बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
युरो २०२४

प्रश्नहरूको घेरामा साउथगेट

सोमबार, ३१ असार २०८१, १४ : ४९
सोमबार, ३१ असार २०८१

(साउथगेटले सन् २०१६ देखि इङ्ल्यान्डको राष्ट्रिय टोली समाल्दै आएका छन् । उनको सम्झौता अवधि आगामी डिसेम्बरमा सकिँदैछ । त्यसैले पनि युरोकप उपाधिबाट चुके लगत्तै इङ्ल्यान्डको राष्ट्रिय टोलीमा उनको भविष्यलाई लिएर विभिन्न अड्कल सुरु भएको हो । उनी लगातार दुईपटक आफ्नो टोलीलाई युरोकपको फाइनलमा पुर्‍याउने विश्वकै पहिलो प्रशिक्षक हुन् । उनकै प्रशिक्षकत्वमा इङ्ल्यान्ड सन् २०१८ को विश्वकपको सेमिफाइनल र सन् २०२२ को विश्वकपको क्वार्टरफाइनलमा पुगेको थियो ।) 

काठमाडौँ । युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा इङ्ल्यान्डलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको थियो । पहिलो पटक युरोकप उपाधिको खोजीमा रहेको इङ्ल्यान्ड अन्ततः फाइनल खेलमा स्पेनसँग स्तब्ध बन्न पुग्यो । 

spain-euro

गारेथ साउथगेटको प्रमुख प्रशिक्षकत्वमा रहेको इङ्ल्यान्ड फाइनलमा स्पेनसँग १–२ गोलले पराजित भयो । यो नतिजासँगै विश्व फुटबलमा प्रभावशाली प्रशिक्षकको छवि बनाएका ५३ वर्षीय साउथगेट फेरि एकपटक आलोचकहरूको निसानामा परेका छन् । 

जर्मनी भूमिमा उपाधिबाट चुके लगत्तै साउथगेटको भविष्यको विषयमा पनि प्रश्न ओइरिन थालेको छ । यस्तै एक प्रश्नको जवाफ दिँदै साउथगेटले भनेका छन्, ‘भविष्यको बारेमा निर्णय लिने यो उपयुक्त समय होइन ।’

साउथगेटले सन् २०१६ देखि निरन्तर इङ्ल्यान्डको राष्ट्रिय टोली सम्हाल्दै आएका छन् । तर, उनको पछिल्लो सम्झौता अवधि आगामी डिसेम्बरमा सकिँदैछ । त्यसैले पनि युरोकप उपाधिबाट चुके लगत्तै इङ्लिस टोलीमा उनको भविष्यको विषयलाई लिएर विभिन्न अड्कल सुरु भएको हो । 

सायद त्यसैले जर्मनीको बर्लिनस्थित ओलम्पिया स्टेडियममा युरोकपको फाइनल सकिएलगत्तै सञ्चारकर्मीले उनीसँग सबैभन्दा जोड दिएर सोधेको प्रश्न पनि यही हो, ‘इङ्ल्यान्डको राष्ट्रिय टोलीमा अब तपाईंको भविष्य के हुन्छ ?’ 

gareth-southgate

साउथगेटले भने यो प्रश्नको चलाखीपूर्ण जवाफ दिए । उनले भने, ‘मेरो विचारमा कसैका लागि पनि आफ्नो भविष्यको बारेमा निर्णय लिने यो उपयुक्त समय होइन । यस्तो विषयमा निर्णय लिन केही समय चाहिन्छ । मैले केही जिम्मेवार व्यक्तिसँग सल्लाह पनि गर्नुपर्छ ।’

साउथगेटले प्रमुख प्रशिक्षकको जिम्मेवारी सम्हालेयता ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा इङ्ल्यान्डको प्रदर्शन पक्कै पनि निराशाजनक छैन । उनको प्रशिक्षकत्वमा इङ्ल्यान्डले ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको छ ।  

उनले लगातार दुईपटक इङ्ल्यान्डलाई युरोकपको फाइनलमा पुर्‍याएका छन् । यसअघि इङ्ल्यान्डको टोली सन् २०२० मा सम्पन्न युरोकपको फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित भएको थियो ।

जारी युरोकपमा पनि इङ्ल्यान्ड उत्कृष्ट प्रदर्शनसहित अपराजित रहँदै फाइनलसम्म पुगेको थियो । इङ्ल्यान्ड समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । इङ्ल्यान्डले समूहगत चरणको तीनमध्ये एक खेलमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । 

england

इङ्ल्यान्डले पहिलो खेलमा सर्बियालाई १–० गोलले हराएको थियो । इङ्ल्यान्डको टोली आफ्नो दोस्रो खेलमा डेनमार्कसँग १–१ गोलको बराबरमा र तेस्रो खेलमा स्लोभेनियासँग गोलरहित बराबरीमा रोकिएको थियो । 

यसैगरी इङ्ल्यान्डले प्रि–क्वार्टरफाइनल खेलमा स्लोभाकियालाई अतिरिक्त समयमा २–१ गोलले हराएको थियो । क्वार्टरफाइनलमा इङ्ल्यान्डले स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गरेको थियो । सेमिफाइनलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको थियो । समग्रमा साउथगेटको प्रशिक्षकत्वमा जारी युरोकपमा इङ्ल्यान्डको प्रदर्शन उत्कृष्ट थियो । 

त्यसअघि, साउथगेटकै प्रशिक्षकत्वमा इङ्ल्यान्ड सन् २०१८ मा फिफा विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । त्यतिबेला सेमिफाइनलमा इङ्ल्यान्डलाई क्रोएसियाले अतिरिक्त समयमा १–२ गोलले हराएको थियो । त्यसपछि तेस्रो स्थानका लागि खेलिएको खेलमा इङ्ल्यान्डको टोली बेल्जियमसँग २–० गोलले पराजित भएको थियो ।  

त्यसलगत्तै साउथगेटकै प्रशिक्षकत्वमा इङ्ल्यान्ड सन् २०२२ को विश्वकपमा पनि क्वार्टरफाइनलमा पुगेको थियो । त्यो विश्वकपमा पनि इङ्ल्यान्ड अपराजित रहेर समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । 

त्यो विश्वकपको प्रि–क्वार्टरफाइनलमा पनि इङ्ल्यान्डले सेनेगलमाथि ३–० गोलको सजिलो जित हात पारेको थियो । तर, क्वार्टरफाइनल खेलमा भने इङ्ल्यान्डको टोली बलियो प्रतिद्वन्द्वी फ्रान्ससँग १–२ गोलले पराजित भएको थियो । 

समग्रमा यी नतिजाले साउथगेटलाई कुनै पनि हालतमा असफल प्रशिक्षकको श्रेणीमा उभ्याउँदैन । तर, साउथगेटको प्रशिक्षकत्वमा ठुला प्रतियोगितामा इङ्ल्यान्डको टोली कहिल्यै भाग्यमानी भने साबित हुन सकेन । अर्थात्, अन्तिम समयमा आएर चुक्दा इङ्ल्यान्डको टोली जहिले पनि उपाधिबाट विमुख हुँदै आएको छ । 

पक्कै पनि एउटा प्रशिक्षकका लागि यो सुखद पक्ष हुँदै होइन । पछिल्लो समय इङ्ल्यान्डको समर्थक पनि प्रशिक्षक साउथगेटसँग खुसी देखिँदैनन् । १७औँ युरोकपकै क्रममा पनि समर्थकहरुले साउथगेटमाथि आफ्नो रिस पोखेका थिए । 

harry-kane

समूहगत चरणमा स्लोभेनियाविरुद्धको खेल गोलरहित बराबरीमा सकिँदा रुष्ट बनेका इङ्ल्यान्डका समर्थकले आफ्नै प्रमुख प्रशिक्षकलाई निशाना बनाएर मैदानमा प्लास्टिकका कपहरू फालेका थिए । ‘खेलाडीले हामीलाई उपलब्धिको शिखरमा पुर्‍याउन ठुलो योगदान गरेका छन् । तर, सफलताको यति नजिक पुगेर पनि निराश हुनु परेपछि केही लाग्दैन,’ प्रशिक्षक साउथगेट भन्छन् ।

उनले इङ्ल्यान्डको टोली अहिले अनुभवको हिसाबले निकै बलियो स्थितिमा रहेको र यसको सदुपयोग गर्न अर्को अवसरको प्रतीक्षा गर्नुपर्ने धारणा पनि व्यक्त गरेका छन् । ‘पक्कै पनि इङ्ल्यान्डको टोली अहिले अनुभवको हिसाबले निकै बलियो स्थितिमा छ । हामीले यसको फाइदा उठाउने अवसर अर्को विश्वकप वा युरोकप हुनसक्छ,’ साउथगेट भन्छन् । 

साउथगेटको यो भनाइले भने उनी इङ्ल्यान्डको प्रमुख प्रशिक्षकको रूपमा आफ्नो कार्यकाललाई निरन्तरता दिने पक्षमा देखिन्छन् । यदि, प्रशिक्षक साउथगेटको चाहना यस्तै हो भने, अब ‘बल’ इङ्ल्यान्ड फुटबल संघ (एफए) को ‘कोर्ट’ मा पुगेको देखिन्छ । 

अर्कोतिर, इङ्ल्यान्डका कप्तान ह्यारी केनलगायतका सिनियर खेलाडी पनि प्रशिक्षक साउथगेटकै पक्षमा देखिन्छन् । कप्तान केन भन्छन्, ‘प्रशिक्षकको जिम्मेबारीमा खोट लगाउने कुनै ठाउँ छैन । हामी खेलाडी उनीसँग सन्तुष्ट छौँ । हामी पटक–पटक सफलताको अत्यन्तै नजिक पुगेर चुकेका छौँ । यसको दोष प्रशिक्षकको काँधमा मात्र थोपर्न मिल्दैन ।’

england-2

इङ्ल्यान्ड लगातार दुईपटक युरोकपको फाइनलमा पुगेर पराजित हुने पहिलो राष्ट्र बनेको छ । योसँगै साउथगेट पनि लगातार दुईपटक युरोकपको फाइनलमा पुगेर पराजित हुने विश्वकै पहिलो प्रमुख प्रशिक्षक पनि बनेका छन् ।

अर्कोतिर, इङ्ल्यान्डका पूर्वस्ट्राइकर एलन शियरर भने प्रशिक्षक साउथगेटका लागि इङ्ल्यान्डबाट यो अन्तिम खेल हुन सक्ने बताउँछन् । उनी प्रशिक्षक साउथगेटले स्वदेश फर्किएपछि शृङ्खलाबद्ध आलोचना खेप्नु पर्ने अनुमान पनि गरेका छन् । 

‘मेरो विचारमा साउथगेटका लागि यो नै अन्तिम खेल हुनेछ । इङ्ल्यान्ड फर्किएपछि आलोचनाको अझ ठुलो शृङ्खला सुरु हुनेछ । हामी सधैँ अन्तिम क्षणमा चुक्दै आएका छौँ । यो तथ्यले पक्कै पनि साउथगेटलाई चिमोट्ने छ । त्यसैले उनी आफ्नो जिम्मेवारी अरू कसैलाई सुम्पन अग्रसर हुनेछन्,’ एलन शियरर भन्छन् ।

इङ्ल्यान्डका अर्का पूर्वस्ट्राइकर गेरी लिनेकर पनि साउथगेटको निरन्तरताको विषयमा आशङ्का व्यक्त गर्छन् । इङ्ल्यान्डका पूर्वडिफेन्डर रियो फर्डिनान्ड भने प्रशिक्षक साउथगेटप्रति नरम देखिन्छन् । उनी एफएले गम्भीर भएर निर्णय लिनु आवश्यक रहेको बताउँछन् । 

केही फुटबल विश्लेषक भने एफएले आगामी फिफा विश्वकपसम्म प्रमुख प्रशिक्षक साउथगेटको कार्यकाल थप गर्ने सम्भावना रहेको बताउँछन् । सन् २०२६ को फिफा विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

इङ्ल्यान्डको वर्तमान टोलीका स्ट्राइकर ओली वाट्किन्स पनि साउथगेटले टोलीलाई एकताबद्ध गर्न र अहिलेको स्थितिमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन् । उनी साउथगेटलाई इङ्ल्यान्डको सफल प्रशिक्षकको सूचीमा राख्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप