गरेको छ । यो चाहिँ कपडाजस्तो वस्तुले बन्नेछ । यो बेल्ट चालक र पछाडि बस्ने व्यक्ति बिचको हिस्सामा हुनेछ । यो बेल्टले स्प्रिङ मेकानिजम् जसरी काम गर्नेछ । बाइक ठोक्किने बित्तिकै यो आफै खुल्नेछ ।

  • किन पर्‍यो सिट बेल्टको आवश्यकता ?

यो अवधारणाको मुख्य उद्देश्य चाहिँ तीव्र गतिमा मोटरसाइकल हाँकिरहेको समयमा हुने सडक दुर्घटनामा चालक मोटरसाइकलबाट उछिट्टिएर पर हुत्तिनबाट बचाउनु हो । तीव्र गतिमा चलिरहेको मोटरसाइकल दुर्घटनामा पर्दा चालक र यात्री दुवै पर पुग्ने गरेको देखिन्छ । यसका कारण उनीहरूलाई गम्भीर चोट पनि लाग्न सक्छ । तर सिट बेल्टले यस्तो स्थिति रोक्छ ।

तर सीएफ मोटोको सिट बेल्टको अवधारणाको आलोचना पनि भइरहेको छ । केही सञ्चार माध्यमले यसलाई सुरक्षित नभएर असुरक्षित भनेका छन् । कारको तुलनामा मोटरसाइकल बढी जोखिमयुक्त हुन्छ । सिट बेल्टका कारण चालक मोटरसाइकलमै फस्ने सम्भावना हुन्छ । यस्तोमा बाइकले थिच्ने वा मोटरसाइकल चिप्लिँदा मोटरसाइकलसँग चालक पनि चिप्लिने सम्भावना हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप