नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलका अगाडि चुनौतीका चाङ
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेस नेता प्रदीप पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । शपथलगत्ते उनले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरिसकेका छन् ।
पौडेलले पहिलो पटक मन्त्रीको जिम्मेवारी पाएका हुन् । स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव, सरकारी अस्पतालमा औषधिको अभाव, स्वास्थ्य बीमा कार्यान्वयनमा समस्या, स्वास्थ्य क्षेत्रका कर्मचारीको पारिश्रमिक लगायतका समस्या समाधान गर्नुपर्ने चुनौती उनका सामु टड्कारो छ ।
पूर्वस्वास्थ्य मन्त्री प्रदीप यादवले आफ्नो कार्यकालमा अधिकांश समय अस्पताल तथा विभिन्न स्वास्थ्य क्षेत्रको अनुगमनमा बिताए । उनले स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या औँल्याएका छन् । उनले औँल्याएको समस्या समाधानमा नवनियुक्त स्वास्थ्यमन्त्री पौडेलले कति महत्त्व दिन्छन् भन्नेबारे चासो बढिरहेको छ ।
नयाँ स्वास्थ्यमन्त्रीका सामु देखिएका केही चुनौती
- जनशक्ति अभाव
स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनका लागि देशभर तत्काल ९२ हजार स्वास्थ्य जनशक्ति आवश्यक देखिएको छ । पूर्वमन्त्री यादवको पहिलो प्रतिवद्धता नै स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्नु थियो । तर उनले सो पूरा गर्न सकेनन् । नवनियुक्त स्वास्थ्यमन्त्रीका लागि देशभर आवश्यक देखिएको ९२ हजार स्वास्थ्य जनशक्तिको दरबन्दी पूर्ति गर्नु नै पहिलो चुनौती देखिएको छ ।
- स्वास्थ्य बीमाको कार्यान्वयन
स्वास्थ्य उपचारका लागि आमनागरिकले सेवा लिँदै आएका स्वास्थ्य बीमा अन्तर्गत को–पेमेन्ट लागु भइसकेपछि अन्यौल देखिएको छ । स्वास्थ्य बीमामार्फत पाइने सुविधाबारे नै आम नागरिकले राम्रोसँग बुझ्न नसकेको अवस्थामा को–पेमेन्ट लागु गरेदेखि झनै समस्या देखिएको छ । यस्तो अवस्थामा आम नागरिकसम्म स्वास्थ्य बीमामा सहज पहँुच र कार्यान्वयन गर्न पनि नवनियुक्त मन्त्रीका सामु चुनौती देखिन्छ ।
- अस्पतालमा १० प्रतिशत निःशुल्क उपचार सुविधा
निजी अस्पतालले १० प्रतिशत शय्या निःशुल्क दिनुपर्ने सरकारी नियम छ । तर कतिपय अस्पतालले यो नियम अनुसार आम नागरिकलाई सेवा उपलब्ध गराउन सकेका छैनन् । यसको नियमन र कार्यान्वयन गराउनु पनि नवनियुक्त स्वास्थ्यमन्त्रीका सामु देखिएको मुख्य चुनौती हो ।
- स्वास्थ्य कर्मचारीलाई न्यून पारिश्रमिक
निजी अस्पतालले स्वास्थ्य कर्मचारी, खासगरी नर्सहरूलाई न्यून पारिश्रमिकमा काम गराइरहेको पाइन्छ । यसले नर्सहरू वैदेशिक रोजगारमा जान उद्यत देखिन्छन् । यस्तो अवस्थामा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई सरकारले तोके अनुसार पारिश्रमिक उपलब्ध गराउनु पनि चुनौतीका रूपमा देखिएको छ ।
- अस्पतालमा शय्या अभाव
देशभरका निजी तथा सरकारी अस्पतालमा सामान्यदेखि आइसीयुसम्मका शय्या अभाव रहेको जनगुनासो सुनिन्छ । अस्पतालमा शय्याको अभावमा बिरामी फर्किनुका साथै एउटै शय्यामा दुई बिरामी राखेर उपचार गर्ने गरेकोसमेत पाइन्छ । यो विषय स्वास्थ्य जनशक्ति र अस्पतालको भौतिक संरचनासँग जोडिएको छ । नवनियुक्त स्वास्थ्यमन्त्रीका लागि बिरामीलाई पर्याप्त शय्या उपलब्ध गराउनु पनि चुनौती देखिएको छ ।
- औषधि अभाव
कतिपय सरकारी अस्पतालमा उपचार सामान्य औषधिसमेत पाउन नसकेको गुनासो सुनिन्छ । उपचारका क्रममा कतिपय स्वास्थ्य संस्थामा औषधिको चर्को मूल्य तिर्नुपरेको जनगुनासो छ । यस्तै, औषधिको मूल्य र गुणस्तरमा ध्यान दिएर सेवाग्राहीलाई भरपर्दो सुविधा दिलाउन पनि चुनौती देखिन्छ ।
- अप्रेसनदेखि औषधिको लाइन
स्वास्थ्य क्षेत्रमा आमनागरिकले झेलिरहेको अर्को समस्या हो अप्रेसनदेखि लिएर औषधिको लामो लाइन कुनुपर्ने । अप्रेसनका लागि सरकारी अस्पतालमा लामो लाइन कुर्नुपर्ने बाध्यता छ । यस्तै, अस्पताल पुगे पनि त्यहाँको औषधि पसलहरूमा लामो लाइन देखिन्छ । यसको व्यवस्थापन पनि एउटा चुनौतीको रूपमा देखिन्छ ।
नवनियुक्त मन्त्री पौडेल नयाँ आर्थिक वर्षको पूर्वसन्ध्यामा नियुक्त भएका छन् । त्यसैले उनलाई नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयका लागि पनि चुनौती देखिन्छ । स्वास्थ्य क्षेत्रमा बढ्दै गरेको डेंगु, सर्प दंश तथा मनसुनजन्य रोग न्यूनीकरण तथा व्यवस्थापनका लागि पहल गर्नुपर्ने चुनौती पनि उनको अगाडि देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्जमा शोभा र क्षितिजको जोडीलाई सफलता
-
१० बजे १० समाचार : रवि लामिछानेका पार्टनरको इन्कारी बयानदेखि प्रहरीको बढुवामा चलखेलसम्म
-
किन ग्रिनल्यान्ड किन्न चाहन्छन् ट्रम्प ?
-
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
-
विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
-
वैकल्पिक चिकित्सा सेवाको रणनीति तर्जुमा तयार गर्न सुझाव संकलन गरिँदै